logo
२०८१ जेष्ठ ६ आईतवार



गोरखाली युद्धमोर्चामा बिसे नगर्ची

शनिवार |


गोरखाली युद्धमोर्चामा बिसे नगर्ची


राजकुमार दिक्पाल

आफ्नो समुदायको ऐतिहासिक व्यक्तित्वहरूको खोजी गर्ने क्रममा युगौँदेखि उत्पीडित भई बाँचिरहेका दलित समुदायले पनि यो क्रम सुरु गरे । यसै क्रममा पञ्चायतकालमा छुवाछूतविरुद्धको अभियानमा सक्रिय अगुवाहरूको आँखा भीमनिधि तिवारीको ‘पाँच ऐतिहासिक एकाङ्की’ (२००८) माथि प¥यो । यी पाँच एकाङ्कीमध्ये बिसे नगर्चीमाथि उनीहरूको गम्भीर रूपमा आफ्नो ध्यान आकृष्ट भयो ।

साहित्य विधाभित्र पनि नाटकको एक पात्रको रूपमा प्रस्तुत गरिएको बिसे नगर्चीबारे इतिहास खोजीका लागि छुवाछूतविरुद्धको अभियानमा सक्रिय बौद्धिक व्यक्तित्व पदम सुन्दासले विशेष चासो राखेको पाइन्छ । बिसे नगर्चीको सन्दर्भ आवश्यकता परिपूर्तिका लागि जनसहभागिता जुटाउन र छुवाछूतजस्तो सामाजिक कुरीतिलाई क्रमशः मेटाउँदै जाने अभियानका क्रममा एक पुस्तिकाको रूपमा ‘बिसे नगर्ची’ (२०४६) प्रकाशनमा ल्याइयो । पदम सुन्दासले प्रकाशनमा ल्याएको पुस्तिकामा रामशरण दर्नालको खोजपूर्ण लेख, टीआर विश्वकर्माको भूमिका र प्रकाश चित्रकारको आवरणचित्र समाविष्ट गरिएको छ (बिसे नगर्चीको पुस्तक प्रकाशमा सक्रिय प्रकाश दर्नालको भनाइ) ।

एक नाटकको पात्रका रूपमा पढिँदै आएको बिसे नगर्चीको ऐतिहासिक पक्षको बारेमा खोजी गर्न थालनी गरिएको यो अभियानपछि बिसे नगर्ची केवल नाटकको पात्र मात्र नभई एक ऐतिहासिक व्यक्ति रहेछन् भन्ने मान्यता क्रमशः स्थापित हुँदै आयो । यस अभियानका अभियन्ताहरू पनि सार्वजनिक जीवनमा ख्यातिप्राप्त व्यक्ति हुन् । तीमध्ये पुस्तिकाको भूमिका लेखक टीआर विश्वकर्मा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य, लेखक रामशरण दर्नाल तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य तथा बिसे नगर्चीको काल्पनिक मुखाकृति कोर्ने प्रकाश चित्रकार शाहीकालमा सहायक मन्त्री हुनुभएको थियो । उहाँहरू सबै दिवङ्गत भइसक्नु भयो । पुस्तिका प्रकाशनमा ल्याउने सामाजिक तथा बौद्धिक व्यक्ति पदम सुन्दास पूर्व राजदूत हुनुहुन्छ ।

यो पुस्तिका त्यसबेला मनाइने मुलुकी ऐन दिवसको अवसर पारेर २०४६ साल भदौ १ गते तत्कालीन राष्ट्रिय पञ्चायतका उपाध्यक्ष परशुराम राईले एक समारोहबीच विमोचन गर्नुभएको थियो ।
शाहकालीन अभिलेखमा उल्लेख भएअनुसार नगरा र नगर्चीको अस्तित्व विसं १६६६ देखि नै भएको अनुमान हुन्छ । छत्र शाहको पालामा नगरा बजाउने नगर्चीबारे थाहा छैन तर पृथ्वीनारायण शाहको गोरखा दरबारमा नगरा बजाउने बिसे नगर्ची थिए । पृथ्वीनारायण शाहले ‘तँ मेरो बुवाको पालादेखि काँठो भोटो गर्ने तँ दमै’ भनेकोले बिसे सम्भवतः नरभूपाल शाहको पालादेखि सक्रिय थिए (स्रोतः लिपिविज्ञ प्रकाश दर्नालको भनाइ) ।

