logo
२०८१ मंसिर ८ शनिवार



लायन्स क्लबमार्फत फेरिएको चित्र

शनिवार |


लायन्स क्लबमार्फत फेरिएको चित्र


केही वर्षपहिले नेपालका ग्रामीण भेगमा आँखाको उपचार सहज थिएन । जटिल प्रकृतिको दृष्टि समस्याको उपचार गर्न काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका दूरदराजका बासिन्दालाई काठमाडौँसम्मको उपचार कष्टकर थियो । तराई क्षेत्रका बासिन्दा छिमेकी मुलुक भारतमा पुगेर उपचार गर्न बाध्य थिए भने पहाडी र हिमाली भेगका बासिन्दामा दृष्टि गुमाएरै बस्नुपर्ने बाध्यता थियो तर गएको आधा शताब्दीयता भने आँखाको उपचार सहज हुन थालेको छ । एउटा गैरसरकारी संस्थाको पहलमा गरिब दुःखीको उपचारमा सहजता थपिएको छ । ग्रामीण क्षेत्रका आँखा रोगी क्रमशः काठमाडौँ आउनुपर्ने बाध्यता हटेको छ । छिमेकी भारतमा उपचार गर्न जानुपर्ने बाध्यता बिस्तारै कम भएको छ । बरु उल्टै भारतबाटै हजारौँ आँखाका रोगी नेपालमा सहज उपचार लिन आउन थालेका छन् । लायन्स क्लबको सहयोगमा अमूल्य ज्योति पाएर हजारौँले संसार देख्ने मौकासमेत पाएका छन् । एउटा गैरसरकारी संस्था लायन्स क्लबको पहलमा यो सम्भव भएको हो ।

मानिसमा देखिने अन्धोपन रोग नियन्त्रण सुरु गर्ने उद्देश्यले पाँच दशकपहिले स्थापना भएको लायन्सले लाखौँलाई दृष्टि दिलाएपछि आम नेपालीको प्रमुख स्वास्थ्य समस्यका रूपमा देखा परेको मधुमेह रोग नियन्त्रणमा समेत अग्रसरता देखाएको छ । यसलाई लायन्सले प्रमुख कार्यक्रममार्फत सञ्चालन गरिरहेको छ । मिसावटयुक्त खानेकुरा, अस्वस्थ वातावरण र सौखिन जीवन शैलीका कारण मधुमेह रोगीको समस्या पछिल्लो समय बढ्दै गएको विभिन्न अध्ययनले समेत पुष्टि गरेका छन् । लायन्स क्लबका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले नेपालमा सहज उपचार भएसँगै छिमेकी मुलुक भारतबाट बर्सेनि हजारौँले सेवा लिने गरेको जानकारी दिँदै भन्नुभयो, “पहिला सामान्य उपचारका लागि तराईका अधिकांश जिल्लाबाट भारतमा उपचार गर्न जानुपथ्र्यो, अहिले सहज र गुणस्तरीय सेवा नेपालमै सञ्चालनमा आएपछि उताबाट हजारौँ व्यक्ति यता उपचार गर्न आउने गरेका छन् ।” खेतानले मुलुकभरका आँखा अस्पतालमा लायन्स क्लबबाट प्राविधिक तथा आर्थिक सहयोग र जनचेतामार्फत यो सम्भव भएको बताउनुभयो । बालबालिकामा लाग्ने जटिल प्रकारको क्यान्सर रोग उपचारमा सहज पु¥याउने उद्देश्यले लायन्सले क्यान्सर रोग उपचार हुने अस्पतालमा आर्थिक तथा प्राविधिक सहयोगसहित बिरामी बस्ने कुरुवा घर निर्माणको काम पनि तदारुकताका साथ गरिरहेको छ ।

