logo
२०८१ मंसिर ७ शुक्रवार



चलचित्रमा युवाको आकर्षण

शनिवार |


चलचित्रमा युवाको आकर्षण


राजन घिमिरे

पछिल्लो समय नेपाली चलचित्र विधामा देखिएको युवापुस्ताको उपस्थितिले कलाकारिता क्षेत्र अझ फराकिलो र विस्तारित देखिन थालेको छ । अभिनेता अनमोल केसी, पुष्प खड्का, निर्देशक निश्चल बस्नेत, दीपेन्द्र खनाल, दीपेन्द्र लामा, कोरियोग्राफर रेनेशा राई आदि युवाको सक्रियताले यस क्षेत्रलाई उर्वर बनाएको छ । कुनै समय सीमित निर्देशकको भरमा नेपाली चलचित्र अगाडि बढेको थियो तर अहिले यस क्षेत्रमा धेरै युवा संलग्न छन् । यसले दर्शकको सङ्ख्या पनि बढाएको छ ।

प्रदीप खड्का, साम्राज्ञी आर.एल. शाह, वर्षा सिवाकोटी, सुहाना थापा, आँचल शर्मालगायतका कलाकार नेपाली चलचित्र क्षेत्रमा जम्न थालेपछि चलचित्र हलमा युवापुस्ता आउन थालेको कुरालाई नकार्न सक्दैनौँ । हलमा सिनेमा हेर्न जाने भनेको सीमित दर्शकलाई मात्र बुझिन्थ्योे तर आज त्यो सोच हटिसकेको छ ।
चलचित्र ‘प्रसाद’ र ‘नोभेम्बर रेन’का निर्देशक दिनेश राउतको भनाइमा समयको गतिसँगै बढेको युवाको जमातलाई नै कलाकर्मीले आफ्नो दर्शक बनाउन सक्नुपर्छ । उहाँले भन्नुभयो, “युवाको कथा, सोच र शैलीलाई पछ्याएर कलाकारिता गर्दा हाम्रो सिर्जनाले दिगो हुने अवसर पाउँछ ।”

कुनै समय चलचित्र क्षेत्रमा काम गर्ने भनेपछि गलत रूपले हेर्ने सोचमा अहिले ठूलै परिवर्तन आएको छ । यो क्षेत्रलाई अङ्गीकार गरेर अगाडि बढ्न चाहनेहरू अहिले धेरै छन् । यस्तो परिवर्तन कसरी आयो त नेपाली कलाकारितामा ? अभिनेता भुवन केसी भन्नुहुन्छ, “म यो क्षेत्रमा लाग्दा ढुक्क भएर लाग्न सकेको थिइनँ । एकातिर काम गर्दै अर्कातिर कलाकारिता गर्नु पर्दथ्यो तर आज त्यो अवस्था छैन । चलियो र टिकियो भने रातारात नाम र दाम पनि हात पार्न सकिन्छ भन्ने कुरामा ढुक्क भएको छ । त्यसकारण पनि युवामा यो क्षेत्रप्रति आकर्षण बढेको हो ।”

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा पनि अभिनेता भुवन केसीको भनाइलाई समर्थन गर्नुहुन्छ । उहाँले भन्नुभयो, “पहिला कुनै भूमिकामा अभिनय गराउन धेरै आग्रह गर्नुपर्दथ्यो । कलाकार खोज्दाखोज्दा हैरान भइन्थ्यो तर आज त्यो अवस्था छैन । नेपाली कलाकारितामा देखापरेको आकर्षण र यसले खिचेको ध्यान साँच्चै लोभलाग्दो छ । आज कुनै पनि बाबुआमाले सन्तानलाई गीत गाउँदा र चलचित्रमा लाग्छु भन्दा गाली गर्दैनन् । युवापुस्तामा आएको यो परिवर्तनलाई सकारात्मक लिनुपर्दछ ।”

विभिन्न टेलिभिजनमा आउने ‘रियालिटी सो’को आकर्षण र चमकदमकले पनि यो क्षेत्रमा लाग्न युवापुस्तामा प्रेरणा मिलेको छ । रातारात नाम र दाम एकै पटक कमाइने मात्र होइन कि सफल भइयो भने यो क्षेत्रलाई पेसाका रूपमा पनि अगाडि बढाउन सकिने कारणले पनि युवा जमातले कलाकारिता क्षेत्रप्रति बढी नै झुकाव राख्न थालेका छन् । युवा सङ्गीतकार अर्जुन पोखरेल भन्नुहुन्छ, “धेरै भयो मैले त नयाँनयाँ युवासँग काम गरेको छु । युवापुस्तामा देखिएको जोश, जाँगर र यो पेसाप्रतिको लगाव स्याबासी दिनुपर्ने खालको छ । परेरभन्दा पढेर आउने उनीहरूको शैली अनि आजको आधुनिक समयसँगै अगाडि बढ्ने युवाको सोचसँग सङ्गत गर्न पाउँदा हामीलाई पनि फाइदा पुगेको छ ।” उहाँले अगाडि भन्नुभयो, “कुनै समय गीतसङ्गीत विधाबाट टाढा रहने घरानियाँ परिबारबाटै अहिले आफ्ना सन्तानलाई कालाकारितामा लाग्न प्रेरणा मिल्नु भनेको यो क्षेत्रले उचाइ हात पार्नु हो ।”

अभिनयसँगै नेपाली चलचित्रको निर्देशक विधामा पनि युवापुस्ताको प्रवेश अहिले ह्वात्तै बढेको छ । चलचित्र ‘लुट’को सफलतासँगै नेपाली चलचित्रको निर्देशनमा निश्चल बस्नेतको प्रवेशपछि निर्देशनमा युवापुस्ता आउने क्रम बढ्न थालेको छ । कुनै समय नायक–नायिका मात्र सेलिब्रिटी मानिन्थ्यो तर लुटको सफलतासँगै युवापुस्तामा निश्चल बस्नेतको क्रेजले निर्देशकको चर्चा र नाम पनि नायक–नायिकाभन्दा कम हुँदैन भन्ने प्रमाणित गरिदियो । पछिल्लो समय निश्चल बस्नेत, दिनेश राउत, दीपाश्री निरौला, दीपेन्द्र के खनाल, दीपेन्द्र लामा, दिवाकर भट्टराई, हेमराज बिसी, झरना थापाजस्ता निर्देशकको आगमन र सहभागिताले नेपाली चलचित्रको बजार मात्र गर्माएको छैन कि नेपाली चलचित्र क्षेत्रप्रति हरेक वर्ग, तह र तप्काको ध्यान खिचेको छ । नेपाली चलचित्रमा युवापुस्ताको काम गर्ने शैलीले युवा दर्शकलाई पनि आकर्षण गरिरहेको छ । यस्ता युवा कलाकर्मीको क्षमता र कार्यशैलीको प्रशंसा भने गर्नैपर्ने हुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?