बिसे नगर्चीको पुरा नाम सम्भवतः विश्वेश्वर थियो । लालमोहरमा बिसेलाई बिस्या भनिएको छ । त्यसबेलाको वा अहिलेकै नेपाली चलनअनुसार पनि छोटो नामले बोलाउन उनलाई बिसे भनियो (दर्नाल, उही)। दरबारमा नगरा बजाउने जिम्मेवारी पाएको सम्मानको सूचक पद हो, नगर्ची । यस्तो जिम्मेवारी बिसेले पाएका थिए । बिसे नगर्ची दमाईभित्रको नौवाग थरका हुन् । उनको छोरा दुब्ल्या (दुब्ले) लाई उनको शेषपछि नगरा बजाउने नगर्ची थमौती गरिदिएको विसं १८४६ को लालमोहरबाट थाहा हुन्छ । दुब्लेपछि उनको दुई पुस्ताको नाम फेला पर्दैन । त्यसपछिको पाँचौँ पुस्तादेखि जगमाने, डम्बरे, चखते, गन (गणेश) र मच्छिन्द्रेसम्मको नाम थाहा भएको छ । मच्छिन्दे्र बिसेका नवौँ पुस्ताका सन्तान हुन् (दर्नाल, उही)।

बिसे नगर्चीको ११औँ तथा १२औँ पुस्ताका सन्तानहरू गोरखा नगरपालिका, वडा नम्बर ६ मा बसोबास गरिरहेका छन् । कोही चितवनमा छन् । गोरखा र चितवनमा गरी उनको शाखा सन्तान २५ घरधुरीमा छरिएर रहेका छन् (रविन्द्र ढकाल र हरिराम उप्रेती, ईकान्तिपुर डट कम, २०७६ पुस २७ गते) ।
बिसेका सन्तानहरूसँग विसं १८४६, विसं १८७५ र विसं १९०५ गरी काले नगर्चीसम्मको पुस्तालाई तत्कालीन राजा तथा शासकहरूले दिएको कागजहरू सुरक्षित रहेका छन् (ढकाल र उप्रेती, उही)।

बिसेको सालिक गोरखाको गितारडाँडाभन्दा अग्लो भीरमुनि पाखोतिर फर्काएर विसं २०७५ साउन १८ गते प्रतिष्ठापन गरियो । कतिसम्म भने उनको सालिक राख्दा उनको परिवारलाई समेत थाहा दिइएन । पहिले पर्यटकीय हिसाबले आकर्षक गितारडाँडामा उनको सालिक राख्ने गरी उक्त ठाउँको शिलान्यास गरिएको थियो तर अहिले पर्यटकीय हिसाबले आकर्षणको केन्द्र नभएको ठाउँमा उनको सालिक राखिएको छ । गोरखा दरबारसम्म घुम्न जाने पर्यटकहरूको नजर उनको सालिकमा पर्नसक्ने अवस्था छैन । सालिक वरपर बाख्रा चर्छन्, बालबालिकाहरू खेल्छन् । उनको सालिक कतिसम्म उपेक्षित अवस्थामा छ भने कतिपय स्थानीयहरूले दमाईको चिहान यहाँ राखिदिए भनेर सालिकलाई उपेक्षासमेत गर्ने गरेका छन् (ढकाल र उप्रेति, उही) ।

बिसेको जन्म तथा मृत्युबारे हालसम्म कुनै प्रामाणिक ऐतिहासिक सामग्री प्राप्त हुन सकेको छैन तर परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ । यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । यसैगरी गोरखाको सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए ।

नुवाकोटको युद्धमा बिसे नगर्ची
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए । पृथ्वीनारायण शाहले सफलता प्राप्त गरेको यो पहिलो युद्ध थियो । आक्रमणका लागि गोर्खालीले विभिन्न समूह बनाएका थिए । त्यहाँ बिसे नगर्ची पृथ्वीनारायण शाहले अगुवाइ गरेको समूहमा थिए । नरभूपाल शाहले विसं १७९२ मा एक पटक नुवाकोटको असफल आक्रमण गरेका थिए । नरभूपाल शाहको निधनपछि पृथ्वीनारायण शाह विसं १७९९ मा २० वर्षको उमेरमा गोरखाका राजा भए । उनले पनि विसं १८०० मा विराज थापा र गौरेश्वर पन्थको नेतृत्वमा फौज पठाई नुवाकोट आक्रमण गरेका थिए तर गोरखाली फौज त्यसमा पनि सफल भएन । यस असफलताबाट पनि पृथ्वीनारायण शाह निराश भएनन् । अन्ततः विसं १८०१ असोज १५ गतेको युद्धमा नुवाकोट गोरखाको अधीनमा आयो ।

