logo
२०८१ मंसिर ६ बिहीवार



वसन्त–साहित्य

शनिवार |


वसन्त–साहित्य


नगेन्द्रराज रेग्मी

ऋतुहरू अर्थात् मौसमले प्रकृतिमा परिवर्तनको अनुभूति दिन्छन् । प्रकृतिअनुसार पृथ्वीको पूर्वी गोलार्धमा वर्ष दिनभित्र छवटा ऋतुहरू (मौसम) आलोपालो आउने गर्छन्– वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर । यीमध्ये वसन्तलाई ऋतुहरूको राजा (ऋतुराज) मानिएको छ । यी छ ऋतुहरूमध्ये चैत–वैशाख दुई महिनामा पर्ने वसन्त ऋतुलाई हामीहरूले अहिले स्वागत गरिरहेका छौँ ।

वसन्तलाई ऋतुहरूको राजा भन्नुका पछाडि विभिन्न कारण छन् । हाम्रो संस्कृतिअनुसार यो ऋतु लागेपछि विभिन्न मङ्गलकार्यको प्रारम्भ हुन्छ । हिउँदे बालीनाली भिœयाइएपछिको रमाइलो वातावरण, आँपको मुजुराको सुगन्ध, कोइलीको कुहुँकुहँ, तराईको निकट भूभागमा चल्ने मलयाचलको शीतल सुगन्धित हावा, फक्रिएका पूmलहरूका कारण चित्ताकर्षक मनोरम परिवेश यो ऋतुका विशेषता हुन् । यति सुरम्य र मनमोहक वातावरण अरू कुनै ऋतुमा पनि हुँदैन । जाडोको झन्डै चार महिना लामो कहरपछि वसन्त ऋतु आउँछ । कोइली र आँपका मुजुराले वसन्तऋतु आएको जनाउ दिन्छन्, त्यसैले यिनलाई ‘वसन्तदूत’ भनिएको छ ।

वसन्तलाई कामदेवको पुत्र मानिएको छ । कामदेव अर्थात् कामवासनाका उद्दीपक देवता ! कामको अर्थ विभिन्न छन्– इच्छा, चाहना, लालसा, यौन आदि । हाम्रा धार्मिक मान्यताहरूमा काम अर्थात् अभीष्ट चाहनाको प्राप्तिलाई चारवटा पुरुषार्थमध्ये एक मानिएको छ । र कविहरूले वसन्त ऋतुलाई ‘काम’ पुरुषार्थसँग जोडेर वर्णन गरेको पाइन्छ । कवि साहित्यकारहरूको अत्यन्त प्रिय ऋतु हो– वसन्त । राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो भाव पनि सायद यसैको उपज हो–

आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो ।

‘वसन्त’ शब्दका विभिन्न अर्थ छन् । सङ्गीतका छ रागमध्येको एक, सङ्गीतको एक ताल, फूलको गुच्छा आदि जस्ता विविध अर्थ यसले बोकेको छ । उजाड, मलिनो, नरमाइलो, खङ्ग्रङ्ग र निर्जीव धर्तीलाई मनोहर, हराभरा र चित्ताकर्षक बनाउन वसन्तऋतुले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । समस्त बोटबिरुवा, लता, वृक्षहरूमा नयाँ जीवन भर्दै सम्पूर्ण प्राणीहरूलाई मधुमय बनाएर मृतसञ्जीवनी प्रदान गर्छ, वसन्तऋतुले ।

छैन शीत शरदी अघि जस्तो
लागदैन गरमी पनि उस्तो ।
मध्यम स्थिति लिएर वसन्त
लोकलाई सुख दिन्छ अनन्त ।।
–कवि शिरोमणि लेखनाथ पौड्याल

यस समय सर्वत्र उल्लास र हर्षको अनुभूति हुने गर्छ । सायद त्यसैले हो कि वसन्तका बारेमा कविता नलेख्ने कवि, गीत नगाउने गायक, नसुसेल्ने युवक, नबोल्ने पक्षी र नफुल्ने फूल वा फलको के काम ? भनेर यो ऋतुको महत्ता अझ थप्ने गरिन्छ । ‘वसन्तकोकिल’ शीर्षक कवितामा कवि शिरोमणि वसन्तको विशेषताको बयान यसरी गर्नुहुन्छ–

