logo
२०८१ मंसिर १८ मंगलवार



याज्ञवल्क्यको शिक्षा

शनिवार |


याज्ञवल्क्यको शिक्षा


कमल रिजाल

‘प्रियवदने ! अब त बुढेसकालले पनि छोयो, कपाल फुले, दाँत झरे, आँखा कमजोर भए, छाला चाउरिए तर जति गर्दा पनि संसारलाई आफ्नो बनाउन सकिनँ । आफ्नै ठानेर जति सुमसुम्याउन खोज्छु ऊ त्यति पर भइदिन्छ । आफू जति माया गर्न खोज्छु ऊ त्यति टेढो बनिदिन्छ । सायद बाच्छालाई चाट्यो मुखभरि रौँ भनेको यही हुनुपर्छ । आफूले जति चाट्न खोजे पनि उसले दुःखबाहेक केही दिएको छैन । यस्तो निर्दयी संसारमा भुलेर बस्नुभन्दा सन्न्यास लिएर हिँड्नु जाती लागेर तिमीहरूलाई बोलाएको हुँ । आजैको मितिमा श्रीसम्पत्ति तिमीहरू दुईलाई सुम्पेर सन्न्यास लिने विचार गरेको छु । आशा छ अन्यथा मान्नेछैनौ ।’ पत्नीद्वय मैत्रेयी र कात्यायनीसमक्ष महर्षि याज्ञवल्क्यले प्रस्ताव राखे ।

कात्यायानी विशुद्ध गृहिणी थिइन् । खासै प्रतिक्रिया जनाइनन् । होला कुनै त्यस्तै कारण भनेर चित्त बुझाइन् तर मैत्रेयी विदुषी थिइन् । उनले भने सहजरूपमा लिन सकिनन् र मनमनै ‘आज यी बुढालाई के भएको छ कुन्नि ? किन टेढोमेडोे कुरा गरिरहेका छन् । सदा त यस्ता थिएनन्’ भन्दै टोलाउन लागिन् ।

‘किन टोलाएकी मैत्रेयी ! मलाई सुनिनौ ? सही भन्दैछु, जति नै प्रयास गर्दा पनि संसारबाट दुःखबाहेक केही नपाइएपछि सन्न्यास लिने निष्कर्षमा पुगेको हुँ । अस्ति बिहान आश्रम नजिको वन्यप्रान्तमा घुम्न गएको थिएँ । एउटा मृग मृगिणीको पछि लागेको देखेँ । मृग जति म्याम्या गर्दै मृगिणीको पछि लाग्थ्यो मृगिणी उति परपर हुँदै गएकी थिई । मृग जतिजति दौडिएर भेट्टाउन चहन्थ्योे ऊ त्यतित्यति तेजले भागेर पर पुगिसकेकी हुन्थी । एवंरीतले भाग्दै जाँदा हडबडका कारण मृगिणी कुवामा खसी तर मृगले हिम्मत हारेन र सिङले हानेर हुन्छ कि खुट्टाले खोस्रेर हुन्छ निकाल्ने प्रयास ग¥यो । लामो प्रयासपछि निकाल्न सफल त भई तर मृगिणी भने वास्तै नगरी झन्झन् पर हुँदै गई । हेर न, मेरो पनि अवस्था योभन्दा के कम छ र । के मात्र गरेको छैन मैले संसारलाई आफ्नो बनाउन ? तर खोइ त उसले पनि त्यस्तो ठानेको छ र ? यो बनायो त्यो हुँदैन । एउटा समेट्न भ्याएको हुन्न अर्को छुटिसकेको हुन्छ । त्यसैले यसैलाई नै त्याग्ने विचार गरेको हुँ । तिमीहरू मिलेर घरव्यवहार चलाउनु ।’ याज्ञवल्क्यको सम्झाउने प्रयास ।

‘प्राणनाथ ! हजुर यति ठूलो सम्पत्तिको मालिक हुनुहुन्छ । घरमा कुनै चीजको कमी छैन । जहाँ जाउँ भने पनि पुगेकै छ, जे खाउँ भने पनि पुगेकै छ । टोलछिमेकमा पनि राम्रै इज्जत छ । बाहिरफेरकै कुरा गर्ने हो भने पनि राजा जनकको दरबारमा त्यति ठूलो इज्जत पाउनुभएको छ । हजुरको नाम सुन्नेबित्तिकै मै हुँ भन्ने विद्वान्हरूसमेत थर्कमान हुन पुग्छन् । गार्गीलाई नै हेरौँ न उनी आफूलाई कति ठूलो विदुषी मान्थिन् तर पनि खोइ त उनले हजुरका सामु घुँडा टेक्न बाध्य हुनुप¥यो । महर्षि शाकल्यको त झन् के कुरा गर्ने हजुरको अगाडि आफूलाई ठूलो विद्वान् सावित गर्न खोज्दा टाउको फुटेर जीवनबाटै हात धुनुप¥यो । फेरि पनि यसलाई छाडेर जान खोज्दै हुनुहुन्छ भने पक्कै योभन्दा महत्त्वपूर्ण अरू नै केही फेला परेको हुनुपर्छ । त्यसैले पहिले यो बताउनुस् कि, के म त्यसलाई जान्न सक्छु ।’ मैत्रैयीको प्रष्टोक्ति ।
‘हो कल्याणी ! ठीकै अनुमान लगायौ । भेटेको त छैन तर देखेको छु । त्यसैलाई भेट्ने उद्देश्यले घरबार त्याग्न खोेजेको हुँ ।’ याज्ञवल्क्यको रहस्योद्घाटन ।
‘घरद्वार र श्रीसम्पत्तिले हजुरलाई शान्ति दिएको छैन भने मलाई चाहिँ दिन्छ त ? के मेरा लागि मात्र यिनीहरू आफन्त हुन सक्छन् ? त्यसै हो भने ठीकै छ, रोक्दिनँ । होइन भने हजुरले पुनर्विचार गर्नैपर्ने हुन्छ ।’
मैत्रेयीको आशङ्का ।

