logo
२०८१ जेष्ठ ४ शुक्रवार



इन्द्रावतीको शिरमा पुग्दा

शनिवार |


इन्द्रावतीको शिरमा पुग्दा


मोहनप्रकाश

‘तीन भाइको एउटै पगरी के हो ?’
मैले सानैदेखि सुन्दै आएको उखान हो यो । त्यही ‘ओदान’को पगरीले जस्तै हामी तीन भाइले यात्रामा एकअर्काको साथ पायौँ । राजु लामा मेरा सहकर्मी साथी र फुर्वा मोक्तान जो हामी दुवैका घनिष्ठ मित्र । हामी तीन हुनेबित्तिकै हाम्रो यात्राको रौनक नै अर्कै हुन्थ्यो । त्यसमा पनि हामी तीन भाइले अनेकौँ पदयात्रा सँगसँगै गरिसकेका थियौँ । एकअर्कामा घनिष्ठता हुनु भनेकै पदयात्राको पहिलो खुसी छँदै थियो । घनिष्ठतामा पदयात्रा गाँसिएपछि रोमाञ्चकतामा अभिवृद्धि नहुने कुरै भएन । यही रोमाञ्चकतामा जुटिसकेका थियौँ हामी । पदयात्रा थियो– सिन्धुपाल्चोकको अनुपम सौन्दर्यमध्येको एक ‘पाँचपोखरी ।’ अनि हाम्रो यात्राको प्रस्थान बिन्दु थियो– सदरमुकाम चौतारा ।

बिहान गौराती भीमसेन मन्दिर पुग्नै लाग्दा तलको बाटोमा एउटा करिब १२/१३ वर्षको केटो डोकोभरि लेकको मूला बोकेर आइरहेको भेटियो । हामी भने त्यो लेक पुग्न अभैm करिब दुई घण्टा हिँड्नु पथ्र्यो । केटोको साहस देखेर फुर्वाले फोटोको पहिलो स्न्याप त्यहीँ मारे । केटो भारी बोकेरै मुस्कुरायो । उसको मुस्कान लेकको बुकी पूmलजस्तै हावामा तरङ्गित भएर गयो । हामीले गोरेटो छोडेर मूलबाटो समायौँ, केटो चौतारातर्फ लम्कियो ।

यात्राको उन्मादले हामी तीनै जनालाई हौस्याएको थियो । त्यसमा पनि फराकिलो बाटोमा स्वतन्त्र हिँड्नुको मजा नै बेग्लै थियो । बिहानीको संवादले अर्कै उमङ्ग थप्न थाल्यो । पाइला अगाडि बढिरहे । उक्लिरहे । चौतारो, गोरेटो, टारी खेत, खोँच, पँधेरो अनि बस्ती, मूल सडक, त्यसपछि पुनः गोरेटो, नीलो पहाड, सामुन्ने उत्तिसका रुख । यस्तैमा पुगिन्छ आखे्रनीको भीर । भीरपछि आख्रेनीको बस्ती ।

हामी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पुग्यौँ । आख्रेनी बस्तीमाथिको बाटोमा हिँड्दा जुकाहरू शरीरमा झुन्डिन थालिसकेका छन् । सल्लाका रुखबाटै जुका टाउकामा हामफाल्छन् । झार त छुनै हुन्न । कहाँबाट सल्किन्छन्, सल्किन्छन् । कपाल, लुगाभित्र त भेटिन्छन् नै मोजाभित्रसमेत पुगिसकेका हुन्छन् ।
ठूलो आख्रेनीबाट सुरु हुन्छ वास्तविक लेकको यात्रा । उकालोको मुखैबाट भेटिन थाल्छन् लहरै जात्राका मौसमी छाप्रामा होटल र पसल । हामी जनैपूर्णिमाको दिनमा छौँ । पाँचपोखरीमा आज जात्राको दिन हो । हामी एक दिन ढिला भयौँ । परिस्थितिवश जात्राकै दिन पाँचपोखरी टेक्न पाइएन तर हामी तीन भाइलाई नै कुनै गुनासो छैन । बस् हामीलाई यात्रा गर्नु छ । यात्राको आनन्द लिँदै मस्ती गर्नु छ । चराका चिर्रबिरे गीत सुन्नु छ । उकालोमा पसिना झार्दै एकछिन सुस्ताउनु छ । गफ र चुट्किला सुन्दै र सुनाउँदै कानभित्रको जालीलाई ताजा बनाउनु छ ।