चुच्चो ठड्याइकन चट्ट मञ्जरी, ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर, प्रसन्नतासाथ लतारी पुच्छर ।।
(‘वसन्तकोकिल’, साझा कविता, २०४३, पृ. ६३)

भनिन्छ, वसन्त ऋतुमा उस्तै उस्तै देखिने काग र कोइलीको भेद पनि खुल्छ रे स्वरको माध्यमबाट । कोइलीको मिठो स्वर यही ऋतुमा घनीभूत भएर आउने हुँदा कागको आवाज सबै सामु उदाङ्गिने मौका मिलेको हुन्छ । आफूसँगसँगै वसन्तपञ्चमी, शिवरात्रि, नववर्ष, फागुपूर्णिमा, रामनवमी, बुद्धजयन्ती, हनुमान् जयन्ती, मातातीर्थ औँसीजस्ता चाडपर्वलाई अघिपछि लगाएर आउने यस ऋतुको आफ्नै विशेषता र महìव रहिआएको छ । औपचारिक रूपमा वसन्त ऋतु भन्नाले चैत र वैशाख दुई महिना मानिए पनि हामीकहाँ वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको दिनबाट वसन्त ऋतु प्रारम्भ भएको मानिन्छ । वसन्तपञ्चमीमा राष्ट्रप्रमुख हनुमान्ढोकामा गएर कवि जयदेवलिखित ‘गीतगोविन्द’ महाकाव्यको कुनै अंशको श्रवण गर्ने चलन छ । यो सन्दर्भले पनि कविता र वसन्त ऋतुबीचको सम्बन्धको स्मरण गराउँछ ।

‘जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि’ भनेझैँ यस्तो मनोहारी ऋतुका बारेमा स्रष्टा/सर्जकहरूका भावना र कलम नपुग्ने कुरै भएन । अतः वसन्तमाथि सयौँ सर्जकले अनेकौँ कालजयी रचनाहरू सिर्जना गरेका छन्, खोज–अध्ययन र अनुसन्धानहरू भएका छन् ।
कालिदासजस्ता पूर्वीय वाङ्मयका विशिष्ट कविले समेत यसको मनमोहकतालाई आफ्नो कलमी शिल्पी टुँडाले कुद्न भुलेनन् । ऋतुसंहार काव्यको षष्ठ सर्गको दोस्रो श्लोकमा उहाँ लेख्नुहुन्छ–
द्रुमाः सपुष्पाः सलिलं सपद्मं स्त्रियः सकामाः पवनः सुगन्धिः ।
सुखाः प्रदोषा दिवसाश्च रम्याः सर्वं प्रियं चारुतरं वसन्ते ।


रुखहरू फुलेका छन्, पानी कमलहरूले भरिएको छ, स्त्रीहरू कामातुर छन्, हावा सुगन्धले भरिएको छ, साँझहरू रमाइला र दिनहरू मनोहर छन् । त्यसैले हे प्रिये ! वसन्तमा सबै वस्तु ज्यादै सुन्दर छन् । यसरी वसन्तको विशाल आकारलाई समेटेर आफ्नो हत्केलामा चम्काउनु भएको छ, काव्यकोकिल कालिदासले । उहाँलाई ईश्वरीय वरदानप्राप्त काव्यशक्ति भएका कविप्रतिभा मानिन्छ । उहाँ रसवादी भावुक कवि हुनुहुन्छ ।

वसन्त ऋतुको सम्बन्ध शृङ्गार–रससँग छ । मानवलाई ज्यादै आनन्द दिने उत्कृष्ट रस शृङ्गार नै हो । शृङ्गारप्रधान काव्यमा प्रधानरूपमा माधुर्यगुण विद्यमान रहन्छ । कालिदास साहित्यमा वसन्तका रूपमा उदाएका छन् भने उहाँ वसन्त वृन्दावनभित्र मुरली बजाउँदै हिँड्नु भएको छ । कालिदासले आफ्नो ‘ऋतुसंहारम्’ नामक कृतिको छँैटौँ सर्गमा पनि यस्तै भावहरू छताछुल्ल पार्दै भन्नु भएको छ– ‘वसन्तमा आँपमा नयाँ पालुवा लाग्नेछन् । जीवनका हरेक पल समुन्नत हुनेछन् । कामिनी वा नारीहरूको जीवनमा कामदेवले प्रवेश गर्नेछ । पृथ्वी घाँस तृणद्वारा सम्पन्न हुनेछ । जताततै हरियालीले स्वागत गर्नेछ ।’ कालिदास मात्र किन ? हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि लक्ष्मी कविता सङ्ग्रहमा ‘वसन्त’ शीर्षकमै यस्तो रचना सिर्जना गर्नुभएका छ–

क्या ऋतु आयो,
इन्द्रेनी शश पागल !
मौरी गुनगुन खग चञ्चल !
स्नायु चपल औ मुटु खलबल !

