logo
२०८१ बैशाख २१ शुक्रवार



चिनियाँ साहित्यका साधक

शनिवार |


चिनियाँ साहित्यका साधक


डा. सर्वाेत्तम श्रेष्ठ

नेपालबारे चिनियाँ भाषामा लेखिएका पुस्तकको सङ्ख्या अति कम छ । प्रायः पर्यटकका लागि लेखिएका सामान्य परिचय र नेपालको भूगोल, इतिहाससम्बन्धी जानकारी दिने पुस्तक मात्र छन् । नेपाललाई माया गर्ने केही साहित्यकारले दुई/चारवटा नेपाली साहित्यिक कृतिको चिनियाँ भाषामा अनुवाद पनि गरेका छन् ।

त्यसो त ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक र साहित्यकारले स्वदेश फर्केपछि नियात्रा लेखेको पाइन्छ । कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका पाइन्छन् तर ती कृतिका रूपमा भने देखा परेका छैनन् । यही रिक्ततालाई हटाउने पहिलो कदम सन् २०१७ मा चिनियाँ साहित्यकार छाओ चियान्स्øिवन्ले थाल्नुभयो । उहाँ सन् २०१६ मा करिब एक महिना नेपाल बस्नुभयो । त्यस अवधिमा उहाँले नेपालका विभिन्न ठाउँ घुम्नु भयो । नेपालका साहित्यकार र विद्वान्सँग भेटघाट गर्नुभयो । यही यात्रा र भेटघाटमा आधारित भएर उहाँले नेपाल र नेपालीबारे निबन्ध सङ्ग्रह नै प्रकाशित गर्नुभयो । मलाई ज्ञात भएसम्म नेपाल र नेपालीबारे चिनियाँ भाषामा प्रकाशित भएको यो पहिलो साहित्यिक कृति हो ।

उहाँ सन् २०१६ मा नेपाल आउनुहुँदा ८० वर्षको हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य पनि राम्रो थिएन । उहाँलाई दुई पटक स–साना मस्तिष्कघात भइसकेको थियो । केही वर्षअघि मात्र ठूलो आन्द्राको क्यान्सर भएर शल्यक्रिया गरिएको थियो । उहाँले यात्राका क्रममा ह्विलचेयर प्रयोग गर्नुपरेको थियो । स्वास्थ्य धेरै राम्रो नभए पनि उहाँको स्मरणशक्ति र विचारशक्ति भने राम्रो थियो । उहाँ वास्तवमा नेपालमा पाँच/सात महिना नै बसेर नेपाल र नेपालीबारे राम्ररी बुझेर एउटा उपन्यास नै लेख्न चाहनुहुन्थ्यो तर उमेर र स्वास्थ्यका कारण उहाँ नेपालमा एक महिनाभन्दा लामो अवधि बस्न सक्नुभएन । नेपाल बसुञ्जेल उहाँले हरेक दिन केही न केही टिपोट गरिरहनुभयो । नेपालबाट स्वदेश फर्किने बेलामा उहाँले भन्नुभएको थियो, “उपन्यास लेख्नका लागि सामग्री जम्मा गर्न सकिनँ, फर्केर गएर एउटा निबन्ध सङ्ग्रह लेख्छु ।” उमेर र स्वास्थ्यका कारणले उहाँले योजना गर्नुभएजस्तो निबन्ध पनि लेख्न सक्नुहुन्न कि भन्ने पनि लागेको थियो । करिब छ महिनापछि ऊहान्मा उहाँलाई भेट्दा उहाँले उक्त निबन्ध सङ्ग्रह लेख्न प्रारम्भ गरिसकेको बताउनुभयो । त्यसको करिब आठ महिनापछि ऊहान्मा उहाँलाई पुनः भेट्दा प्रकाशित निबन्ध सङ्ग्रह नै मेरो हातमा रखिदिनुभयो । साथै उहाँले निबन्धहरूमा उल्लेख गर्नुभएका व्यक्तिलाई एक–एक प्रति उपहारस्वरूप दिन मलाई ३५ प्रति पुस्तकको जिम्मा पनि लगाउनुभयो ।

