logo
२०८१ बैशाख २२ शनिवार



वासन्तीसितको पिरती (कविता)

शनिवार |


वासन्तीसितको पिरती (कविता)


डा. बमबहादुर थापा ‘जिताली’

आनन्द साथ कवितामय सूक्ति पाएँ
न्यानो छ आँत कविको र–त जुक्ति पाएँ ।
आयो वसन्त तिलका लय, छन्द, ताल
छायो अनन्त दिलमा कविता कमाल ।।

आँखा जुधे पवनमा वनको हुरीझैँ
भाका खुले रहरका स्वर–मा–धुरीझैँ ।
बन्दै गए सरसतासित चारु छन्द
मायालु आज कविता लयमा बुलन्द ।।

आस्वाद लिन्छु म यही कविता–कलाको
माधुर्यपूर्ण रसिलो, सुरिलो गलाको ।
आयो परिस्थिति अनेक बनी तरङ्ग
सानन्दमा प्रकृतिको छवि अन्तरङ्ग ।।

भर्दैछु भाव–गरिमा नव पालुवामा
सङ्गीत कल्कल बज्यो ध्वनि बालुवामा ।
फक्र्यो जतातिर उतै कविता म देख्छु
सौन्दर्यमा कविकला, विकला म लेख्छु ।।

आलोकमा छ कविता, विपना बुलन्द
वीणा बजेर मनको स्वर–ताल छन्द ।
आयो नवीन युगको युवती प्रसङ्ग
छायो उमङ्ग कविता मुरली तरङ्ग ।।

श्रीपञ्चमी लहरमा जब गीत गाएँ
प्यारो वसन्त–ऋतुमा तब मीत लाएँ ।
मैले बिहान–पखमा नव ज्योति पाएँ
ऐले वसन्ततिकलकासित प्रीति लाएँ ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?