जात्राका मौसमी खाजाघरमा पुग्दा एउटी सुन्दरी हामीतिर मुस्कान छर्छिन् । खाजामा मुस्कानसहितको सत्कार पाएपछि के चाहियो र ? त्यहाँ टन्न खाजा खाएर हामी गोब्रेको उकालो लाग्यौँ । जङ्गलको बाटो समाएपछि पो हामी दुईलाई पछि पार्दै राजुले बाजी मारेको थाहा भयो । उनले त युवतीको मोबाइल नम्बर नै लिन भ्याइसकेछन् । त्यसपछिको जङ्गलको बाटोमा राम्रै संवादले बाटो काटियो ।

घना जङ्गलभित्र उकालो, तेर्सो, खोँच अनि दलदल टेक्दै गोब्रे भन्ने ठाउँ पुगियो । जहाँ एउटा मौसमी गोठ भेटियो अर्थात् पदयात्री, तीर्थालुका लागि बासको बन्दोबस्त गरिएको थियो । गोठकुरुवा एउटा केटो सुतिरहेको थियो । त्यसपछि एउटा सानो बस्तीका बीचबाट हामीले समात्यौँ आफ्नै मार्ग ।
आखे्रनीमा खाएको खाजाले छोड्दै थियो । हामी कामीखर्क भन्ने ठाउँमा भात खाने कि भन्ने सल्लाहमा थियौँ । एउटा छाप्रोभित्र पस्दा खाइलाग्दा एक व्यक्ति भेटिए । हामीलाई देख्नेबित्तिकै ‘ल बसम् बसम्’ं भन्दै कुर्सी राखिदिए । “जङ्गलको च्याउसँगै भात खाउँ हुन्न ?” हामी बोल्न नपाउँदै उनैले हामीतिर प्रश्नसँगै उत्तर पनि फ्याले । भोकको बेलामा जङ्गलको च्याउसँग भात खान पाए के खोज्नु ? हाम्रो समर्थनसँगै उनले अँगेनामा भात बसाले ।

अचम्म त यहाँनिर लाग्यो, उनका गफ सुन्दै गर्दा हामी तीन भाइ पो एकअर्कामा दृष्टि संवाद गर्न विवश भयौँ । उनको गफले सगरमाथा चुम्न थाल्यो । ज्याकिचेनसँग आपूmले फिल्म खेलेकोसमेत भन्न थालेपछि त्यहाँबाट कतिखेर भागौँ हुन थाल्यो ।
उनले भात पस्किन थाले र हामीलाई भाग सारिदिए । भातसँगै च्याऊ आउला–आउला भन्दाभन्दै भात नै सिद्धियो । “साँच्चै च्याऊ छ भन्या होइन र दाइँ मैले अन्तिममै भए पनि सोधिटोपलेँ । “अँ जङ्गलमा लिन पठाको पाएन छ,” उनले जवाफ फर्काए । बल्छीमा माछा फसाउन हामीलाई गड्यौउला पो देखाएका रहेछन् ती गफाडी दाइले । खानापछि हामीलाई विभिन्न जडीबुटी खोलेर देखाउन थाले । एकपल्ट गफमा फसिसकेका हामी उनको जडीबुटीमा फसिने डरले हतारिँदै भाग्यौँ । पछि हामी तीनभाइको गतिलै हाँस्ने विषय बन्यो त्यो ।

यात्रामा भेटिने यही त छ मजा । विविध स्थान, विविध मान्छे । अनि तिनका आ–आफ्नै व्यवहार । आफ्नै तौरतरिका । कर्मअनुसारकै फल त पाउने होलान् सबैले । कि फलअनुसारकै कर्म पाउँदा हुन् ? दैव जानून् ! हामीजस्ताको दिमागले के भेउ पाओस् ।
यात्रामा संवाद घोल्दै, रसिलो बनाउँदै उचाइमा तीन चङ्गा उडिरहेछन् । हावाको गति र वेगमा उमङ्ग फर्फराइरहेछ । उचाइसँगै माथि–माथि उडेर हावामा कावा खानुको आनन्द र मस्ती सायद यिनै पहाडी गोरेटा, गुराँसको जङ्गल र बादलभित्र लुकेका सेता चुचुराले नै दिन सक्छन् । अनि अञ्जान र निर्दोष ती ग्रामीण स्पर्शहरूले दिन सक्छन् । छिटफुट विकार त सृष्टिकै सिर्जना होला । नत्र सत्य र सौन्दर्यको के अर्थ ?

