logo
२०८१ जेष्ठ १२ शनिवार



उत्तराद्र्धको विषम परिचय

शनिवार |


उत्तराद्र्धको विषम परिचय


रमेश गोर्खाली

प्रत्येक मान्छेले अनिश्चित समयप्रवाहलाई बेहोर्नु परेको स्थिति छ । अज्ञात किसिमले कतिपयको सापेक्षता र सन्दर्भ चिप्लिरहेको तथा ‘केही गरौँ वा केही ठम्याऔँ’को मानवीय चेष्टा दिशाहीनझैँ बन्दा मन र मथिङ्गल आन्दोलित हुनु स्वाभाविक हो । समाज, समुदाय र राज्यको स्वरूपले मात्र नपुग्ने रहेछ मान्छेलाई । पद्धति (सिष्टम) सँगै थुप्रैको नसप्रिएको प्रवृत्ति (टेन्डेन्सी) त्यति नबदलिएकाले बहुपक्षीय सन्दर्भमा यस्तो अवधारणा प्रादुर्भूत भएको हो । एकथरि विवेकशील सोच्छन् र ठान्छन्–

‘परिवर्तनसँगै सबै कुरा ठिक भइसक्यो । सङ्क्षेपतः सामाजिक न्यायको भूमिका विश्लेषण गर्दा त्यो त्यति विश्वसनीय र सशक्त हुन सकेको लाग्दैन ।’ वर्गीय व्यवहारलाई निरुपण गर्दा एक जमातको वर्चस्व र उन्माद मात्र वृद्धि भएको लाग्छ कतिपयलाई । ध्रुवीकृत उपकेन्द्रहरूको लगातार बढोत्तरी हुनुमा कतिपयको दूषित मानसिकता कारक रहेको यथार्थ हो । समयान्तरालमा थुप्रै मान्छे महìवाकाङ्क्षाको धापमा परेको पाइन्छ । नागरिक जीवनलाई समस्या होइन, स्थायी समाधान प्राप्त होस् भन्ने राज्यीय समुद्देश्य रहन्छ ।

वस्तुतः ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’को ‘पारिस्थितिकी’ विकसित गर्न र गराउन केही खलनायक सदैव संलिप्त पाइन्छन् । यस्ता कुटिल सोचका व्यक्तिहरूसित वस्तुगत व्यवहार गर्नुपर्दा कहिलेकाहीँ मेरो हृदय आन्दोलित हुने गर्छ । अन्यायको बोधलाई ठम्याइ अगाडि बढ्नु आवश्यक छ सचेतलाई । यसरी कुटिलताका संवाहकलाई चिन्दै र चिर्दै अग्रदिशा पहिल्याउनु आवश्यक छ थुप्रैलाई । अन्यथा पद्धतिगत उज्यालो र गन्तव्य धमिलिन सक्छ । बुझक्कडले अनिश्चित दिशालाई त्यागेर विलयभन्दा उदयको सन्दर्भलाई सङ्गेट्नु जरुरी छ । यसर्थ ठूल्ठूला स्वप्नविम्बहरूमा नअलमलिई निश्चितताको वस्तुतथ्य र सूचकाङ्क पहिल्याऔँ हामीले । प्रौढतासँगै सामाजिक परिधिमा कतिपय खुसीका साथै विविध दुविधा बढ्नु स्वाभाविक हो । ‘शूल र फूल’ समानान्तरमा रहेको यथार्थलाई बुझ्न भ्याउँदा खुसीको वसन्त पहिल्याउन मिल्ने रहेछ । नियतिग्रस्त उत्तराद्र्ध कसैले जीवनमा देख्नु नपरोस्, यस्तो भाव प्रत्येक सजग मान्छेमा हुर्किनु पर्छ । पूर्ववर्ती त्रुटिहरूलाई छाम्न मिल्ने गम्भीर अवस्था हो मानवीय उत्तराद्र्ध । चौबाटोको दुविधा पन्छाइ आवश्यक आत्मदर्शनलाई पर्गेल्दा मान्छेको समष्टिपरक भलो हुन पुग्दछ ।