देशकै ठूलो ब्लड बैङ्क बन्दै
अस्पतालमा आवश्यक पर्ने ब्लड सङ्कलन गर्ने संस्थासमेत हो– लायन्स क्लब । बिरामीलाई अत्यावश्यक पर्ने ब्लडमध्ये झन्डै ६० प्रतिशत रगतको सङ्कलन लायन्स क्लबमार्फत सञ्चालित अभियानबाट हुने गरेको छ । प्रविधिको अभाव र अनुसन्धानको कमीका कारण सङ्कलित रकम लिने बिरामीमा अर्को रोगको सङ्क्रमण हुने गरेको छ तर यो समस्या पनि लायन्स क्लबकै सक्रियतामा समाधान हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सहकार्यमा लायन्स क्लबले मुलुककै ठूलो ब्लड बैङ्क काठमाडौँको कीर्तिपुरमा सञ्चालनमा ल्याउने गरी आफ्नो कामलाई तीव्र रूपमा सुरु गरेको छ । २५ करोड रुपियाँभन्दा बढी लागतमा सञ्चालनमा ल्याउन लागेको यो ब्लड बैङ्कमार्फत लायन्सले अत्याधुनिक प्रविधिसहित छिटो सेवा दिने दाबी गरेको छ । लायन्सले यो ब्लड बैङ्क अमेरिकामा रहेको सुविधासम्पन्न ब्लड बैङ्कसरह सञ्चालनमा ल्याउने र रगतबाट सर्ने रोगबारे विस्तृत अनुसन्धानसमेत गरिने जनाएको छ ।
लायन्स क्लबको आर्थिक तथा प्राविधिक सहायतामा काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ब्लड बैङ्क स्थापना भइसकेको छ । यसबाहेक क्लबले वातावरण संरक्षण गर्ने उद्देश्यले खाली रहेका सार्वजनिक जग्गामा वृक्षरोपणको कामलाई उच्च प्रथामिकतामा राखेको छ । लायन्सका कतिपय स्वयंसेवक नाङ्गा डाँडा खोज्दै हरियाली अभियानमा लागिरहेका छन् ।

जहाँ समस्या, त्यहाँ लायन्स
दुःखमा परेकालाई सहयोग गरौँ अर्थात् जहाँ समस्या त्यहाँ लायन्स क्लब अभियान वर्षांैदेखि सञ्चालन गरिएका छन् । नेपालमा आँखाको रोग निवारण, मधुमेह नियन्त्रण, वातावरण संरक्षणमा सक्रिय लायन्स क्लब वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पका समयमा थप सक्रिय रह्यो । भूकम्पले प्रभावितलाई खाद्यान्न, अत्यावश्यक औषधि तथा प्राथमिक उपचारमा लायन्सले नेपाल सरकारसँगै हातेमालो गरेर काम ग¥यो । लायन्सले भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएका देशका विभिन्न १६ वटा सामुदायिक विद्यालय पुनर्निर्माण सम्पन्न गरी समुदायमा हस्तान्तरणसमेत गरेको छ । ४८ करोड रुपियाँको लागतमा तयार भएका आधुनिक प्रविधिसहितका भवनले विद्यार्थीको पठनपाठनमा सहजता पुगेको छ । प्रविधिको विकाससँगै त्यसको प्रयोगले बालबालिकामा पर्ने नकारात्मक असर रोक्न लायन्स सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रम अर्को महìवपूर्ण पक्ष रहेको छ । तराईका विभिन्न जिल्लामा मधुमेह रोग नियन्त्रण अभियानसँगै प्रविधिको दुरुपयोगले पार्ने प्रभावबारे समेत जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । कोरोना सङ्क्रमणका कारण मुलुकमा स्वास्थ्य उपचार जटिल बन्दै गएका बेला लायन्सले विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटरलगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री उपलब्ध गराउँदा उपचार पद्धतिमा सहजता पुगेको छ । ‘दुःखमा परेकालाई सहयोग गरौँ’ अभियान भन्ने अभियान लायन्सले कसैको मुख नताकी स्वतःस्फूर्त रूपमा सञ्चालन गर्दै आएको छ । यसप्रति बौद्धिक वर्ग, युवा तथा स्वरोजगार व्यक्तिको सक्रिय सहभागिता बढ्दो देखिन्छ ।