घाम पश्चिमतिर हराउन खोज्दै छ । हामी हाम्रो रफ्तारलाई चङ्गाकै गतिमा उडाउन खोज्दै छौँ । माथि डाँडोमा एउटा घरको आसपास दर्जनौँ भेडाको हुल भेटिन्छ । भेडा गोठालो र दुब्लो ख्याउटे देखिने तिनको मालिक बाटैमा भेटिन्छन् । ती मालिकको नाम तोडसिङ रहेछ, जुन कुरा पौवामा पुगेर बास बस्ने क्रममा बुझियो । तिनै तोडसिङ त्यही डाँडाको एक्लेघरको मान्छेसित गफिँदै थिए । एउटा नाबालक शिशु च्यापेकी महिला घरबाहिर ढोकामा उभिएर हामीलाई नियाल्दै थिइन् ।

हामीलाई पौवा पुग्न हतारो छ । रात झमक्क परिसकेको छ तर अझ दुई घण्टा हिँड्नुपर्ने बुझिन्छ । हामी ओरालो गुडुडु झर्नु र आकाशबाट पानीका थोपा वर्षनु सँगसँगै हुन्छ । आ–आफ्ना झोलाबाट हामी रेनकोट, छाता निकाल्छौँ र आफ्नो गतिलाई दोब्बर बनाउँछौँ । हाम्रो गतिसँगै पानीका थोपा बढ्ने क्रम जारी छ । हामी तीन जनाकै बोली बन्द हुन्छ । एकअर्कासँग बोल्दा हिँडाइको गति कम हुनसक्छ । फेरि थकाइले पनि होला, मुख खोल्नेसम्म जाँगर पनि थिएन । वर्षात्को गडगडाहटसँगै टर्च बाल्दै हामी अँध्यारो जङ्गलभित्र पस्छौँ ।

रातको करिब ८ बजे एउटा गोठ भेटिन्छ । बल्ल अनुहारमा अलिकति कान्ति छाउँछ । हामी तीन भाइ गोठभित्र पस्छौँ । गोठभित्र वस्तुभाउ चल्मलाउँछन् । तिनै वस्तुभाउका छेउछेउ गोठको अन्तिममा आगोको वरिपरि भेटिन्छन् चार मनुवा ।
गोठधनी पासाङ दम्पतीले हामीलाई विशेष सत्कार गर्छन् । अर्का वृद्ध दम्पती जात्रा सिध्याएर आएका पासाङकै चिरपरिचित रहेछन् । परिचयात्मक संवादपछि हामी आफ्ना झोलीतुम्ली बिसाउँदै चिसा लुगा फेर्छौं । बाहिर अविरल झरी दर्किरहेकै छ । त्यो जाडोमा पनि पासाङ दम्पतीले हामीलाई स्वादिलो खाना पकाएर ख्वाए ।

एक झप्को निदाएर बिउझँदा झरीले आफ्नो शक्ति बढाएर चौबर बनाइसकेको रहेछ । जस्ता बझेको आवाजले सायद सबैलाई बिउँझाइसकेको छ । ओछ्यानभित्रै साथीहरू पनि सल्बलाउन थालेका छन् । वर्षात्को गर्जनले कताकता पाँचपोखरी पुग्ने सपनामाथि नै कुठाराघात पो हुने हो कि शङ्का उब्जन्छ मनमा । बिहानीसँगै वर्षात् रोकिएको छ । सुनौला घामका किरणले हामीलाई मार्गप्रशस्त गरिसकेका छन् । हामी पासाङकै गोठमा तातो भात मुखले टिपेर हिँड्ने तयारीमा छौँ । पासाङ दम्पती हाम्रा आत्मीय भइसकेका छन् । यो जोडी आफैँमा सन्तुष्टि र इमानदारीको उदाहरण झैँ लाग्छ । यस्तो एकलास गोठमा पनि पाहुनालाई असुविधा दिनु पाप सम्झन्छन् यी जोइपोइ ।

