सनतकुमार आचार्य
को बुन्दो हो ? नवरङहरू बाटिका देखिँदा छन्
को सुन्ला खै ? मिरमिर कहीँ भावना पोखिँदा छन् ।
देखेँ मैले दिन दिन नयाँ सिर्जना क्यै चल्यो कि ?
नेपालीको दिलदिल यहाँ ज्योति आजै खुल्यो कि ?
प्रातःकालै पलपल मिठो सोध्छ को हो ? चराले ?
आफ्नो आफ्नो परिचय दिँदै हिँड भन्दो छु मैले
बुट्टा पारी हृदयतलमा प्राणको पङ्खजस्तो
खुट्टा टेकी गगनपथमा पालुवा हिँड्छ कस्तो !
हासिन् धर्ती तरु वन लता कुञ्जमा कुञ्ज पारी
त्यै कुञ्जैमा बसीकन मिठो प्रीत पक्षी फिजारी
रङ्गीचङ्गी मधुपवनमा रम्न थाले गुराँस
यै बेलामा परपर सबै भाग्न थालै उराठ ।
बोकी आयो मनभरि नयाँ हर्षको याम जस्तो
आफ्नै आँखा रहर रसिलो वैँसको वास सस्तो
आयो आयो मधुर रसमा चैत–वैशाख आयो
नेपालीको सरस ममता प्रेम पैलो उदायो ।