logo
२०८१ बैशाख २० बिहीवार



मार्चका दिन

शनिवार |


मार्चका दिन


सुरेन्द्र नेपाल श्रेष्ठ

सुरुमा क्यालेन्डर प्रयोगमा आउँदा जम्मा ३०४ दिनको एक वर्ष मानिएको थियो । तीस दिनको छ महिना अनि चार महिना चाहिँ ३१ दिनको थियो । जाडो मौसमको दुई महिनालाई वर्षका रूपमा गन्ती नै गरिएको थिएन । रोमको पहिलो राजा रोमु लोसले ईशापूर्व करिब ७५३ तिर प्रचलनमा ल्याएको क्यालेन्डरको पहिलो महिना मार्टिएस् अर्थात् मार्च थियो । यो रोमन युद्ध देवताका रूपमा मानिने मार्सबाट नामकरण गरिएको मानिन्छ । यो महिनाको सुरुवातसँगै वसन्त ऋतु आगमन हुने हुँदा वर्षको सुरुवात नै खुसी र रमाइलो होस् भन्ने हेतुले त्यसो गरिएको हुनुपर्छ । बेलायतमा यो महिनामा जताततै फक्रने पहेँलो फूल ड्याफोडिलले मानिसमा नयाँ उत्साह थप्ने गर्छ ।

अङ्ग्रेजी महिनाको नाममा मार्च मात्रै त्यस्तो महिना हो, जुन शब्दको पछिल्लो तीन अक्षर लगातार व्यञ्जन मात्रै आउँछ (आरसीएच) । राशिफलका आधारमा मार्च महिनाको १ देखि २० तारिखसम्म जन्मिएका मीन र २१ देखि ३१ तरिखसम्म जन्मिएका मेष राशि मानिन्छन् ।
सूर्य भूमध्य रेखाको ठीक माथि पर्दा दिन र रात बराबर हुने गर्छ । यस्तो वर्षमा दुई पटक हुन्छ । पहिलो, मार्च महिनाको २० तारिखको वरिपरि र अर्को सेप्टेम्बरको २२ मा पर्छ । यसलाई अङ्ग्रेजीमा ‘इक्विनक्स’ भनिन्छ । जुन ल्याटिन भाषाको दुई शब्द ‘इक्वि’ अर्थात् बराबर र ‘नक्स’ अर्थात् रातबाट नामकरण भएको हो ।

मार्च र जुन महिना क्रमशः ३१ र ३० दिनको हुन्छ तर अचम्मको संयोग प्रत्येक वर्ष यी दुई महिनाको अन्तिम दिन भने एउटै बार हुन्छन् । जस्तै– सन् २०२२ को मार्च ३१ तारिख बिहीबार अनि जुन ३० पनि बिहीबार नै पर्छ । सन् २०२१ मा भने बुधबार परेको थियो ।
मार्च महिनामा संयुक्त राष्ट्रसङ्घले विभिन्न विषयलाई विशेष दिनका रूपमा मनाउने गरेको छ । मार्च १ मा भेदभावमा शून्य सहनशीलता दिवस, मार्च ३ मा विश्व वन्यजन्तु दिवस, मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस, मार्च १० मा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवस, मार्च २० मा अन्तर्राष्ट्रिय खुसी दिवस र फ्रेन्च भाषा दिवस, मार्च २१ मा जातीय भेदभाव उन्मूलन दिवस, कविता दिवस, नौरोज (नयाँ दिन) दिवस, विश्व डाउन सिन्ड्रोम दिवस, अन्तर्राष्ट्रिय वन दिवस, मार्च २२ मा विश्व पानी दिवस, मार्च २३ मा विश्व मौसम विज्ञान दिवस, मार्च २४ मा विश्व क्षयरोग दिवस, मार्च २५ मा दासत्व र दासपीडितको सम्झना दिवस, हिरासतमा रहेका र बेपत्ता कर्मचारीसँग ऐक्यबद्धता दिवस आदि ।

नेपाल, थाइल्यान्ड, डेनमार्क, क्यानडा, चीनलगायत विश्वका धेरै कम देशले मात्र स्वतन्त्रता दिवस मनाउने गर्दैनन् । मार्च १ तारिखमा बोस्निया, हर्जगोभिना र दक्षिण कोरिया, ३ तारिखमा बुल्गेरिया, ६ तारिखमा घाना, ११ तारिखमा लिथुयानिया, २० तारिखमा ट्युनिसिया र २६ तारिखमा बङ्गलादेशले आ–आफ्नो देशको स्वतन्त्रता दिवस मनाउने गर्छन् ।

