logo
२०८१ बैशाख २१ शुक्रवार



बाल्यकालदेखि डायोस्परासम्मका भावोद्गार

शनिवार |


बाल्यकालदेखि डायोस्परासम्मका भावोद्गार


प्रकाश सिलवाल

“दिलमा माया पटक्कै छैन र ?
नजाऊ टाढा भनेको होइन र !
फूलको डालीमा,
घर फर्की आऊ माया यसै पालीमा”

साहित्यकार खिमानन्द आचार्यसँग मायाका गुजुल्टाहरू थुप्रिएर बसेका छन् । मायाले बाडुल्की लागेपछि उहाँले फूलको डाली चढेर घर फर्केर आउन मायालुलाई साहित्यिक मिठासयुक्त शब्दहरूले आमन्त्रण गर्नुभएको छ–
‘मनका तरङ्ग’ गीति सङ्ग्रहबाट । त्यो माया देशप्रेमको माया हो । परदेशिएका युवालाई स्वदेशमा बसेका बुबाआमाले गरेको प्यार हो । सधैँ सम्झनामा आइरहने निश्छल प्रेम हो ।

प्रेमिल र मधुर शब्दगुच्छासहित एकैपटक पाठकमाझ चारवटा कृति लिएर आएका आचार्य अहिले साहित्यिक क्षेत्रमा फरक पहिचानका साथ अगाडि आउनुुभएको छ । उहाँका कृतिहरू गीति सङ्ग्रह ‘मनका तरङ्ग’, कथा सङ्ग्रह ‘पागल बस्ती’, कविता सङ्ग्रह ‘आस्थाका विम्बहरू’ र लघुकथा सङ्ग्रह ‘पश्चात्ताप’ भर्खरै सार्वजनिक भएका छन् । अर्घाखाँचीको डिभर्नामा जन्मनुभएका आचार्य लामो समय संयुक्त राज्य अमेरिकाको बसाइबाट स्वदेश आएको समयमा यी चार साहित्यिक कोसेली पस्कन सफल हुनुभएको हो । लामो समय गोरखापत्र संस्थानको प्रशासकीय अधिकृतमा काम गरेका आचार्य पूर्णतः साहित्यिक यात्रामा लीन हुनुहुन्छ । यसअघि पनि उहाँका ‘धर्तीका माकुरा’ (कविता सङ्ग्रह, २०४३), ‘अनेक डायस्पोराका कविता’ (कविता सङ्ग्रह, २०६९ सम्पादन ) प्रकाशित भइसकेका छन् ।

जिन्दगीलाई सुख, दुःखको सङ्गम मान्ने आचार्यले साहित्यमा ती दुवै अनुभूतिलाई पाठकका मनमा बास बस्ने गरी प्रस्तुत गर्नुभएको छ । बाल्यकालदेखिका सम्झनाका तरेलीलाई समेत साहित्यमा उतारेर उहाँले आफ्नो मातृभूमि र थातथलोप्रतिको प्रेम दर्शाउनुभएको छ । त्यो उहाँका गीति हरफहरूमा बढी छचल्किएका छन् । १०६ वटा गीत लेखकका भावनाको प्रेम र आनन्दानुभूतिका उच्छ्वासहरू जस्ता लाग्छन् ।
त्रिभुवन विश्वविद्यालय, इतिहास केन्द्रीय विभागका सहप्राध्यापक डा. राजाराम सुवेदीका शब्दमा आचार्यका चौबीस कथाको सँगालो ‘पागल बस्ती’
‘चौबीसै थुँगा : एउटै झुप्पा’ हुन् । यी कथाहरू व्यावहारिक जीवनका लागि हितकारी मान्न सकिन्छ ।

असीवटा कविता समाविष्ट कविता सङ्ग्रह
‘आस्थाका विम्बहरु’ ले डायोस्परिक आयामलाई नवीनरूपमा उतारेको छ :
“मुटुको स्पन्दनभित्र रहेको जन्मभूमि सुखको असीम सागरभन्दा
दुःख र पीडा झुल्किन्न भन्नेहरू
आफ्नै मुटुलाई सोध्ने गर
वियोगको वेदना कति मर्माहत हुन्छ ।”

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले भने झैँ यी कविताहरूमा ‘आदर्शाेन्मुख चिन्तन, प्राचीन कला, साहित्य र दर्शनप्रति आस्था, नवविकसित सांस्कृतिक धरातलको विकृतिको भण्डाफोर, पर्यावरणमा आधारित भावोद्गार, डायोस्पराको जीवन उद्गार, विम्ब, अलङ्कार र प्रतीकको आधिक्य, अभिजात्य भाषाको प्रयोग’ भरपूर मात्रामा पाइन्छ ।
“पलपलमा परेली रसाउने अभिव्यक्ति
जीवनको अर्थबोध गराउने गीतहरू
बुद्ध र देवकोटा जन्माउने
विचार र भावनाको प्रस्तुति
देशप्रेमको मुटु बनेको छ ।’ (देशप्रेम)

नाममा भन्दा काममा विश्वास गर्ने कवि आचार्यका कवितामा नेपाल आमाको पुकार छ । घामपानीपूर्ण जिन्दगीको मौलिक अनुभूतिको दिव्यज्ञान छ । देशका सम्पदा र विभूतिप्रति अगाध आस्था छ । नेपालीत्वको भावनामा गौरव छ । सिर्जनामा घमण्ड र ठालूपन देखिँदैन । व्यावहारिक जीवनका लागि उपयोगी सिर्जना सङ्ग्रहित छ ।
साहित्यलाई समाज र समय सापेक्षता जोड्दै जीवनका यायावरीय गल्छेडाहरूलाई देशप्रेम र मानवप्रेममा समर्पित गर्ने साहित्यकार आचार्यका चार कृतिले साहित्यिक बजारलाई नयाँ इँटा प्रदान गरेको छ । ग्रामीणदेखि सहरिया र अन्तर्राष्ट्रिय परिवेशलाई परिस्थितिगत स्थितिको विवेचना छ । लेखकका हैसियतले आफ्ना पाण्डुलिपिलाई थप परिस्कृत गर्ने र प्रकाशनपूर्व भाषिक शुद्धता र विधागत विज्ञहरूसँग पनि परामर्श गर्दै आगामी कृति प्रकाशन भएमा साहित्यकार आचार्यको साहित्ययात्रा थप गाढा बन्न सक्नेमा दुईमत देखिँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?