logo
२०८१ मंसिर ६ बिहीवार



हिमालका नाम

शनिवार |


हिमालका नाम


निनाम लोवात्ती

नेपालका केही हिमालका नाम विदेशी भाषामा छन् । विदेशी भाषाका पनि धेरै त अङ्ग्रेजी नै छन् । अङ्ग्रेजीबाहेक फ्रेन्च, जापानी, तिब्बतीलगायत भाषामा पनि नेपालका हिमालका नाम छन् ।
विश्वकै अग्लो शिखर सगरमाथालाई यसको दक्षिणतर्पm बस्दै आएका कुलुङ, शेर्पा, तामाङ आदि र उत्तरतर्पmका तिब्बतीहरूले ‘चोमोलुङमा’ भन्छन् । आजभोलि यसलाई ‘माउन्ट एभरेस्ट’ नामले बढी चिनिन्छ । यस्तै, नेपालको पूर्वी भेगमा रहेको कञ्चनजङ्घा हिमशृङ्खलास्थित ‘किरात चुली’लाई ‘टेन्ट पिक’ भन्ने गरिन्छ । कञ्चनजङ्घा हिमाललाई लिम्बुले ‘सेन्छेलुङ/सेवालुङ’ भन्छन् । त्यस्तै कुम्भकर्णलाई लिम्बुले ‘फक्ताङलुङ’ भन्छन् । स्मरणीय छ, यो हिमाललाई लिम्बु र किरातीले आफ्नो आराध्यदेवको रूपमा पनि पुज्ने गर्छन् तर अधिकांश विदेशीले भने यस हिमाललाई ‘जान्नु माउन्टेन’ भनेर चिन्छन् ।

त्यस्तै मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भनी पुकार्छन् । सगरमाथा क्षेत्रमा पनि केही हिमालको नाम विदेशी भाषामा छन् । जस्तो कि, आइल्यान्ड पिक, पिक–२९ आदि । उता लाङटाङ र अन्नपूर्ण हिमाली क्षेत्रमा पनि विदेशी भाषामा नाम रहेका हिमाल छन् । लाङटाङमा एउटा हिमालको नाम जापानी पर्वतारोहीको नाममा ‘मोरीमोतो’ राखिएको छ भने अर्को उर्कीमाको नाम स्काउटका जन्मदाताको नाममा ‘बाडेन पावेल’ राखिएको छ । त्यस्तै अन्नपूर्ण हिमालमा टेन्ट पिक, फ्ल्युटेड पिक, डोम ब्लँ, फिसटेल, नामका हिमाल छन् । उता गणेश हिमाल क्षेत्रमा पनि पावेल÷पाविल नाम दिइएको अर्को एक हिमाल छ ।

स्वीटजरल्यान्डमा गोर्खा चुली !
माथि केही नेपाली हिमालका विदेशी नामहरूका सम्बन्धमा छोटो जानकारी दिइयो । अब विदेशमा नेपाली जाति र नेपाली भाषामा रहेका हिमाल चाहिँ छन् कि छैनन् त ? यसबारेमा केही चर्चा गरौँ । पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा नेपालीहरू खास गरी मगर, गुरुङ, लिम्बू, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, जेरो (यिनीहरुलाई हाल राई भनिन्छ) लगायत किरातीहरूले देखाएको निडरता एवं बहादुरीले गर्दा विश्वभरि नै ‘नेपाली भन्नेबित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो तर अहिले आएर ‘गुर्खा’ वा ‘गोर्खा’ भन्नाले मगर, गुरुङ, लिम्बू, याक्खा, आठपहरिया, बान्तवा, कुलुङ, बाहिङ, जेरोलगायतलाई मात्रै नभई सबैलाई चिनिन्छ ।

सन् १९१४–१६ मा भएको पहिलो विश्वयुद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्वयुद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मा नेपालका कुनै पनि हिमाल विदेशीले नचढ्दै नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले आल्पस पर्वतमालाको एक हजार माइल घुमेर स्वीट्जरल्यान्डमा पर्ने एक चुली चढेका थिए । यो चुलीको नाम ‘गोर्खाचुली’ रहेको छ भनी डाक्टर हर्क गुरुङले सर विलियम कनवेको ‘द आल्पस् फ्रम एन्ड टु एन्ड’लाई उद्धृत गर्दै ‘विषय विविध’ नामक पुस्तकमा उल्लेख गर्नुभएको छ । यसरी हेर्दा नेपाली जाति वा
‘गोर्खा’को नाममा स्वीट्जरल्यान्डमा एक हिमालको नाम ‘गोर्खाचुली’ रहेको ज्ञात हुन्छ । डाक्टर हर्क गुरुङले भैmँ अध्ययन–अनुसन्धान गर्दै र खोज्दै जाने हो भने अरू नेपाली वीर–वीराङ्गनाहरूका नाममा पनि विदेशका हिमालका साथै डाँडाकाँडा, खोलानाला, वनजङ्गल र स्थानका नाम राखिएको हुनसक्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?