संसारका विभिन्न देशमा आ–आफ्नो रीतिरिवाज, संस्कृतिअनुसार विभिन्न चाड मनाइने गरिन्छ । कतिपय चाड भने भौगोलिक र सांस्कृतिक रूपमा धेरै टाढा भए पनि एकरूपता देखिन्छ । मार्च महिना जाडो कम भएर वसन्त ऋतु आउने हुँदा मानिस आफूलाई मन परेको पर्व मनाउन टाढाटाढा पनि जान सक्ने हुन्छन् । यो महिनामा मनाइने केही चाड यहाँ उल्लेख गरिएको छ ।

मार्चको ४ देखि ८ सम्म आइसल्यान्डमा ‘फुड एन्ड फन’ महोत्सव मनाइन्छ । त्यहाँ युरोप, अमेरिकादेखि धेरै सेफ जम्मा भएर खाना पकाउने प्रतिस्पर्धा हुने गर्छ । मार्च १० देखि १२ सम्म म्यानमारमा हुने ‘कक्कु प्यागोडा’ महोत्सवमा स्थानीय र बाहिरबाट पनि धेरै मानिस जम्मा हुने गर्छन् । स्थानीय संस्कृति, धर्म र कलामा आधारित उत्पादनहरू, विभिन्न परिकार उपलब्ध हुने यो चाडमा भिक्षुलाई प्रसाद दिने र आशीर्वाद थाप्ने काम हुन्छ । मार्च १२ देखि १७ सम्म आयरल्यान्डमा हुने ‘सेन्ट प्याट्रिक डे’ पाँच दिनसम्म चल्छ । अमेरिकाको टेक्सास अस्टिनमा मार्च ११ देखि २० सम्म ठूलो ‘मिडिया फेस्टिभल’, जर्मनीको म्युनिखमा प्रत्येक वर्ष मार्च १५ देखि अप्रिल ६ सम्म ‘बियर फेस्टिभल’, अफ्रिकाको केप टाउनमा मार्चको २९ र ३० मा मनाइने ‘ज्याज फेस्टिभल’मा संसारका धेरै मानिस जम्मा हुन्छन् ।
संसारका प्रायः सबै देशमा मनाउने एउटा महìवपूर्ण अवसर भनेको आमाको मुख हेर्ने दिन वा ‘मदर्स डे’ हो । अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, चीन, जापान, युरोपका प्रायः देशलगायत झन्डै १०० देशमा मे महिनाको दोस्रो आइतबार ‘मदर्स डे’ मनाइन्छ । मध्यपूर्व र युरोपका केही देशमा आमाको मुख हेर्ने दिन भने मार्च महिनामा नै पर्छ तर दिन भने सधैँ एउटै हुँदैन ।

मध्यपूर्वका प्रायः सबै मुस्लिम देशमा मौसम परिवर्तनलाई आधार मानी ‘स्प्रिङ इक्विनक्स’का दिन आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । यो प्रायःजसो मार्च महिनाको २० वा २१ तरिखमा पर्छ । त्यसैगरी मार्च ३ मा जर्जिया, मार्च ८ मा प्रायःजसो पूर्वी युरोपेली देश, २५ मार्चमा स्लोभेनियामा आमालाई सम्मान गर्ने दिनका रूपमा लिइन्छ ।

त्यसैगरी मार्चको १९ तारिखमा अन्डोरा, अङ्गोला, बोलिभिया, क्रोएसिया, होन्डुरस, इटाली, स्पेन, पोर्चुगल, मोजाम्बिकमा बुवा मान्ने चलन छ । मार्च १८ मा मङ्गोलियामा ‘मेन्स एन्ड सोल्जर्स डे’ मनाउन सार्वजनिक बिदा नै दिइन्छ । मार्च महिनामा नै नेपाल र भारतमा मनाइने होली चाड पनि संसारकै महìवपूर्ण चाडमध्ये एक हो । रङ र उमङ्गको चाडका रूपमा मनाइने योजस्तै चाड स्पेनमा पनि मार्च १ देखि १९ सम्म ‘लास फलास’ महोत्सवका रूपमा मनाइन्छ । धेरै मानिस जम्मा भई आगो बाल्ने र वरिपरि बसेर त्यहाँको मुख्य खाना पायला खाने गर्छन् । स्पेनको भ्यालेन्सियामा सेन्ट जोसेफको सम्झनामा मनाइने यो चाडको तयारी भने समूह–समूहमा मिलेर वर्षभरि नै गरेका हुन्छन् । राम्रा कालिगढबाट २० फिट अग्लो मूर्ति बनाउने र त्यसलाई चाडको अन्तिम दिन मार्च १९ को रात जलाइने गरिन्छ । जुन झन्डै होलीको अघिल्लो दिन होलिकालाई जलाइने परम्परासँग मिल्दोजुल्दो छ ।