सामाजिक परिवेशमा केही मान्छे राम्रा छन् तर ती मुस्किलले चिन्न पाइन्छ । आरोह र अवरोह सूचक सामयिक सङ्क्रमणलाई बुझेर बाधा एवं व्यवधान पन्छाउँदै प्रत्येकले कर्मयोद्धा बन्न प्रवृत्त हुनुपर्छ । पूर्वाद्र्धलाई सम्झेर मान्छेले यथार्थिक उत्तराद्र्धमा कल्पिनु बेठिक हो । आयुर्दापरक नवपरिस्थिति र पुस्तान्तरणको व्यवहारवृत्तिलाई सचेतले ठम्याउनु पर्छ । खेलशास्त्रको दौडविधा (एथलेटिक्स)का समन्वयकर्ताले दायाँ र बायाँ गोडाको सन्तुलनलाई बुझेको हुनुपर्छ अन्यथा प्रतियोगी पराजित हुने भएझैँ मान्छेले व्यावहारिक जीवनमा समन्वय र नियन्त्रणको कस्तो भूमिका छ त्यसलाई परिक्षेय ठान्नुपर्छ । पुस्तान्तरणको वस्तुगत सन्दर्भ र त्यसको प्रभावलाई प्रत्येकले चिन्नु आवश्यक देखिन्छ ।

पूर्वाद्र्ध जतिसुकै सरस एवं स्वाभाविक भए पनि तदुपरान्तको व्यावहारिक दिनचर्या अभिशापग्रस्त बन्नु बेठिक मान्नु पर्छ । विषमीकृत परिस्थितिमा जटिलता मात्र नभई विशेषीकरणको सौन्दर्य पनि हुने विस्मृत गर्नु हुँदैन । सफलता र सम्भावनाका कतिपय एकाइ हुने प्रसङ्गलाई स्मरणीय ठान्नुपर्छ । समीकरणहरूको चुरो पक्रेर पूर्वानुमानलाई सङ्गेट्न सक्दा गन्तव्य नजिकिने यथार्थ हामीले नभुलौँ । परिवेशको परिधीय र भविष्यसूचक मनोविज्ञानलाई अध्ययन गर्न सक्दा चरम दुरवस्था अन्त्य हुने र सुखद आगत झुल्किने बिन्दुलाई प्रत्यक्षदर्शीका रूपमा हामीले समाकलन गरौँ । त्यसैमा सफलताका असङ्ख्य र अनगिन्ती सङ्केत छन् । वार्धक्य पीडा उत्तराद्र्धकालीन जीवनको तीखो काँडो भए पनि सहकार्य र सत्सङ्गको निरन्तर प्रबलीकरण गर्न कोही पछि पर्नु हुँदैन । कर्मवीरको रूपमा कालगत जीवनचर्याको परिचय यथावत रहनु पर्छ ।

वस्तुगत रूपमा प्रमुख विषयमा प्रविष्ट हुँदा मेरा आफ्नै निजात्मक समयानुभूति र एक समयको परिस्थिति यस्ता रहे । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरका बुद्धिवेत्ता देव प्र. श्रेष्ठको ‘पुस्तक गृह’मा संवत् २०५० दशकको वर्षाऋतुताका एक जना भद्र्रपुरुषसित मेरो पुनर्परिचय भयो । थुप्रै आफन्तको बसोबासका कारण मेरो हेटौँडा नगरमा आउजाउ भइरहन्थ्यो । सम्बद्ध व्यक्तित्वलाई मैले काठमाडौँको नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्यिक कार्यक्रम र भेलामा एकदुईपल्ट भेटिसकेको थिएँ ।

प्रशासनविद् भए पनि भद्रपुरुषमा आधुनिक नेपाली भाषा र साहित्यप्रति असीम अनुराग भेटिन्थ्यो परिचयताका । समयान्तरालमा म आफ्नो गृहजिल्ला पर्साको वीरगन्ज महानगरमा फर्कें । राजधानी काठमाडौँको मरुटोलमा संवत् २००९ को मङ्सिरमा जन्म भए पनि मेरा व्यावसायिक पूर्वज चितवन, मकवानपुर, बारा, रौतहट र पर्सामा व्यापार तथा उद्यमका माध्यमले सेवारत रहेका हुन् अर्थात् कर्मशील रहे । मानव्यगोत्री मल्लवंशज हुन–कालान्तरको गोर्खाली परिवार । काठमाडौँको हाँडीगाउँ (हरिग्राम) स्थित मानेश्वरीमाई यिनका कुलदेवी हुन् । मुख्यतः एक समय मकवानपुरको हेटौँडा नगरमा रहेका गोर्खाली परिवार समयक्रममा मकवानपुर आसपास जिल्लालगायत अन्य थातथलोमा फैलिएका हुन् ।