यस युद्धमा चार ठाउँमा मोर्चा बाँधी गोरखालीहरूले नुवाकोट आक्रमण गरेका थिए । तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकीर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडि बढेको थियो भने तीनघारेको बाटो स्वयं पृथ्वीनारायण शाह अगाडि बढेका थिए । यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेकासाथ बिसे नगर्ची पनि सरिक थिए (प्राचीन नेपाल, सङ्ख्या २१, कात्तिक २०२९ः२८) ।
युद्ध गोरखाली पक्षले जित्यो । जीतपछि ब्राह्मणबाट वेद तथा जयघोष भयो । नगरा बज्यो । नगरा बजाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरूलाई मणिराम गाइनेले साथ दिएका थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

कालु पाँडेलाई सल्लाह
पृथ्वीनारायण शाह एउटा गतिलो काजीको खोजीमा थिए । पहिले उनको आँखा बिराज बखतीमाथि परेको थियो । उनले विभिन्न व्यक्तिसँग यसबारेमा परामर्श गर्दा धेरैले कालु पाँडेलाई कज्याई दिँदा राम्रो हुने सल्लाह दिएपछि पृथ्वीनारायण शाहले कालु पाँडेलाई छानेका थिए । गोरखाली भैयाद र थरघरसँग सल्लाह लिँदा पृथ्वीनारायण शाहले बिस्या दमाई (बिसे नगर्ची) सँग पनि सल्लाह गरेका थिए । (बाबुराम आचार्य, बडामहाराजधिराज पृथ्वीनारायण शाह सङ्क्षिप्त जीवनी– २०६१ः१५०)

कालु पाँडेलाई कज्याई दिने निर्णय पृथ्वीनारायण शाहले गरे तापनि कालुले सशर्त उक्त पद स्वीकार गरेका थिए । काजी ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले राजाबाट बक्सेको काजी खाउँ कि नखाउँ भनी सल्लाह मागेका थिए । यसै क्रममा कालुले पृथ्वीनारायण शाहसमक्ष कजाइँ खानु मेरा जियले मात्र होइन मेरा सन्तान दरसन्तानले गादीको सोझो गरी काम चलाउन सकुन्ज्याल पाँडेले नै खानु भन्ने बन्देज होस् भन्दै आफ्नो दरसन्तानका लागि जागिरको सुनिश्चितता माग गरेका थिए । यस्तो मागउपर विचार गर्दै पृथ्वीनारायण शाहले गादीको सोझो गरुन्ज्याल तेरा सन्तानलाई कजाई नखोस्नु यस बातका साक्षी श्री गुरु गोरखनाथ र श्री काली भनी प्रतिबद्धता जनाएका थिए । दरबारबाट फर्केपछि कालु उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर मलाई महाराजबाट मुख्तियार बक्स्यो, खाउँ कि नखाउँ भनी सोध्दा सबैले सल्लाह दिए, महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस् (प्राचीन नेपाल, उहीः२०) ।
यस प्रसङ्गबाट पनि तत्कालीन गोरखा
राज्यमा बिसे नगर्चीको महŒव निकै ठूलो थियो भन्ने सङ्केत मिल्छ ।

युद्धमा बिसे नगर्चीको धोती
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियान बढ्दै गयो । उनले नुवाकोटपछि भोटसँगको महŒवपूर्ण व्यापारिक मार्गमा पर्ने नालदुम (नगरकोट) विसं १८११ मा हात पारे । यो देखेर पृथ्वीनारायण शाह आफूतिर पनि आइलाग्ने सम्भावना बाइसी चौबिसी राजाहरूले देखे । गोरखालाई रोक्नुपर्ने सङ्केत पर्वते राजाले लमजुङलाई दिए । यो खबर नुवाकोटमा रहेका पृथ्वीनारायण शाहसमक्ष पुग्यो । उनले त्यहाँबाट चौतारिया कीर्तिमहोद्दाम शाह, काजी कालु पाँडे, सल्यानी द्वारे, कलै पाँडे, अम्बर पाँडे लगायतको सेनालाई लडाइँका लागि बिदा गरे (देवीप्रसाद भण्डारी, ‘पूर्णिमा’ पूर्णाङ्क ६– साउन २०२२ः४६) ।

