logo
२०८१ बैशाख २१ शुक्रवार



अमेरिकामा बिहे गर्ने उमेर

शनिवार |


अमेरिकामा बिहे गर्ने उमेर


कृष्णराज खनाल

संसारलाई कानुनी राज्य, प्रजातन्त्र र मानवाधिकारको पाठ पढाउँदै आएको अमेरिकामा बालविवाहको प्रचलन छ भन्दा धेरै मान्छेलाई अपत्यारिलो र आश्चर्य लाग्न सक्छ तर माइक र मेलिसाको विवाहबाट यसको पुष्टि हुन्छ । उनीहरू दुवै १६ वर्षका भए । दुई वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका यी दुवै अन्ततः वैवाहिक जीवनमा प्रवेश गरे । अमेरिकामा बालविवाह भयावह छ भन्ने कुरा प्रतिवर्ष करिब १४ हजार बालविवाह हुने गरेको तथ्याङ्कबाट पनि देखिन्छ । बालविवाह भन्नाले १८ वर्षभन्दा मुनिको उमेर समूहलाई इङ्गित गर्छ ।
तपाईंहरूलाई पत्यार नलाग्न सक्छ तर अमेरिकाका ४४ वटा राज्यमा अझै पनि बालविवाहलाई मान्यता दिने कानुनी व्यवस्था छ । संसारका अधिकांश राष्ट्रले १८ वर्षको उमेरलाई युवावस्थामा प्रवेश भनेर परिभाषा गरेका छन् र संयुक्त राष्ट्रसङ्घले पनि १८ भन्दा कम उमेर समूहलाई बालबालिका भनेर सम्बोधन गरेको छ । नेपालको कानुनी संहिताले पनि १८ वर्षलाई वयस्क र सोभन्दा कम उमेर समूहलाई बालबालिका मानेको छ । १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नु हानिकारक मात्र होइन, मानवाधिकारको ठाडो उल्लङ्घन पनि हो भनेर अधिकांश राष्ट्रले कानुनी व्याख्या गरेका छन् । कानुनी आधारलाई टेकेर होला, अमेरिकाका कानुनी परामर्शदाता र बाल अधिकारको वकालत गर्नेहरूले विवाहका लागि कम्तीमा पनि १८ वर्ष उमेर पुग्नुपर्छ भनेर आफ्नो धारणा राख्दै आएका छन् ।

अमेरिकाका छवटा राज्य डिलावेर, मिनिसोटा, न्युजर्सी, न्युयोर्क, रोडआइल्यान्ड र पेन्सिलभेनियामा १८ वर्षपछि मात्र विवाहयोग्य उमेर भनेर कानुनी व्यवस्था गरिएको छ तर कतिपय राज्य यस्ता छन्, जहाँ १४ वर्षकै उमेरमा पनि विवाह गर्न कानुनले बन्देज लगाएको छैन । अमेरिकाका ५० राज्यमध्ये अलास्का एउटा मात्र त्यस्तो राज्य हो, जहाँ अभिभावक वा न्यायाधीशको मञ्जुरीमा १४ वर्षको उमेरमै विवाह गर्न पाइन्छ । नर्थ क्यारोलिनामा पनि केही समयअघिसम्म यस किसिमको कानुनी व्यवस्था थियो तर करिब छ महिनाअघि मात्र विगतको कानुनलाई संशोधन गरी १६ वर्षको उमेरलाई विवाहका लागि योग्य बनाइयो ।

अमेरिकाका नौवटा राज्यले विवाहका लागि कति वर्षको उमेर परिपक्व हो वा कति वर्षको उमेरमा विवाह गर्न पाइन्छ भन्ने कुरा खुलाएका छैनन् तर तीनवटा राज्य मेरिल्यान्ड, हवाई र कन्सासले १५ वर्षको उमेरमा विवाह गर्न पाइने कानुनी व्यवस्था गरेको छ भने चारवटा राज्य क्यालिफोर्निया, ओक्लोहामा, वेस्ट भर्जिनिया र वोमिङ्गमा केटा वा केटीको उमेर न्यूनतम यति वर्ष हुनैपर्छ भन्ने कानुनी व्यवस्था गरेको छैन तथापि अभिभावकको अनुमतिले विवाह गर्न पाइन्छ भन्ने व्यवस्था गरेको छ ।

अमेरिकाका २२ वटा राज्यले १६ वर्ष र नौवटा राज्यले १७ वर्षलाई विवाहयोग्य उमेर भनेर कानुन बनाएको छ । अझ आश्चर्य लाग्ने कुरा त के हो भने म्यासाच्युसेट्स र न्युह्याम्पसायरमा अभिभावकको अनुमतिले केटाकेटीको उमेर क्रमशः १४ र १२ वर्षमै विवाह गर्न सकिने भनेर कानुनी व्यवस्था गरेको छ । नेव्रास्काबाहेक अरू सबै राज्यमा विवाहका लागि १८ वर्ष पुगेपछि अभिभावकको स्वीकृति लिनु नपर्ने कानुन छ । अचम्मको कुरा त के छ भने अमेरिकामा मतदानका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्छ भने विवाहका लागि कुनै उमेरको बन्देज छैन ।

सन् १८८० सम्म पनि अमेरिकाका लगभग सबै राज्यमा १० वा ११ वर्ष उमेरमै विवाह गर्ने चलन थियो । त्यसयता कतिपय राज्यले आआफ्नै किसिमको कानुनी व्यवस्था गरेर बालविवाहलाई पूर्णतः वर्जित गरेका छन् भने कतिपयले अझै त्यो व्यवस्थालाई हल्का रूपमा मात्र संशोधन गरेर कानुन निर्माण गरेका छन् । हाल अमेरिकामा विवाहका बारेमा गरिएको एक सर्वेक्षणमा भने अधिकांश केटा र केटीबीच सरदर ३२ वर्षको उमेरमा विवाह भएको देखाइएको छ तर एक तथ्याङ्कमा नौ प्रतिशत महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गरेको देखाइएको छ ।

अमेरिकाका केही राज्यमा विवाहका अरू पनि रोचक पक्ष छन् । अलास्का, अर्कान्सास र क्यालिफोर्नियामा आफ्नै दिदीबहिनी पनि विवाह गर्न पाइने कानुनी व्यवस्था गरिएको छ । यसलाई व्यक्तिगत स्वतन्त्रता भनेर कतिपयले व्याख्या गरेका छन् भने अलावामामा पहिलो भतिजसँग विवाह गर्न पाइन्छ । कतिपय राज्यमा केटा र केटीको विवाहको उमेर पनि मिल्दोजुल्दो हुनुपर्छ भनेर व्याख्या गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?