महेश प्रसाई
सीताराम पद्मकुमारी फाउन्डेसन सहयोगीनगर, कोटेश्वर, काठमाडौँले २०७८ सालमा सार्वजनिक गरेको ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ शीर्षकको एक विशिष्ट स्मृतिग्रन्थ स्मृति साहित्यका रूपमा देखापरेको छ ।
ग्रन्थमा सत्तरीवटा शीर्षकमा जीवनी र व्यक्तित्व खण्डलाई विभाजन गरिएको छ भने दशवटा शीर्षकमा अनुुक्रमणिका पनि प्रस्तुत गरिएको छ । अनेकौँ विशिष्ट साहित्यिक पत्रपत्रिका, वार्षिक मुखपत्र, बुुलेटिन, अनुसन्धान, मौलिक कृति, वंशावली, धर्मग्रन्थ र साहित्यिक–सांस्कृतिक कृतिहरूका ‘सम्पादन शिल्पी’को छवि निर्माण गरिसक्नुभएका प्रा. कुलप्रसाद पराजुलीद्वारा सम्पादित यो स्मृतिग्रन्थ पठनीय छ र सङ्ग्रहणीय पनि ।
गाउँ, नगर, बृहत्तर समाज, समग्र राष्ट्र वा अन्तर्राष्ट्रिय जगत्मा उल्लेखनीय, उदाहरणीय र विशिष्ट पहिचान स्थापना गर्ने लोकोपकारी– लोकप्रिय व्यक्तित्वको जीवनकालपछि स्मृतिमा एक व्यक्ति वा अनेक व्यक्तिद्वारा संस्मरण गरी लेखिएका रचनाहरूको सङ्कलित ‘विम्ब कृति’ लाई स्मृतिग्रन्थ भन्ने चलन छ । वरिष्ठ समाजसेवी, शैक्षिक अभियन्ता, समाज सुधारक, विकासका वाहक, ज्येष्ठ नागरिकहरूका आवाज, स्वयं ज्येष्ठ नागरिक सचेतक, दीनदुःखीहरूका सहयोगी, एक कर्मवीर, बालबालिका, युवा, किशोर, अधबैँसे, वृद्धवृद्धाका अभिभावक, सबैका साथी सीताराम ढकालको बहुुआयामिक कृतित्व र योगदानमाथि विभिन्न विद्वान्–विदुषी, स्रष्टा– शुभचिन्तक, सन्तति र अनुयायीहरूद्वारा लेखिएका रचनाहरूको सङ्कलन हो यो कृति ।
सीताराम ढकालले भोजपुरदेखि काठमाडौँसम्मको जीवन यात्रामा अनेकौँ उदाहरणीय कार्य गर्नुभएको छ । उहाँ जहाँजहाँ बसोवास गर्ने क्रममा रहनुभयो ती–ती क्षेत्रलाई ऊर्जा र प्रेरणा सञ्चार गरिरहनु भयो । नेपाली समाजलाई बिर्सनै नसकिने गुन लगाउनुुभएको छ उहाँले । सीताराम ढकालले भोजपुरदेखि विराटनगर, इटहरी र काठमाडौँ कोटेश्वरसम्मको बसोवासका क्रममा बत्ती–बिजुली, सिँचाइ, कुलो, ढल, सडक, पुल, पाटी–पौवा, चौतारा, इनार, मठमन्दिर, पार्क–उद्यान, विद्यालय, क्लब, सङ्घ, संस्था र टोल सुधारका कार्यमा अनगिन्ती नेतृत्वदायी भूमिकासहित आफ्नो अमिट छाप छोड्नुभएको छ । उहाँको योगदानको कदर गर्दै वरिष्ठ पत्रकार शिवकुमार भट्टराईले लेख्नुुभएको छ, ‘जीवन बाँच्नु मात्र सार्थक होइन, बाँच्दा गर्ने काम र दिने योगदानचाहिँ अर्थपूर्ण हुन्छ । स्वर्गीय ढकालले आफ्नो जीवनकालमा समाजलाई लगाउनुुभएको गुण सबैभन्दा महत्त्वपूर्ण योगदान हो ।’
हाम्रो सनातन संस्कृति श्रुति साहित्य अर्थात् स्मृति साहित्यमा आधारित छ । वेद–उपनिषद्, पुराण आदि श्रुुति साहित्य हुन् जो हाम्रो जीवन पद्धतिका लागि निर्देशक मार्ग हुन् । हाम्रा ऋषिमुनि, विद्वान्–विदुषी, पिता–पुर्खा, सन्त, महन्त, गुरुजनहरूले विगतमा सम्पन्न गरेका महान् कार्य, उदाहरणीय दृष्टान्त, यज्ञ–अनुुष्ठान, कृति रचना, परोपकार, शास्त्र र धर्मग्रन्थहरूको रचना आदिले सन्ततिदरसन्ततिलाई मार्गप्रशस्त गर्ने कार्य हुँदै आएको छ । सोहीअनुरूप सीताराम ढकालजस्ता ऋषितुल्य व्यक्तित्वले गरेका मानवतावादी कार्य र जागरण अभियानलाई भीम ढकाल र प्रभु ढकालजस्ता सुुयोग्य सुपुत्रहरूले ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ जस्तो स्मृति साहित्य प्रकाशन गरेर कुशल संस्कार र कुलिन परम्पराको परिचय दिनुुभएको छ ।