भक्तपुर निकटस्थ साँगाबाट ठाउँ सरेका साहु सिद्धिमान गोर्खालीका पुत्रत्रय सर्वश्री माधव लाल, न्हुछे लाल र सिद्धिलाल गोर्खाली हुन् । यी गोर्खाली बन्धुत्रयले समयक्रममा आ–आफ्नै किसिमले मकवानपुर जिल्लासहित वरिपरिको परिवेशलाई निजात्मक कर्मशील सचेतनाले प्रभावित तुल्याएको पाइन्छ । साहु तथा समाजसेवी माधवलाल गोर्खालीबाट सात जना पुत्र र एउटी पुत्रीको जन्म हुन पुग्यो । मेरा पिताजी सुन्दरबहादुर गोर्खाली पाँचौँ पुत्र हुन् । उहाँले आर्थिक दृष्टिले वीरगन्जमा मौलिक किसिमको व्यक्तित्व बनाउनु भयो ।

मेरो जेठाबा व्यवसायी तथा उद्यमी डबलशङ्कर गोर्खाली एकताका हेटौँडाका प्रतिष्ठित व्यक्तित्व एवं नगरसेठतुल्य गण्यमान्य रहेका हुन् । मकवानपुर जिल्लाको गौरवशाली उच्च शैक्षिक स्ांस्था मकवानपुर बहुमुखी क्याम्पसको प्रारम्भिक समुद्घाटन संवत् २०३७ को माघ १९ गते यिनै मान्यवरको करकमलबाट सुसम्पन्न भएको हो । यस संस्थाले चारदशक भन्दा लामो समयावधि बिताइसकेको छ । संवत् २०८६ मा यस संस्थाले गौरवशाली स्वर्ण वर्ष (गोल्डेन जुबली) मनाउने देखिन्छ । व्यवसायी तथा उद्यमी डबलशङ्कर गोर्खाली मकवानपुरको हेटौँडानगरको विविध क्षेत्रका एक जना ‘विकास अभियन्ता’ समेत रहेका हुन् ।

सौभाग्यवशातः संवत् २०५० को भदौ मासको एकदिन वीरगन्जस्थित घरमा मलाई प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेको फोन आयो– ‘रमेशजी एकपल्ट हेटौँडानगर आउनु प¥यो, जरुरी छ । यस्तै सन्देश सोही दिन मकवानपुर बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षाविद् बद्रीनाथ शर्माको प्राप्त भयो । मकवानपुर जिल्लाको परिवेश प्रारम्भदेखि गोर्खाली परिवारको कर्मथलो रहिआएको हो । हेटौँडानगरका अन्य केहीझैँ संस्थापक परिवारको श्रेय पनि यस परिवारलाई प्राप्त छ । भीमफेदी, भैँसेबजार र हेटौँडा सम्बद्धको विशेष कर्मथलो रह्यो । आख्यानवेत्ता, राजनीतिज्ञ एवं पूर्वमन्त्री खड्गबहादुर सिंहको उपन्यास विद्रोह (प्रथम, संवत् २०११ र दोस्रो भाग, संवत् २०१३) को प्रकाशन मेरा काका रामजीलाल गोर्खालीबाट भएको हो । आधुनिक नेपाली आख्यान साहित्यको इतिहासमा मकवानपुर जिल्लाबाट प्रकाशित प्रारम्भिक दुई औपन्यासिक कृति यिनै हुन् ।

निजात्मक वृत्तान्त अलि लम्बिन पुग्यो जस्तो लाग्यो । हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसमा लामो र प्रक्रियागत अन्तर्वार्तापश्चात् म र मेरा मित्र सत्यनारायण कालिका राजनीतिशास्त्र विषयको प्राध्यापनका लागि छानियौँ । उपप्राध्यापकको पदोन्नति खाँदै झन्डै एक दशक म हेटौँडाको उक्त क्याम्पसमा रहेँ । स्रष्टात्रय साम्ब ढकाल, आर.आर.चौलागाई र रामचन्द्र आचार्य फुर्सतीसित यिनै कालखण्डमा मेरो आत्मीयता एवं सद्भाव बढेको हो । झन्डै एक दशकको सेवावधिपश्चात् पुनः म वीरगन्ज फर्किएँ ।

