logo
२०८१ जेष्ठ ४ शुक्रवार



लोकप्रिय ड्रिम क्याचर्स

शनिवार |


लोकप्रिय ड्रिम क्याचर्स


सरस्वती ढुङ्गाना

राम्रो सपनाका लागि कोही भगवान् र कोही प्राकृतिक सौन्दर्यले भरिएको तस्बिरले कोठालाई सजाउँछन् । कोही विभिन्न प्रकारका उपहारले कोठालाई आकर्षक बनाउँछन् । विज्ञान र विश्वव्यापीकरणको यो जमानामा मानिसमा विभिन्न सौख र रुचि बढेको पाइन्छ । सपना हाम्रो वशमा छैन तर पनि मानिस राम्रो सपना देख्नका लागि लालायित हुन्छन् । जसका लागि मानिस विभिन्न उपाय खोजिरहेका हुन्छन् । राम्रो सपना देख्नका लागि कोठामा सजाइने एक प्रकारको कलालाई ‘ड्रिम क्याचर्स’ भनिन्छ । पछिल्लो समय यसलाई घरको झ्याल, ढोका, बैठक, सयन कक्ष, सवारीसाधन, सभा हल आदिमा पनि सजाइएको देख्न सकिन्छ ।

मानिसले चाहेको सपना देख्न सक्दैनन् तर राम्रो सपना देखियोस् भनेर नै ड्रिम क्याचर्सको प्रयोग गर्ने गरेको पाइन्छ । घरको बैठक कोठामा आकर्षक ढङ्गले यसलाई सजाइएको मात्र पाइन्न, युवकयुवतीले नयाँ वर्ष, जन्मदिन वा अन्य अवसरमा उपहारका रूपमा प्रयोग गर्न थालेका छन् । यसलाई साइत, गुडलक वा छुकका रूपमा पनि लिइन्छ ।

हुन त यसका बारेमा कुनै पनि पुस्तकमा उल्लेख नभए पनि यसको पहिलो प्रयोग भने एउटा कोरियन फिल्मबाट भएको देख्न सकिन्छ । जुन फेसनका रूपमा अहिले विश्वभरि नै लोकप्रिय बन्न पुगेको छ । यसको सुरुवात सन् २०१३ मा कोरियन सिरियल द हेइर्सबाट भएको देखिन्छ । सिनेमामा प्रयोग भएको उक्त ड्रिम क्याचर्सले विश्व बजारमा लोकप्रियता कमायो । त्यस्तै उत्तर अमेरिकाको ओजब्बे समुदायले आफ्ना बालबालिकाको रक्षाका लागि माकुरे जालोजस्तै बेरेर बनाइएको ड्रिम क्याचर्स प्रयोग गर्ने गर्छन् । कुनै खराब सपनालाई यसले रोक्ने भएका कारण यसको प्रयोग यो समुदायमा प्रचलनमा आएको पाइन्छ । विभिन्न समुदाय र देशमा प्रचलित यो उपहार सामग्रीले अहिले नेपाली बजारमा पनि राम्रै उपस्थिति जनाइसकेको छ । त्यसको उदाहरण यो सबै गिफ्ट पसलमा सहजै पाइनु नै हो ।

मसिनो फलामे तारको रिङमा माकुराको जालोजस्तै तरिकाबाट बुनेर यो तयार गरिन्छ । सुरुको आधार वा घरलाई बुन्दै लगेर अन्त्यमा सबै घरलाई एकैचोटि तानेर टुङ्ग्याएपछि ड्रिम क्याचर्स बन्दछ । जसको बीचबीचमा मुगा हालेर पनि तयार गरिन्छ । यसलाई आकर्षक बनाउन चराका विभिन्न रङका प्वाँख र विभिन्न रङका धागो पनि प्रयोग गर्न सकिन्छ । प्रायः एक इन्चको रिङदेखि १६ इन्चको रिङमा बनेका ड्रिमक्याचर्स बजारमा पाइन्छन् तर ठाउँ र सामान भएमा जत्रो आकारको पनि ड्रिम क्याचर्स बनाउन सकिन्छ । कोरियन शैली भए पनि अहिले नेपालमा नै बनेका ड्रिम क्याचर्स बजारमा देख्न सकिन्छ । नेपालमा बनेका यस्ता ड्रिम क्याचर्स विदेशमा पनि निर्यात भएको पाइन्छ । त्यसैले स्वदेशी उद्यमीहरूले यस्ता नेपाली शैलीका विभिन्न बुनाइलाई प्रोत्साहित गर्न सकेमा केही मात्रामा भए पनि बेरोजगारी समस्या हल हुने देखिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?