सीताराम ढकालका महान् कार्य र दृष्टान्तीय योगदानका बारेमा ग्रन्थको सम्पादकीयले स्पष्ट पारेको छ– ‘स्व. सीताराम ढकाल एक कर्मयोगी व्यक्तित्व हुनुहुन्थ्यो । पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकास्थित चरम्बी, पुराना गाउँमा एउटा सामान्य किसान परिवारमा जन्मेहुर्केर घरायसी वातावरणमा सामान्य व्यावहारिक शिक्षा हासिल गरी आफ्नै गाउँठाउँको विकासका निम्ति शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्ति र वन–वातावरणको संरक्षण संवद्र्धनमूलक सेवा कार्यमा लागिपरेर समाजसेवाका पुनीत कार्यमा होमिएका सीताराम ढकाल जीवनको उत्तराद्र्धमा काठमाडौँको कोटेश्वरमा बसोवास गर्न आइपुग्नुभयो । आफ्नो जन्मस्थलमा सानै उमेरदेखि विकास निर्माण र रचना सिर्जनात्मक कार्यमा लागिपर्दै आउनुभएका उहाँले सामाजिक सेवाका विविध र बहुआयामिक क्षेत्रका साथै मूलतः ज्येष्ठ नागरिकहरूको हकहितका सम्बन्धमा विशिष्ट योगदान दिनुभएको छ ।’
सीताराम ढकाललाई चिनाउने प्रस्तुत कृतिको एक प्रमुख विशेषता के हो भने समग्र ज्येष्ठ नागरिकहरूका दुःख, कष्ट, एकाकीपन, रिक्तता, अभाव तथा ज्ञात–अज्ञात समस्या र चुनौतीहरूका विषयलाई लिएर राज्यसित सङ्घर्ष गर्नुपरेका जीवन्त कथा छन् कृतिभित्र । प्रायः नेपालको अधिकांश समाजमा ज्येष्ठ नागरिकहरूले परिवार, समाज र राष्ट्रका विभिन्न निकायबाट उपेक्षित जीवन बिताउनु परिरहेका अनेक घटना छन् । सुरक्षा, सम्मान र क्रियाशील जीवन बाँच्ने अवसर र उपायबाट वञ्चित हुँदै आउनु परिरहेको छ ज्येष्ठ नागरिकले । छोराछोरीहरू सबल र समर्थ हुँदाहुँदै पनि वृद्धाश्रम र धर्मशालाहरूमा धपाइनु परेको छ । केही अपवादबाहेक अधिकांशले बाबुआमा वृद्ध र अशक्त भएपछि घरबाट धपाउने गरेका छन् । यस्तो स्थितिमा ज्येष्ठ नागरिकको कथा–व्यथा बुझ्नुभएका सीताराम ढकालले तिनका सम्मान, सुरक्षा, प्रतिष्ठा र हकअधिकार कायम गर्न एक प्रखर अभियन्ताका रूपमा राज्य र सरकारसित अनेकौँ पटक सङ्घर्ष गरेर कतिपय विषयमा सफलता पनि हासिल गर्नुभएको थियो तर सीताराम ढकालका पाँच सन्तान सुझबुझ र विवेकशील भएकै कारण उहाँको संवेदनाको कदर भएको छ । उहाँको अभियानलाई जीवन्त राख्न यो स्मृति अभिलेखीकरणले उदाहरणीय टेवा पु¥याएको छ ।
प्रस्तुत ग्रन्थमा कुलप्रसाद पराजुली, शान्तिकृष्ण अधिकारी, भूमि न्यौपाने, शिवकुमार भट्टराई, बाबुराम न्यौपाने ‘उत्स’, खगेश्वर गौतम, चन्द्र घिमिरे, यमुना पराजुली अधिकारी, विन्दु अधिकारी ढकाल, शशी लुमुम्बू आदिले उहाँका व्यक्तित्व र योगदानका विभिन्न पाटालाई प्रकाश पार्नुभएको छ । यिनका अतिरिक्त अन्य ख्यातिप्राप्त समाजसेवी, प्रशासक, प्राध्यापक, विद्वत् परिषद्का लेखरचनाहरूले निर्वाह गरेको भूमिका पनि प्रशंसनीय छ ।
जीवनको उत्तराद्र्धतिर उन्मुख ज्येष्ठ नागरिकहरूलाई सम्मान, सुरक्षा, अवसर, उपाय प्रदान गर्दै तिनलाई सक्रिय जीवन बाँच्न पाउने हक अधिकारका लागि क्रियाशील चट्याङ मास्टर र एजिङ नेपालले निर्वाह गरेको भूमिका सीताराम ढकाल एक्लैले यसअघि सम्पन्न गर्नुभएको प्रसङ्ग पनि यहाँ स्मरणीय छ । मरणोपरान्त भए पनि सीताराम ढकालको यो विशिष्ट योगदानलाई कदर गर्दै युनेस्कोले अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गर्न सकेमा समग्र ज्येष्ठ नागरिककै गरिमा वृद्धि हुने विश्वास गरिन्छ । प्रखर आध्यात्मिक चेतनाका संवाहक सीताराम ढकालले मुलुकको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको भूमिका पनि स्मरणीय छ । देश–विदेशका धार्मिक तीर्थाटनहरूको अनुभव र अनुभूतिलाई स्थानीय समाजमा सञ्चार गरेर सन्तति दरसन्ततिलाई ज्ञान र उत्प्रेरणातर्फ आकर्षिक तुल्याउनुभएको प्रसङ्गलाई कसैले बिर्सन सकेको छैन ।