हुन पनि कवि शृङ्गारभावले परिपूर्ण छ भने उसलाई सम्पूर्ण जगत् रसिलो प्रतीत हुन्छ । त्यसैगरी कवि वैरागी छ भने संसार निरस प्रतीत हुन्छ । वसन्तका बारेमा ‘पिकदूत’ मा शृङ्गारिक कवि मोतीराम भट्ट लेख्नुहुन्छ–

आयो हेर वसन्त पक्षि तँ त छस् साक्षी यती भन्दियेस् ।
आफ्नै हुन् अहवाल् भनेर तइँले सुन्दा खुपैमन् दियेस् ।।
ती नै हुन् भ्रमरा कती कति उडी फुल्माथि आई झुले ।
हाम्रै यो भ्रमरा निठुर् हुनगयी फुल छाडि काहाँ भुले ।।
यसैगरी प्रकृति चित्रणमा पारङ्गत युगकवि सिद्धिचरण श्रेष्ठ वसन्त शीर्षकमै यस्तो भावना व्यक्त गर्नुहुन्छ–

सुन्दर हे ऋतुराज वसन्त,
शैशिरको स्थिति भो अब अन्त,
बालखकाल फिरीकन आयो,
निश्चय के, कि वसन्त उदायो ।
(नेपाली कविता सङ्ग्रह भाग २)
श्रीमद्भगवद् गीतामा भगवान् श्रीकृष्णले आफ्ना सर्वश्रेष्ठ विभूतिहरूको वर्णन गर्ने क्रममा अर्जुनसँग ‘म ऋतुहरूमा वसन्त हुँ’ भन्नुभएको छ–

बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।
मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकरः ।। (श्रीमद्भगवद्गीता, १०÷३५)
यसबाट पनि वसन्त ऋतुको उच्च र उत्कृष्ट महिमा थाहा हुन्छ । यसैकारण ‘ऋतुविचार’ खण्डकाव्यमा कवि शिरोमणि लेखनाथ पौड्यालले यस्तो उद्गार पोख्नुभएको छ–

हिमालमा गयो जाडो लोक सानन्द देखियो ।
उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो ।
त्यसैगरी आशुकवि शम्भुप्रसाद ढुङ्गेलले पनि वसन्तका बारेमा यस्ता भावनाहरू पोख्नुभएको पाइन्छ–
आँधीलाई चलाई अलि अलि अहिले
आउँदो भो वसन्त
झोँक्का ख्वाई उठायो घन गगनमहाँ
गर्जी गर्जी अनन्त ।।
सारा भो बन्द खिड्की चमचम बिजुली
चम्किचम्की करायो
प्यारी टाढा हुनाले थररर मन भै
आज मेरो डरायो ।।१।।
(नेपाली कविता सङ्ग्रह भाग १) ।

प्रस्तुत कवितामा विप्रलम्भ शृङ्गारको वर्णन छ । साँच्चै नै, वियोगीहरूका लागि वसन्त ऋतु पनि पीडादायक नै हुन्छ । वास्तवमा हेरी ल्याउँदा कुनै पनि ऋतु वा समय आफैँमा केही होइन । मन उल्लासपूर्ण छ भने सधैँ वसन्त हुन्छ र मन खिन्न छ भने वसन्तले पनि कुनै रमाइलो अनुभव गराउन सक्दैन । त्यसैले कवि मित्रलाल पंज्ञानी लेख्नुहुन्छ–
शिशिरको सिख्रो रुख वसन्तमा झम्म ।
दुःख पनि सुखै हुन्छ आस्था रहेसम्म ।।
प्रकृतिले मौसममा परिवर्तन गरेर सुन्दर र मनोहारी वसन्त ल्याएजस्तै हामी पनि हाम्रा मनमस्तिष्कका खराब विचार र क्रियाकलापहरू त्यागेर समस्त प्राणीहरूमा आपसी सद्भाव र मित्रता प्रदान गर्दै वसन्तवहार बाँड्न सकौँ, हार्दिक शुभकामना । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?