‘होइन मैत्रेयी ! त्यसो होइन । श्रीसम्पत्तिबाट कसैले पनि शान्ति पाउँदैन । भागवतमा व्यासजीले संसारभरिकै श्रीसम्पत्ति पाए पनि सन्तुष्टि मिल्दैन भनेका छन् । यही शरीरलाई नै हेर न । हामीले जतनमा के मात्र गरेका छैनौँ । अलिकति टाउको दुख्न भ्याएको हुन्न औषधि खान थाल्छौँ । सामान्य रुघाखोकी लाग्दासमेत हकिम, वैद्य, कविराजसमक्ष पुगिसकेका हुन्छौँ तर पनि के उसले चाहिँ आफन्त ठानेको छ र ? छैन नि । जति नै जोगाउन खोजे पनि मुजा परेकै छ, चाउरी परेकै छ । सारमा यति बुझ संसार कसैको पनि होइन । सबै आफ्नै लागि हुन् । न कुनै पति पतिका लागि प्रिय हुन्छन् । न कुनै पत्नी पत्नीका लागि प्रिय हुन्छन् । न कुनै बाबुआमा बाबुआमाका लागि प्रिय हुन्छन् । न कुनै सन्तान सन्तानका लागि प्रिय हुन सक्छन् । अपितु सबै आफ्नै लागि प्रिय भइरहेका हुन्छन्, लागिरहेका हुन्छन् । संसारका यावत् कुरामा यही नियमले काम गरेको हुन्छ ।’ याज्ञवल्क्यद्वारा सांसारिक स्वरूपको दिग्दर्शन ।

‘त्यो त झन् स्वार्थी कुरा भएन र प्राणनाथ ! हजुर जस्तो उपल्लोस्तरका व्यक्तित्वबाट यस्तो अपेक्षा गरेकी थिइनँ । सांसारिक विषयवस्तु आफ्ना लागि नभई उसकै लागि प्रिय हुन्छन् भने मेरा लागि चाहिँ कसरी प्रिय होलान् र चित्त बुझाउँ ? जाने नै भए ठीकै छ रोक्न चाहन्न तर मलाई पनि साथै लानुपर्छ । होइन भने मेरो तर्फबाट अनुमति छैन ।’ मैत्रेयीको दुःखेसो ।
‘होइन मैत्रेयी ! त्यसो नभन । त्यति बढी निर्दयी पनि छैन, न स्वार्थी नै । आखिर घर धान्ने पनि त कोही हुनैपर्छ । तिम्रो उमेर नै कति भएको छ र हतारिन्छ्यौ ? बिस्तारै त्यो दिन पनि पक्कै आउनेछ । बालबच्चाले घरव्यवहार धान्ने हुनासाथ तिम्रो पनि बाटो यही हो । अहिलेलाई बिन्ती छ मेरो बाटो नरोक ।’ याज्ञवल्क्यको पुनः सम्झाउने प्रयास ।

‘होइन प्राणनाथ ! त्यसो नभन्नुस् । हजुरको जुन गति मेरो पनि त्यही गति । हामीले विवाह मण्डपमा तीन फेरा लगाउँदा के वाचा गरेका थियौँ ? मातापिताबाट मेरा हात थाम्दा कस्तो कसम खानुभएको थियो बिर्सनुभो ? बिर्सेका भए मै सम्झाउँछु । मलाई एक्लै छाडेर जान पाउनुहुन्न । जाने नै भए मैले पनि जान पाउनुपर्छ, हजुरले भेट्न खोज्नुभएकोसँग भेट्ने अवसर पाउनैपर्छ । नभए पनि कम्तीमा देख्नेसम्मको अवसर त पाउनैपर्छ ।’ मैत्रेयीको चट्टानी अडान ।
त्यसपछि याज्ञवल्क्यले आत्मज्ञानसम्बन्धी अनेक दृष्टान्त दिएर सम्झाउने प्रयास गरे । मैत्रेयीले पनि उनले भने बमोजिम आत्मज्ञान प्राप्त गरी याज्ञवल्क्यसँगै सन्न्यास लिएर मुक्ति प्राप्त गरिन् । अन्त्यमा घरद्वार समाल्ने कात्यायनी एक्लै परिन् ।
बृहदारण्यक उपनिषद्मा आएको यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर यसले जीवन र जगत्को स्वरूप र विशेषता बुझाउने काम भने राम्रैसँग गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?