यसरी सुरु भयो लायन्स
वि.संं. २०१७ सालमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सक्रियतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको थियो । अमेरिका भ्रमणबाट फर्किने क्रममा कोइरालाले टाइसुट र टक्मा (लेबलपिल) लगाएका आकर्षक व्यक्तिहरू देखेपछि जिज्ञासा राख्नुभएको थियो । ती व्यक्तिले आफूहरू लायन्स क्लबका प्रतिनिधि रहेको बताएपछि कोइरालाले यस्तो संस्था नेपालमा खोल्ने चाहना राख्नुभयो र सोहीअनुसार ६१ वर्षअघि लायन्स नेपालमा स्थापना भएको थियो । स्थापनाको ६१ वर्षमा नेपालमा लायन्समा आबद्ध हुनेको सङ्ख्या ४६ हजार पुगेको छ । दुई हजारभन्दा बढी क्लब स्थापना भएका छन् ।


सन् १९१७ मा अमेरिकाको सिकागोमा ‘मेल्भिक जोन्स’ले युद्धमा परेर अङ्गभङ्ग भएकाहरूको सहयोग गर्ने उद्देश्यले लायन्स क्लबको स्थापना गर्नुभएको थियो । पहिलो विश्वयुद्धमा परेकाको उद्धार र सहयोग गर्ने उद्देश्यले स्थापना भएको लायन्स क्लब १०५ वर्षमा विश्वका २०० मुलुकमा विस्तार भएको छ । ४६ हजार क्लबका १५ लाख लायन्सका सदस्य विश्वमा समस्यामा परेका व्यक्तिको सहयोगमा सक्रिय छन् ।

लायन्स क्लब नेपालका मल्टिपल चेयरपर्सन मनबहादुर रोक्काले सामूहिक प्रयासबाट समाजसेवा गर्ने लायन्स क्लबको परम्परा एक शताब्दीदेखि नै सुरु भएको बताउनुभयो । रोक्काका अनुसार क्लबले सञ्चालन गर्ने कार्यक्रम र आर्थिक पारदर्शिता महìवपूर्ण पक्ष रहेका छन् । सदस्यतामार्फत सङ्कलन हुने रकम प्रशासनिक प्रयोजनका लागि खर्च हुने र सहयोग रकम सिधै लक्षित वर्गमा पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम नेपालमा प्रभावकारी बनेको पनि छ ।

रोक्काका अनुसार नेपालका लायन्स क्लब विश्वमा पहिलो नम्बरमा पर्न सफल भएका छन् । सन् २०१५ मा लायन इन्जिनियर सञ्जय खेतान लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर हुनुभयो । खेतानले पाएको यो पद नेपालको तर्फबाट हालसम्मकै उच्च हो । नेपालमा आबद्ध रहेका क्लबको नेतृत्व १५ वटा डिस्ट्रिक्ट कमिटीले गर्ने र त्यसको समग्र नेतृत्व लायन्स मल्टिपल चियरपर्सनबाट हुने सङ्गठनात्मक संरचना रहेको लायन्स क्लब अफ काठमाडौँ हाइटका संस्थापक अध्यक्ष मनोजकुमार सापकोटाले जानकारी दिनुभयो । यी कमिटीले नेपालमा सञ्चालन गर्ने विभिन्न कार्यक्रममा अन्तर्राष्ट्रिय लायन्स क्लबबाट ७० प्रतिशत अनुदानसमेत आउने गरेको छ । वार्षिक दुई पटक गरी कम्तीमा एक लाख डलरको सहायता लायन्स क्लबका १५ वटा डिस्ट्रिक्टमार्फत वार्षिक २० देखि ३० करोड अन्तर्राष्ट्रिय सहायता नेपालमा आउने गरेको सापकोटाको दाबी छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?