बेलायतमा मार्च १ मा ‘प्यान केक डे’ र ‘सेन्ट डेभिड डे’, मार्च ३ मा ‘वल्र्ड बुक डे’ र ‘वाइल्ड लाइफ डे’, मार्च १८ ‘ग्लोबल रिसाइकल डे’ र ‘रेड नोज डे’, २१ देखि २७ सम्म ‘सेक्सपियर विक’, २५ मार्च ‘वेर अ ह्याट डे’, २९ मार्चमा ‘पियानो डे’ तथा ५ मार्चमा प्रत्येक वर्ष सेन्ट पीरणलाई सम्झिँदै ‘कर्नवाल डे’ मनाइन्छ ।

अमेरिकी राष्ट्रपति एफ डी रुजबेल्टले सन् १९४२ मा मार्च महिनालाई रेडक्रस महिना मनाउने घोषणा गरेका थिए । यो महिनाभरि मानव जीवनको सहयोगका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरिन्छ । जसमध्ये रक्तदानलाई विशेष प्राथमिकता दिइन्छ । हामी सानो छँदा विद्यालयतिर स्वयंसेवक भई पढाउने अमेरिकी
‘पिस कोर’ संस्थामार्फत आउने गर्थे । यो संस्था अमेरिकी राष्ट्रपति जे एफ केनेडीले सन् १९६१ मार्चमा नै स्थापनाको घोषणा गरेका थिए ।

सामाजिक सञ्जाल ट्विटर सन् २००६ को मार्च २१ देखि सञ्चालनमा आएको हो । यसका जन्मदाता ज्याक डोर्से आफैँले ‘जस्ट सेटिङ अप माई ट्विट’ भनेर पहिलो ट्विट गरेका थिए । त्यसैगरी सञ्चार क्षेत्रमा अति नै महìवपूर्ण फड्को मार्न सफल टेलिफोनको सुरुवात पनि मार्च महिनामा नै भएको थियो । सन् १८४७ मार्च महिनाको ३ तारिखमा स्कटल्यान्डमा जन्मेर अमेरिका पुगेका एलेक्जेन्डर ग्राहम बेलले सन् १८७६ मार्च १० मा पहिलो पटक आफ्नो सहायकसित फोनमार्फत कुरा गरेका थिए । उनले ‘मिस्टर वाट्सन, कम् हियर, आई वान्ट टु सी यु’ भनेका थिए ।

लामो समयसम्म संसारकै सबैभन्दा अग्लो टावरका रूपमा रहेको फ्रान्सको आइफल टावरका निर्माता इन्जिनियर एलेक्जेन्डर गुस्ताफा आइफलकै नेतृत्वमा पहिलो पटक सन् १८८९ को मार्च ३१ मा यसको टुप्पामा पुगेका थिए । त्यतिबेला स्वचालित इलेभेटोर जडान गरिसकिएको थिएन । त्यसैले हिँडेर माथि पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो ।

संसारको दुईवटा देश क्युबा र उत्तर कोरियामा मात्रै नपाइने विश्व प्रसिद्ध पेय पदार्थ कोकाकोला सबैभन्दा पहिला एउटा औषधिका रूपमा सन् १८८६ को मार्चमा जोन पेम्बरटनले अमेरिकामा उत्पादन गरेका थिए । यसैगरी रबर ब्यान्ड १७ मार्च १८४५, महिला स्काउट १२ मार्च १९१२, पोलियो भ्याक्सिन २६ मार्च १९५२, वासिङ मेसिन (हाते) २८ मार्च १७९७ मा सुरु भएका थिए ।