उहाँले आफ्नो निबन्ध सङ्ग्रहको नाम ‘सगरमाथाको दक्षिण भेगको भ्रमण ः नेपाल यात्राको अभिलेख’ राख्नुभएको छ । निबन्ध सङ्ग्रहको शीर्षक यस्तो भए पनि यो उहाँको यात्रा वृत्तान्त अथवा नियात्रा भने होइन । यसमा उहाँका १७ वटा निबन्ध सङ्ग्रहित छन् । ती निबन्धमा उहाँले नेपालका साधारण सेवकदेखि उच्च पदाधिकारीहरू, विद्यार्थीदेखि विद्वान्हरूका बारेमा नेपालीको चीनप्रतिको दृष्टिकोण एवं चिनियाँको नेपालप्रतिको अवधारणा आदि बारेमा लेख्नुभएको छ ।

ऊहान् सहर निवासी छाओ चियान्स्øिवन्ले चीनको राष्ट्रियस्तरको प्रथम श्रेणीका लेखकको पहिचान बनाउनुभएको छ । उहाँको साहित्य साधना ५० वर्षभन्दा बढी रहेको छ । साहित्यको यो यात्रामा उहाँले चारवटा उपन्यास, सयौँ कथा र आठ सयभन्दा बढी निबन्ध–प्रबन्ध लेख्नुभएको छ । उहाँका सङ्कलित साहित्यिक रचना आठ खण्डमा प्रकाशित छन् । आफ्नो उक्त सङ्कलित रचनाबाट दुई कथा, २० वटा निबन्ध, दुई रिपोर्टाज र केही कविता र अन्य रचना नेपाली भाषामा अनुवाद गरी नेपाली पाठकसमक्ष पु¥याउन उहाँले दिनुभएको थियो । उहाँले चयन गरी दिनुभएका साहित्यिक रचनाको मैले नेपाली भाषामा अनुवाद गरी ‘मन जब चराको गुँडबाट निस्केर उड्छ’ शीर्षकमा प्रकाशित गरेको थिएँ । उहाँ नेपाल आउनुभएको बेला काठमाडौँमा अरनिको समाजले आयोजना गरेको एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको थियो ।

नेपालसम्बन्धी निबन्ध सङ्ग्रह प्रकाशन गरिएको एक वर्ष नपुग्दै उहाँलाई तेस्रो पटक मस्तिष्काघात भयो । तेस्रो पटकको मस्तिष्काघातले उहाँलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि अशक्त बनाइदियो । उहाँको बोली बन्द भयो । आफ्नो दैनिक जीवन आफैँ व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुग्नुभयो । उहाँ अस्पतालमा हुनुहुँदा पनि म तीन पटक ऊहान्मा उहाँलाई हेर्न पुगेको थिएँ । वर्षौंसम्म अस्पतालमा राखेर उपचार गराउँदा पनि उहाँको अवस्थामा खासै सुधार आएन । सन् २०२२ जनवरी २२ का दिन उहाँको निधन भएको दुःखद समाचार उहाँकी छोरीले मलाई हालै सुनाउनुभयो । कोभिड–१९ को कारणले गत दुई वर्षदेखि मेरो उहाँसँग भेटघाट भएको थिएन ।

एक दीर्घ साहित्यसाधकका रूपमा उहाँले चिनियाँ साहित्यका लागि पु¥याउनुभएको योगदान अतुलनीय छ । आफ्ना साहित्यिक रचना नेपाली भाषामा अनुवाद गर्न प्रेरित गर्नुका साथै नेपाल र नेपालीबारे उहाँले निबन्ध सङ्ग्रह नै प्रकाशित गर्नुभयो । नेपाल–चीन साहित्यिक आदान–प्रदानमा उहाँले पु¥याउनुभएको यो कार्य स्मरणीय छ । उहाँले नेपाल र नेपाली समाजबारे चिनियाँ जनतालाई साहित्यिक कृतिको माध्यमबाट दिने खोजेको सन्देश भलै सानो भए पनि स्मरणीय छ । उहाँको यस कदमले चिनियाँ साहित्यकारलाई नेपालबारे थप कलम चलाउन प्रेरणा दिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?