लमजुङबाटै फुटेर विसं १६१६ मा गोरखा राज्य बनेको हो । त्यसैले लमजुङ र गोरखाबीच इखाइख छँदै थियो । यी दुई राज्य एकअर्कामा खतरा महसुस गर्थे ।
पृथ्वीनारायण शाहले नेपाल (काठमाडौँ उपत्यका) जित्ने मनुसुवा राखेपछि पशुपतिको दर्शन गरेर पाल्पा फर्कंदा गोरखामा बास परेका बेला उनका मामा उद्योग सेनले उनलाई सल्लाह दिँदै भनेका थिए, नेपाल भनेको भ्यागुता हो । गोर्खा भनेको सर्प हो । लमजुङ भनेको गरुड हो । गरुडका डरले सर्पले भ्यागुता खान सक्दैन । तसर्थ सिमानाका राजासँग घा (मिलाप) हुन सक्दैन भन्छन् । अब लमजुङका राजासित घा बन्दोबस्त नगरी नेपालको इच्छा नराख्नुहोस्’ (बाबुराम आचार्य र योगी नरहरिनाथ, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश(२०६१ः३६–३७) ।
पृथ्वीनारायण शाहले आफू युवराज छँदै नेपालको राजा हुने मनसुवा राखेका थिए र आफ्नो मामाको सल्लाहअनुसार लमजुङसँग सन्धि गरेका थिए । एकानि शत्रु एकानि मित्र नामको यो सन्धि विसं १७९६ माघ ११ गते बिहीबार सम्पन्न भएको थियो (देवीप्रसाद भण्डारी, ‘पूर्णिमा’ पूर्णाङ्क ४–माघ २०२१ः६१) ।

यस सन्धि हुँदा लमजुङका राजा रिपुमर्दन शाह मन्त्रीका साथ सभामा उपस्थित थिए । गोरखाली दलको नेतृत्व काजी कालु पाँडेले गरेका थिए । सन्धिमा युवराज पृथ्वीनारायण शाह राजा नरभूपाल शाहको छाप बोकेर चनाखा मानिसका साथ चेपेघाटमा उपस्थित भएका थिए (गङ्गा कर्माचार्य (हाडा), सिनास जर्नल वर्ष ३१, अङ्क २, जुलाई २००४ः ३४२) तर पर्वत र गोरखाबीचको इखाइखले लमजुङ र गोरखाबीच युद्ध भयो । त्यसबेला बाइसी चौबिसी र गोरखासमेत मेहलको रुखमा चीर बाँधी होली गर्थे । त्यसबेला पर्वते राजाले अरू कुनै राजाले एकछते चीर गाड्यो भने सेनासहित पुगी चीर गाड्ने राजालाई जिती चीर च्याती दिने गर्थे । यो कुरा थाहा पाएका पृथ्वीनारायण शाहले पर्वते राजाले लौ च्यातोस् त भन्दै तीनछाने चीर गाडेर होली मनाई युद्धको हाँक दिएका थिए । पर्वते राजाले गोरखाको चीर च्यात्न त चाहे तर बीचमा लमजुङ प¥यो (भण्डारी, उहीः४७) ।

अन्ततः गोरखा र लमजुङबीच युद्ध भएरै छाड्यो । सिरानचोकको लडाइँमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारे लगायतको मृत्यु भयो । विसं १८१२ साउन १४ गते शनिबार भएको यस युद्धमा गोरखालीको जीत भयो । गोरखालीहरूले जीतको हर्षबढाइँ मनाउँदै शत्रुपक्षको बेइज्जत गरेका थिए । शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सेनालाई त्यहाँबाट छिर्न लगाएका थिए । यसबारेमा भाषा वंशावलीमा ...लमजुग्या सर्दार महीधरसमेतलाई बिस्या नगर्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरू सबैलाई छिराया । शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानचोक थामी चौबिसी हटाया । पश्चिम थेग्लाया...’ भन्ने परेको छ (भण्डारी, उहीः४६–४७) ।

यस लडाइँमा सल्यानी अम्बर पाँडे, बले द्वारे प्रभृति धेरै वीरको ज्यान गएको थियो । जीत गोरखालीको भयो र सरदार दलभञ्जनबाहेक लमजुङको महीधरसमेत अरू सबै चौबिसीलाई गोरखालीहरूले बिसे नगर्चीको धोती टाँगी धोतीमुनि छिराई बेइज्जत गरेका थिए (प्राचीन नेपाल’
सङ्ख्या २२–माघ २०२९ः४)
राज्यविस्तार अभियानअन्तर्गत चौबिसी सिरानचोकको जीत पृथ्वीनारायण शाहको महŒवपूर्ण उपलब्धि थियो । यो उनको तेस्रो जीत थियो । यसअघि उनले नुवाकोट र नालदुमलाई गोरखाअधीनस्थ गरिसकेका थिए । इतिहासका स्रोतहरूमा नुवाकोट र सिरानचोकजस्ता प्रारम्भकालीन युद्धमा बिसे नगर्चीको सहभागिता देखिन्छ । यसबाट पनि बिसे नगर्ची एक ऐतिहासिक व्यक्तित्व हुन् भन्ने स्पष्ट हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?