logo
२०८१ मंसिर ७ शुक्रवार



कुरूप (कथा)

शनिवार |


कुरूप (कथा)


रेजिना पाण्डे

‘न रङ्ग छ न ढङ्ग छ, न रूप छ न बानी नै ! घर छिटो सफा गर, भाँडा माज भनेको अझै गरेकी छैन यो कालले’, पूर्णमाया रिसाउँदै छोरीमाथि जाइलागी । मैले मात्र चारैतिर कसरी भ्याउने ? काममा जाउँ कि घरको काम गरौँ भन्दै उनी भित्रबाहिर पनि गर्न थालिन् ।
जेठी छोरी सानुमैँयाको बिहे हुन नसकेकोमा पूर्णमाया निकै चिन्तित थिइन् । उमेर पुगेकी छोरीलाई घरमा बूढीकन्या बनाएर राख्नुपर्दा उनी मनमनै सोच्थिन्– ‘उमेर बित्तिसक्यो । यसको त घैँटामा कहिल्यै घाम लाग्ने हो थाहा छैन । बहिनीको बिहे भएर छोरो हुर्किसक्यो । यो कुरूपको कहिले हुने हो कुन्नि ? कस्तो दिनमा जन्माउन पुगेछुु यसलाई । यसले मेरो मासु नै खान्छे कि जस्तो छ ।’ छोरीको बिहे हुन नसकेकोमा पूर्णमायालाई ठूलो चिन्ता थियो ।

पूर्णमायाकी जेठी छोरीको बिहेको कुरो चल्थ्यो । केटा हेर्न पनि आउँथे तर एक पटक हेरेपछि दोहो¥याएर कोही आउँदैनथे । अब त जस्तो केटो आए पनि बिहे गर्ने सुरमा थिइन् उनी । दुनियाँको कुरा सुन्नुभन्दा केटो मात्र आउनुुुुप¥यो, जस्तोसुकै होस् भन्ने सोच्थिन् उनी । उनलाई लाग्थ्यो संसारको सबैभन्दा ठूलो बोझ कुरूप छोरी हो । यही बोझले उनी छोरीलाई वचनले प्रहार गरिरहन्थिन् ।

सानो सानो कुरामा पनि पूर्णमाया छोरीमाथि रिस पोख्थिन् तर आमाको कुरालाई सानुमैँया सुुने पनि नसुनेझँै गर्थिन् । जे भने पनि बेवास्ता गर्थिन् किनकी सानुमैँयालाई थाहा थियो– आमा ऊसँग होइन, उसको रूपको दुुुश्मन थिइन् । सानुमैँयाको रूपले पूर्णमायालाई निकै पीडा दिएको थियो । पैँतीस नाग्न लागिसकी थिइन् । त्यसैले उनी आमाको बोझ बनेकी थिइन् । आमाको सपना सानुमैँयालाई अन्माउनु छ तर यही सपना पूरा नहुँदा पूर्णमाया छोरीमाथि रिस पोख्थिन् । यो कुरो छोरीले पनि राम्ररी बुझेकी थिइन् ।
एकदिन घरको कौसीमा पालेको बिरालोलाई लिएर सानुमँैया घाम तापेर बसिरहेकी थिइन् । सानुमैँया बिरालोलाई मुसार्दै दूध र भात खुवाउँदै थिइन् । आमा कराउँदै त्यहीँ आइपुगिन्, ‘महारानी तलबाट माथि, माथिबाट तल मात्रै त हो नि । अब सधैँ यसरी नै माइतीमै राज गर्नुस् । दुनियाँले घरजम गरेर कति प्रगति गरिसके । घोर्ले छोरा स्याहारेर बसिसके । तँचाहिँ यही बिरालो मुसारेर बसिराख ।’

आमाको यस्तो वचनवाण पाउँदा पनि सानुमैँया हाँसेरै टारिदिन्थी । बिरालोका पीडा आमालाई सुनाउँथी, ‘आमा, यसलाई कति चोट लागेको छ हेर्नुस त । कुकुरले टोकेर यो बिरालोलाई घाउ नै घाउ भएको छ । बिचराले राम्ररी खान पनि सकेको छैन । कति गाह्रो भइरहेको छ । राति पनि सुत्न नसकेर रोइरहेको थियो । हिँड्न पनि सकेको छैन । हिँड्न सकेको भए रमाउँदै उफ्रँदै कति गाउँ चाहाथ्र्यो होला ।’ तुरुन्तै आमाले जवाफ दिइन्, ‘यसको पीडा पो देखिस् तैँले । मेरो पीडा देख्दिनस् । उत्ताउलो भएर जताततै हिँड्दा यस्तै त हुन्छ नि ।’

सानुमैँयाले आमालाई सम्झाउन खोजी, ‘के भन्नुभएको आमा । जानी जानी घाइते हुन जान्छ कोही । मेरो रिस यो पशुलाई किन पोख्नु हुन्छ । बरु सिधै भन्नु न मेरो बिहे हुन नसक्दा तपार्इंलाई पीर परेको छ भनेर । अस्ति हेरेको केटोले पनि बिहे गर्दिन भन्यो रे होइन । मैले बुझिसकेको छु तपाईंको कुरा । घरमा बच्चैदेखि पालेको यो बिरालोको माया लाग्दैन तपाईंलाई । हेर्नुुस त आखाँभरि आँसु पारेर बसिरहेको छ । पीडाले छटपटाइरहेको छ ।’ आमाले हत्तपत्त भनिन्, ‘राम्री भए पो हेर्थे सबैले । रूपै छैन । तँ कुरूपलाई कसले हेर्छ । जसले हेरे पनि फर्केर नै आउँदैनन् । खोई कस्तो पोई पर्ने हो ।’