अचानक एक व्यक्ति गोठभित्र छिर्छन् । उनी पासाङका भाइ रहेछन् । भाइ पनि पासाङकै शीलस्वभावका लाग्छन् । कुरैकुरामा उनले तोडसिङको कुरा निकाले । बाटोमा हामीले भेटेका भेडा बथानका मालिक हुन् तोडसिङ ।
हामी तीन भाइ नुनथलाको उकालो चढ्न थाल्यौँ । सायद रातभरको वर्षात्ले होला, सर्वत्र खुलेको बिहानी थियो । नुनथलाबाट उत्तरतर्फ हिमाली शृङ्खलाले आकाश छोएको देखिन्थ्यो । पूर्वपट्टि तल बलेफी खोला देखियो भने दक्षिण पूर्वको तल बाटोमा पासाङको गोठ हामीलाई नै हेरिरहेको थियो । त्यो गोठसँगै पासाङ दम्पतीका अनुहार मेरो स्मृतिमा छाएर गए ।

नुनथलापछि पुग्यौँ हामी हिले भन्ने ठाउँ । यही ठाउँमा पासाङका भाइले हिजो रातभर रमाइलो गरेको कुरा गरेका थिए । २० जनाले एउटा सिङ्गै भेडो र दुई घ्याम्पा रक्सी सिध्याएको कुरा सुनाएका थिए उनले । हिलेमाथिबाट पहाडको फेदैफेद नसिमपाटी पुगिने लमतन्न फैलिएको बाटो देखियो ।
नसिमपाटी पुग्दा जात्राको चहलपहल देखिन्थ्यो । झाँक्री नाचिरहेका थिए । अन्य तीर्थालु र पदयात्री आ–आफ्नै तालमा रमाइरहेका थिए । पाँच–सात घर भएको यो ठाउँ मेलम्ची हुँदै पाँचपोखरी जाने आउनेहरूको पनि सङ्गमस्थल रहेछ । हिजो पाँचपोखरीमा जात्रा मनाएर मानिस फर्किने क्रम जारी थियो ।
केही मेलम्ची पुग्ने ओरालो बाटो झर्दै थिए । यहाँभन्दा माथि धेरै लामो ठाडो उकालो रहेछ, जसलाई लौरीबिनाको उकालो भनिँदो रहेछ । गोसाइँकुण्ड जाने बाटोमा पनि अन्तिम तर यहाँको भन्दा छोटो उकालोलाई यही नामले चिनिन्छ ।
एक ठाउँमा तीन लौरी गाडिएका भेटिए । मानौँ, कसैले हामीलाई नै भनेर यहाँ गाडेका हुन् । हामीले ती एकएक लौरी टिप्यौँ तर लौरी टेकेर हिँड्नु र ढुङ्गाको सिँढी आउनु सँगसँगै भयो । उकालो सिद्धिएपछि छोडेका लौरी रहेछन् ती ।

हुस्सुले बाटो पूरै छोपेको थियो । पानीको कलकल मात्र सुनियो । फड्के टेकेर हिँड्दै गर्दा अलिअलि पानीको किनारी भाग देखिन थाल्यो । त्यही पानीको किनारै किनार बढ्ने क्रममा अगाडि एउटा लामो मान्द्रोले बेरेको छाप्रो देखियो । त्यही छाप्रोको सामुन्ने हुस्सुबाट खुल्दै गरेको पोखरी देखियो । बिस्तारै हुस्सु हट्दै जाँदा एकपछि अर्को पोखरी देखिँदै गयो ।

हिमालको काखमा अवस्थित यी पाँच कुण्डका वर्णन गर्ने कुनै शब्द सामथ्र्य हामीमा थिएन । इन्द्रावती नदीको उद्गमस्थल पाँचपोखरीलाई हाम्रा दृष्टिले धेरैबेर नियालिरहे । तिनकै किनारालाई स्पर्श गर्दै हाम्रा पाइला यताउता भड्किरहे । मानौँ, सहरिया कोलाहलमा भड्किएका आत्मा यहाँ केही क्षण भए पनि शान्त हुने प्रयत्नमा छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?