सविता गौतम दाहाल
सपनामा,
मेरा जुत्ता चप्पल चोरिन्छन्,
जोडी स्यान्डल हराउँछन्
सबैका हुन्छन्, मेरै मात्र भेट्दिन
जति खोज्दा पनि !
को हो त्यो,
जसले मेरा पाइतालाको सहारा
खोसिरहन्छ ?
मलाई निरन्तर सताइरहन्छ
असुरक्षित बनाएर
तड्पाइरहन्छ ?
म चढ्ने वाहन,
मलाई छोडेर जान्छ
र म दौडिरहन्छु
खाली खुट्टा,
चीसा बाटामा,
कहिले तातो बालुवामा !
मैले ओढेको छाता उडाइ लान्छ,
र मलाई घामले पोल्छ
कहिले पानीले भिजाउँछ !
म चढेको
रेलको डब्बा छोडिन्छ,
र इन्जन अर्कै डब्बा लिएर
हिँडिदिन्छ, विरह जगाउँदै
किन यतिविघ्न सताइन्छु ?
बिहानी मलाई भेट्न आउँदासम्म,
म गलेर लखतरान भएकी हुन्छु
नियतिको कस्तो परीक्षा हो यो ?
को हो त्यो,
जो लगातार कठोरतापूर्वक
मलाई गालिरहेछ,
फरक फरक तापक्रमको आगोमा,
किसिम किसिमका भट्टीमा,
नाना प्रकारको घोलमा ?
मभित्रका कति कति
अमिल्दा धातु छुट्याइरहेछ
अनेकन चरणमा,
घरि भिजाउँछ,
घरि निचोर्छ,
घरि सुकाउँछ !
सोधिरहन्छ हृदय
को हो त्यो,
जो चौबीस क्यारेटजस्तै केही
शुद्धता – मापनको,
धैर्यता – धारणको
वा कार्मिक – कारणको
कुनै नयाँ युनिट बनाउन
यति जोडतोडका साथ लागिरहेछ ?