आधुनिक नेपाली आख्यानकारितामा सर्जक बाबुराम लामिछानेको विशिष्ट स्थान रहेको भेटिन्छ । विशेषतः यिनी प्रतिनिधि विधावीर आख्यानवेत्ता बनेकोमा मलाई औधी खुसी लाग्ने गर्दछ । प्रसिद्ध गजलशास्त्री तथा गजलमाली ज्ञानुवाकार पौडेलले बाबुराम लामिछानेलाई सशक्त कविसमेत ठहराएकोमा मलाई हार्दिक प्रसन्नता लागेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट संवत् २०७२ मा प्रकाशित प्रज्ञा आधुनिक नेपाली कथा, भाग–३’मा यिनको विशिष्ट रचना ‘एक टुक्रा वर्तमान’ समाहित छ । जसमा नायिका आवृत्ति र समाख्याताको सम्प्रेरक उपाख्यानले जीवनको थुप्रै कुरा खुल्न पुग्दछ । समयोत्तरमा क्षेत्राधीश वा क्षेत्रीय प्रशासक बनेका आख्यानवेत्ता प्रशासकले तत्कालीन नारायणी अञ्चलको पाँचवटै जिल्लामा प्रमुख जिल्ला आधिकारीका रूपमा सेवा गरेको पाइन्छ । न–रो–ध को रूपमा सुपरिचित प्रा. नगेन्द्रराज शर्मा, सुशील विधावेत्ता रोचक घिमिरे र आख्यान पुरुष धु्रवचन्द्र गौतम जस्ता ठूल्बडा यथार्थतः आधुनिक नेपाली भाषा र साहित्यका निर्विवाद महापुरुष हुन् । यी प्राज्ञिक महारथीहरूले म हेटौँडामा छँदा लक्ष्मीनिवासको डेरामा मलाई भेटेर समयसमयमा स्नेह र सद्भाव प्रकट गरेको म सम्झिने गर्छु । विशेषतया हेटौँडानगरको मकवानपुरको जिल्ला प्रशासन कार्यालय निकटस्थ होटेल शान्तिमा मैले १३ रुपियाँमा एकछाक खाना खाने गर्दथेँ । श्रद्धेय नगेन्द्रदाइ र उनका नाति प्राञ्जलराज घिमिरेले हेटौँडा आउँदा त्यही होटेलमा खानु भएको स्मरण हुन्छ ।

नगेन्द्रदाइले उक्त होटेललाई अनायास गान्धीवादी भोजनालय ठहराउनु भएको मलाई हेक्का हुन्छ । समयान्तरमा आधुनिक नेपाली निबन्ध साहित्यका यशस्वी व्यक्तित्व कमल दीक्षित (दादा)को असीम सदभावले संवत् २०६२ को भदौदेखि संवत् २०७२ को मध्यावस्थासम्म ललितपुर महानगरको पाटन संयुक्त क्याम्पसमा मैले करार प्राध्यापकका रूपमा राजनीतिशास्त्र पढाएँ । यी पङ्क्तिका लेखकलाई राजनीतिशास्त्र, साहित्यशास्त्र र खेलशास्त्र (गेम साइन्स) प्रति बाल्यकालदेखि अत्यधिक चासो, जिज्ञासा र हार्दिक अनुराग रहिरह्यो । यिनै विषयवस्तुको बैठान र उठानमा विशेष अभिरुचि राखी अहिले मेरो अवकाश प्राप्त जिन्दगानी बितिरहेको छ तथा यो क्रम कति समय लम्बिने हो त्यो म यसै भन्न नसकिने स्थितिमा छु । उत्तराद्र्धको समयक्रम मानवीय जीवनको एक प्रकारले स्वाभाविक मध्याह्न हो । धेरथोर आर्थिक बेमेलले असन्तुलित रूपमा मेरो जिन्दगी गतिशील छ तथा यो कुन रूपमा अग्रसर हुँदै गर्ला त्यो प्रतीक्षाधीन छ । उत्तराद्र्ध जीवनको चुनौती र विषमताले मजस्ता थुप्रै नागरिक प्रपीडित लाग्दछ स्वदेशमा । वर्गीय दृष्टिले राष्ट्रिय परिवेशमा एउटा स्वाभाविक सन्तुलन र सामाजिक प्रभाव प्रतिविम्बित होस् भन्ने थुप्रैको सदीक्षा रहेको स्थिति फेला गर्दछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?