‘आमा, साँच्चै नै तपार्इंलाई मेरो बिहे हुन नसक्दा साह्रै पीर परेको हो ? कुनै केटोले नहेर्दा साह्रै गाह्रो भएको हो ? म बोझ भएकी हुँ । के गर्नु भगवान्ले मेरो रूप नै यस्तै दिएको छ कसैको नजर नै नपर्ने, म के गरुँ’, सानुमैँयाले अगाडि भनिन्, ‘तरुनी भएकी छोरी नबिक्दा हरेक आमालाई गाह्रो नै हुन्छ । समाजले कुरा पनि काट्छन् तर म त कुरूप छु । मेरो रूप नै छैन आमा, कसरी बिक्न सक्छु र ?’

सानुमैँयाको कुरूपताले बिहे मात्र नभएको होइन, साथीभाइ र आफन्तले पनि उनलाई टाडा राखे, घृणा गरे । स्कुलदेखि कलेजसम्म ऊसँग हिँड्न गाह्रो माने । जहाँ जान्थिन् उनी एक्लै जान्थिन्, जागिर पनि पाइनन् । कटु वचन मात्र उनले सुन्नु पथ्र्यो । उनलाई न साथीले साथी बनाए न आफ्नाले आफन्त । बाटोमा पनि उनको खिल्ली उडाउँथे । ‘रूप नहुँदा जता पनि अपमानित हुनु परेको छ । कति सहनु, न मर्न सक्छु न बाँच्न नै सक्छु तर छोरीको यो पीडा तपाईंले बुझ्न सक्नुभएन आमा’, सानुमैँयाले आमासँग नै आफ्नो व्यथा पोख्दै भनीन्, ‘बरु बहिनीको जयजयकार गर्नु हुन्छ । मलाई खिल्ली उडाउनु हुन्छ । एउटै कोखबाट जन्मेको सन्तानमा पनि फरक किन? यो बिरालोलाई हेर्नुहोस् त ऊ मसँग सुरक्षित भएको महसुस गर्छ तर म आमाबाटै असुरक्षित छु ।’
‘मेरो मन बुझ्न कसैले पनि सकेन आमा । छाला राम्रो नहुँदा सबैसँग टाढा भएँ ।’ यति भन्दै सानुमैँयाले आँसु खसालिन् । आँसु उनको हातमा प¥यो । काखमा रहेको बिरालोले उनको आँसु चाट्न थाल्यो ।

‘हामी कति स्वार्थी छौँ । काम नलाग्ने सामान त फाल्छौँ तर काम नलाग्ने सन्तान पनि फाल्ने प्रयास गर्छौं । मेरो त अनुहार मात्र नराम्रो हो, यहाँ त कति अपाङ्गता भएका छन् । उनीहरूको हालत झन् कस्तो होला’, आमालाई केही सम्झाउने कोसिस पनि सानुमैँयाले गरिन्, ‘तपार्इंलाई त छोरीको रूपसँग यति बिलौना छ भने कुनै परपुरुषले मलाई कसरी माया गर्ला ? प्राकृतिक चाहना त मलाई पनि छ आमा तर के गरुँ ? दुनियाँको सबै माया आमाबुबाले दिन सक्छन् तर पे्रमीको माया पाउन प्रेमी नै चाहिन्छ तर बिहे नगरी बस्ने छोरीहरू पनि त छन् । उनीहरूले पनि जिम्मेवारी समालेर बसेकै छन् । काम गरेकै छन् । बूढाबूढी भएका आमाबुबालाई हेरेकै छन् । रूपको वर्णन गरेर आफ्नो चाहना पूरा गर्ने स्वार्थी समाजले त मेरो खिल्ली उडायो उडायो तर तपार्ईंको वचनले झन् मेरो मन छियाछिया भयो ।’

छोरीको कुराले आमाको आँखा आँसुले भरियो । आफैँले जन्माएको हुर्काएको छोरीलाई कटु वचन बोलेर चित्त दुःखाएकोमा पूर्णमाया पश्चाताप गर्दै भनिन्, ‘के गर्नु छोरी ! जति नै कुरा गरे पनि तरुनी भएकी छोरी बिहे नहुँदा आमाको मन रुँदो रहेछ । परम्परा नै यही हो छोरीले आफ्नो घरजम गर्नु पर्छ । नयाँ संसार बसाउनु पर्छ । सन्तान उत्पादन गर्नु पर्छ । छोरी यो प्रकृतिको नियम नै हो । तिमीहरू सानै छँदा तिमीहरूको बुबा बित्नुभयो । तिमीहरूका लागि कति दुःख सङ्घर्ष गरेँ । मेरो उमेर पनि भइसक्यो । मरेपछि तेरो अवस्था के हुन्छ भनेर मात्र दुःखी भएको हुँ । कुनचाहिँ आमा सन्तानको खुसी हेर्न चाहँदैन र ! फेरि सन्तान कुन आमालाई बोझ हुन्छ
र !’ छोरी सानुमैँया चाहिँ आमाले कति धेरै माया गर्नुहुँदो रहेछ भनेर मक्ख परी । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?