संसारका करिब १४० देशले वर्षको दुई पटक एक घण्टा समय थपघट गर्ने चलन चलाएका थिए तर अहिले भने करिब ४० प्रतिशत देशमा मात्र यस्तो चलन छ । मार्च २७ मा युरोपका सबै देश, मार्च १३ क्युबा, हाइटी, अमेरिकाको हवाई र आरोजनाको केही स्थानबाहेक सबै राज्यमा, २६ मार्चमा पाराग्वे, २२ मार्चमा इरानमा एक घण्टा समय अघि सारिने हुँदा उक्त दिन अघिपछिभन्दा एक घण्टा कम सुत्न पाइने हुन्छ । अरू केही देशमा अन्य समयमा समय परिवर्तन गर्ने गरिन्छ । छ महिनापछि फेरि एक घण्टा पछाडि सारेर समय मिलाउने गरिन्छ । सन् १९७७ देखि सुरु भएको कमनवेल्थको वार्षिक दिवस प्रत्येक मार्चको १४ मा पर्छ । हाल ५४ राष्ट्र संलग्न यो सङ्गठनको यस वर्षको नारा ‘डेलिभरिङ अ कमन फ्युचर’ रहेको छ । बेलायती खानामा विभिन्न किसिमका पाई प्रख्यात मानिन्छन् । पीठोभित्र विभिन्न परिकार राखी तयार पारिने यो खाना विभिन्न चाडमा खाने गरिन्छ । यसको महìव कति छ भने बेलायतमा मार्च ७ देखि १३ तारिखसम्म एक साता मनाइने ‘पाई विक’ले नै प्रमाणित गर्छ ।

सन् २०१९ देखि युनेस्कोको ४०औँ साधारण सम्मेलनले मार्च १४ लाई गणितमा पाईको महìवलाई सम्झँदै अन्तर्राष्ट्रिय गणित दिवस मनाउने गरेको छ । वृत्तको परिधि र व्यास मापन गर्ने सूत्रअनुसार पाईको मान ३ दशमलव १४ मानिने हुँदा पहिला महिना अनि तारिख लेख्ने चलन भएका राष्ट्रमा यसलाई अझ उत्साहका साथ मनाइन्छ । संसारका अति सम्मानित दुई वैज्ञानिकको जन्म र मृत्यु यही दिनमा भएकाले पनि मार्च १४ लाई विशेष दिनका रूपमा लिने गरेको छ । अल्बर्ट आइन्स्टाइन सन् १८७९ मा जन्मेका थिए भने स्टेफन हकिङ्सको देहावसान सन् २०१८ मा भएको थियो ।

पहिलो पटक सन् १९७५ मार्च ८ का दिन संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गरेको थियो । सन् १९०८ तिर महिलामाथि रहेका भेदभावविरुद्ध न्युयोर्कमा जम्मा भएका झन्डै १५ हजार महिलाको मार्चले संसारभरि हल्लिखल्ली मच्चियो । त्यतिबेलाको मुख्य माग भनेको महिलालाई पनि मतदानमा भाग लिन दिनुपर्ने र समान कामका लागि समान ज्याला हुनुपर्छ भन्ने थियो । सन् १९०९ मा पहिलो पटक अमेरिका, १९१० मा कोपेनहेगनमा, १९११ मा अस्ट्रिया, जर्मनी र स्विट्जरल्यान्डमा, १९१३ र १४ मा रसियामा महिला दिवस मनाइएको थियो । सन् १९७८ देखि अमेरिकामा महिला दिवसको अवसरमा एकहप्ते महिला सप्ताह मनाउन थालियो । महिलाको सबै प्रकारको हकहित प्राप्तिका लागि थालिएको यो अभियान सन् १९७९ देखि दुई हप्ताको हुन थाल्यो ।

सन् १९८७ बाट भने पूरै मार्च महिनालाई महिला इतिहास महिनाका रूपमा मनाइँदै आइएको छ । सन् १९९५ देखि त अमेरिकी राष्ट्रपतिद्वारा इतिहासमा अमेरिकी महिलाको भूमिकालाई सम्मान गर्दै वार्षिक घोषणा नै जारी गर्ने गरिएको छ । गत वर्ष २८ अप्रिलमा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित प्रस्तावअनुसार प्रत्येक वर्ष मार्च महिनाको १० तारिख संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवस मनाउने निर्णय गरेको छ । मार्चलाई अधिकार प्राप्तिका लागि संसारभरिका महिलालाई गोलबन्द र जागरुक बनाउने महिलामैत्री महिनाका रूपमा पनि मान्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?