सरोज अधिकारी
कोरोनाको सङ्क्रमण र त्यसका विभिन्न भेरियन्टको असरले विश्वको पर्यटन नै थला परेकोे छ । पर्यटन विधासँग सम्बन्धित जनशक्ति रोजगारीका अभावमा अर्को पेसामा पलायन हुन बाध्य भइरहेका छन् । यतिबेला देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका असर भने केही कम हुँदै गएको छ । त्यसैले अब पर्यटन क्षेत्रमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । लामो समयदेखि घुम्ने इच्छा पालेर बसेकाहरू एकै पटक ठूलो सङ्ख्यामा भ्रमणका लागि निस्कने सम्भावना पनि छ । यसले विश्वको पर्यटनलाई सकारात्मक प्रभाव पर्ने आशा पनि पलाएको छ ।
नेपालमा पनि पर्यटनको सम्भावना अधिक छ । यही सम्भावना देखेर होला, मुलुकभित्र विभिन्न स्थानमा पर्यटकीय संरचनाहरूमा लगानी चुलिएको छ । कैयौँ नयाँ संरचना पर्यटकको स्वागत गर्न तयार छन् भने कैयौँ द्रुतगतिमा निर्माणाधीन अवस्थामा छन् । पर्यटकका रुचि समयअनुसार परिवर्तन हुन्छन् । यो परिवर्तनले आगामी दिनमा घुमाइसँगै स्वास्थ्यलाई महत्त्व दिने खालको पर्यटनको सम्भावना अधिक छ । पर्यटकमा धेरै पैसा खर्च गर्न सक्ने वर्ग भनेको अधवैँसे समूह हो । यस्ता समूहका पर्यटक विलासितायुक्त सेवा लिनेभन्दा स्वास्थ्यलाई हेरेर भ्रमणको आनन्द लिने खालका हुन्छन् ।
कोभिडको चपेटामा परेकाहरू वा कोभिडका कारण त्यसै लामो समयसम्म बस्न बाध्य भएकाहरू शारीरिक एवं मानसिक रूपले नराम्ररी प्रभावित भएको अवस्था हो अहिले । यस अर्थमा पनि विश्वका धरैजसो पर्यटकको आकर्षण अबको दिनमा बढी मात्रामा निरोगिता प्राप्त गर्ने खालको पर्यटन हुन सक्ने देखिन्छ । नेपालजस्तो मुलुकमा निरोगी बनेर घुम्ने (वेलनेस) पर्यटनको सम्भावना पनि राम्रो देखिन्छ । विगतमा नेपालमा साहसिक पर्यटनअन्तर्गत जङ्गल सफारी, ¥याफ्टिङ, पदयात्रा, ध्यान, योग, प्राकृतिक चिकित्सा आदि सेवा लिने पर्यटक विश्वभरबाट आउने गरेका थिए । कोरोना सङ्क्रमण न्यून भएपश्चात् अबका दिनमा ‘वेलनेस’ पर्यटनको सम्भावना ह्वात्तै बढ्ने देखिन्छ । त्यसका लागि नेपाली पर्यटन क्षेत्रले आफ्नो तयारी थाल्नुपर्छ ।
जुन पर्यटनमा घुमघामको आनन्दसँगै स्वास्थ्यलाभसमेत गराउने खाना, आरामदायी निद्रा, असल जीवनशैली सिकाउने व्यायाम, योग, ध्यान, प्राकृतिक चिकित्साका साथै पर्यटकको शारीरिक, मानसिक र आध्यात्मिक पक्षलाई सुधार गर्न मद्दत पुग्छ, त्यसलाई ‘वेलनेस’ पर्यटन भनिन्छ ।
‘वेलनेस’ पर्यटनअन्तर्गत पर्यटक आ–आफ्नो आस्था गाँसिएको स्थानमा जान्छन्, जसले उनीहरूमा शारीरिक, मानसिक एवं आध्यात्मिक उन्नति गराउँछ । ‘वेलनस’ पर्यटनका लागि चाहिने विधाहरू नेपालमा प्रशस्त भेटिन्छन् । उदाहरणका लागि नेपालमा पाइने जडीबुटीको उपयोग, तातोपानीका कुण्डहरू जसले विविध रोग निर्मूल गर्न मद्दत पु¥याउँछ । यस्तै पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता व्यायामयुक्त पर्यटकीय विधा पर्छन् । योग, ध्यान, नृत्य, प्राकृतिक चिकित्सालाई पनि यसमा लिन सकिन्छ । साथै पशुपति, मनकामना, मुक्तिनाथ जस्ता थुप्रै हिन्दु मन्दिर, बुद्धजन्मभूमि लुम्बिनी र मुलुकभरका गुम्बाहरू पनि यसमा पर्छन् । पर्यटकको शारीरिक, मानसिक तथा आध्यात्मिक विकासका लागि यी क्षेत्र सहायक सिद्ध हुने कुरामा कुनै शङ्का छैन । बरु नेपालमा भएका यस्ता पर्यटकीय सम्भावनाका बारेमा स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार जरुरी देखिन्छ ।
‘वेलनेस’ पर्यटन किन ?
पर्यटकको उद्देश्य खानेपिउने, रमाइलो गर्ने नै हो । घुम्ने बेलामा बेपरवाह तरिकाले खर्च गरी मन लागेको कुरा गर्नु नै भ्रमणको आनन्द हो तर ‘वेलनेस’ पर्यटन केही फरक खालको अनुभव हुनसक्छ । ‘वेलनेस’ पर्यटनका लागि गएका पर्यटक पैसा खर्च गरेर स्वास्थ्य बिगारेर आउँदैनन् । शारीरिक एवं मानसिक स्वास्थ्यलाभ गर्दै फर्कन्छन् । यस विधालाई रोजेर विश्वको कुनै पनि कुनामा गएका पर्यटक प्रकृतिलाई प्रेम गर्ने, ताजा र शरीरलाई हित गर्ने खालको खानपानको बानी अँगाल्नेजस्ता कलासमेत सिकेर आउँछन् । त्यसैले यस्ता पर्यटक आ–आफ्नो स्थानमा फर्केपछि पनि असल व्यवहार, असल जीवनशैली र सही खानापान आफ्नो जीवनमा लागू गर्न योग्य हुने हुँदा ‘वेलनेस’ पर्यटनको महìव आगामी दिनमा बढ्ने निश्चित छ । थाइल्यान्डको पर्यटन, समुद्री तटको पर्यटन, खरिदारी पर्यटन, धार्मिक पर्यटनजस्ता विविध विषयमा पर्यटकको आआफ्नो रुचिअनुसारको आकर्षण हुने गर्छ । त्यसैले नेपाल सरकार र पर्यटन व्यवसायीले ‘वेलनेस’ पर्यटनका सेवा पस्कने क्षमता अभिवृद्धि गर्नुपर्ने बेला आएको छ ।