राजेन्द्रप्रसाद अधिकारी
रातभर नसुतेर, साउनको भेलसँगै
सेती कराइरहेछ, सेती एकनास सुसाइरहेछ !
नेपाल आमा जस्तै, नदी किनारमा झोक्राइरहेका
बगरका ढुङ्गाहरू देखेर शायद
युवाका सपनाहरू जस्तै, उपयोगविहीन खेर गइरहेका
आफ्नै पानीहरू देखेर शायद
सेती कराइरहेछ, सेती एकनास सुसाइरहेछ !
कुनै आधार भएन
जहाँ जन्मियो, हिमालमा
त्यहाँ टिक्न सकिएन
कुनै गन्तव्य भेटिएन
जीवन खोज्दै जहाँ ओर्लियो, पहाड हुँदै मधेसमा
कुनै भविष्य देखिएन
कस्तो विडम्बना !
हिउँको कञ्चन स्निग्धता जोगाउन सकिएन
पानीको निर्मल स्वच्छता बचाउन सकिएन
विचारहरूका स्खलन जस्तै, आचरणमा देखिएका विचलन जस्तै
पहाडपखेराभित्र रसाउँदै पहिरोसँगै बगिरहेको आफैँलाई देखेर शायद
बस्तीहरूमा पस्दै वितण्डा मच्चाइरहेको आफ्नै गतिलाई हेरेर शायद
सेती कराइरहेछ, सेती एकनास सुसाइरहेछ !
देशको गरिबी जस्तै, बगरमा झुलिरहेका
काँसका बोटहरू देखेर शायद
चुनावी घोषणापत्र जस्तै, मूल्यहीन बाँचिरहेका
आफ्नै पानीका फोकाहरू देखेर शायद
सेती कराइरहेछ, सेती एकनास सुसाइरहेछ !
रातभर नसुतेर, साउनको भेलसँगै
सेती कराइरहेछ, सेती एकनास सुसाइरहेछ !