logo
२०८१ मंसिर ७ शुक्रवार



नभन्नू मलाई निष्ठूरी (कविता)

शनिवार |


नभन्नू मलाई निष्ठूरी (कविता)


गीता कार्की

आफ्नाहरूले बिर्सेको उजाड दिनजस्तो
आफन्तहरूले छोडेर गएको उदास साँझजस्तो
मलाई गिरफ्तार गर्छन्
जिन्दगी गुन्गुनाउँदै
मैले सयर गरेका बगैँचाहरू
यी फूलहरू
मलाई उपेक्षा गर्छन्
हो ! साँच्चै हो...!!

मैले तिनलाई कहिल्यै आफ्नो भनिनँ
जो सधैँ आफ्नो भएर पनि पराइ छन्
मैले तिनलाई कहिल्यै पराइ भनिनँ
जो सधैँ पराइ भएर पनि आफ्ना छन्
एउटै हावाको स्पर्शले स्पन्दित
एउटै दुधकोशीको प्रवाहले अभिसिञ्चित
नितान्त मेरा आफन्तहरू
मसँग अलिकति घाम माग्छन्
उज्यालो माग्छन्÷न्यानो माग्छन्

मेरै औँला समातेर
जब सजाउँछन् सपना रेलिङमा
जब पूर्णिमा जस्तै बन्छन्
जब गन्तव्य भेट्छ उचाइ

झट्कारेर मेरा हातहरू
जिन्दगी उत्सव मनाउँछन्

मेरो मनबाट निस्किएका
मेरा प्रिय आफन्तहरू !
नभन्नू मलाई निष्ठूरी !!

म समयको घोडा चढेर हिँडेको हुँ
नभन्नू मलाई निर्दयी पनि !
मैले सँगसँगैको यात्रा तोडेको हुँ

म समयको घोडा चढेर हिँडेको हुँ
नभन्नू मलाई निष्ठुरी !! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?