logo
२०८१ मंसिर ८ शनिवार



हवाई यात्राका त्रासदी !

शनिवार |


हवाई यात्राका त्रासदी !


नरेन्द्रराज पौडेल

२०५८ साल कात्तिक दोस्रो हप्ताको कुरा । गृह मन्त्रालयको खटनपटनअनुसार यो पङ्क्तिकारले तत्काल कार्यरत विशेष प्रहरी विभागको सहसचिवबाट जनकपुरको सिडीओका लागि सरुवा पुर्जी लिएको थियो । दुईचार दिनअघिदेखि धाम्मधुम्म गर्दैआएको मौसम हिँड्ने बेला सिमसिम पानीमा वर्षिन थाल्यो । लौ रामै्र साइत प¥यो भन्ठानेर बाटो लागेको, विमानस्थलको प्रतीक्षालयमा भित्रिएपछि दुई चारजना अर्धपरिचित यात्रु भेटिए । गफका साथी त खाली भएनन् तर चिसा कुर्सीमाथिको लामो कुराइले जीउ सिताङ्ग बनायो । पेटले गाइँगुइँ गर्दै विद्रोेहको तयारी–सङ्केत दिन थाल्योे । “समयमै त्यसको सम्बोधन त गर्नै प¥यो, नत्र भाँडिएर आन्दोलनको हर्कत देखायो भने बीचबाटैमा बिचल्ली हुन के बेर !” मनमनै गम्दै करबलले महँगो कफी शपतिर लागेको थिएँ । अनि चुस्किँदै र गफिँदै पट्यारिलो दिनको उराठिलो समय बिताएको थिएँ । झन्डै सवाघण्टा कुरेपछि बल्ल उडानकक्षबाट बोलावट आएथ्यो । बोर्डिङ पास देखाउँदै बाहिर हवाई मैदानमा निस्किँदा त एकदमै पो दच्कायो जाडोले ।

‘हँन कात्तिके झरी पनि के यस्तो मापाको हो यस पाला ? । जाडोले त मुटु नै कमायो बा !’ मनमनै गम्दोरहेछु ! चढ्ने विमान त पुन्टे पो परेछ त्यस दिन । टिकट ल्याइदिने भाइलाई सोधेकै पो रहेनछु मैले त । न त भाइले भनेथे, न त टिकटै हेरेछु । अलि अलि लाज पनि लाग्यो आफैँसँग । हामी चढेको जहाज काठमाडौँ विमानस्थलबाट गह्रौँ गतिले उडेर कुइँक्क पूर्व मोडिएको थियो । मनरा तरेदेखि नै ढल्पल गर्दै बडो कठिनाइसँग उचाइ लिन थाल्यो । आधुनिक प्रविधि र संयन्त्रको कमै प्रयोग भएझैँ लाग्ने पुरानो पुस्ताको त्यो जहाज आकार, अनुहार देख्तै भरपर्दो लागिरहेको थिएन ।


अलि बेरअघिसम्म थुङ्गा केस्रा बनेर आकाश सजाइरहेको बादल एकैछिनमा बेहद बाक्लिँदै र चारैदिशा ढाकेर फैलिँदै गयो र केहीछिनमै जुरा ठड्याउँदै हाम्रो पिलन्धरे पुतलीमार्का जहाजसँग लुकामारी खेल्न थाल्यो । अलिबेरसम्म त काँठका गाउँबस्ती र फुल्चोकी वरपरका डाँडाकाँडा झल्याकझुलुक देखिँदै थिए तर साँगा नाघेपछि भने अत्यास लाग्दो गरी बादलभित्र पसेर एकाएक जमिनी दृश्यबाट बेपत्तै पो भयो पुन्टे जहाज त । बाक्लो कुहिरो र बादलभित्र पसेर मुसलधारे वर्षा खेपिरहेको बेला ‘महाभारत लेकमाथि फलानो जहाज हराएको’ सूचना जारी हुनेमा पर्ने त होइन ? मनमा तराना चले । यदि त्यस्तो अप्रिय सूचना जारी भइहाले त्यो सुनेर परिवार र आफन्तहरूको के हालत होला ? यस्तै शङ्काले मन भरङ्ग भयो । सोचसमझ विचलित हुन थाल्यो । सम्भावित अनिष्टका चाहिँदा नचाहिँदा शङ्का उपशङ्काहरू मनभित्र हल्चल मच्चाउन थाले ।

यो कात्तिकमासमा पनि किन कालोनीलो बादलले आकाश ढाकेर मुसल्धारे पानी परेको ? विवशताका बाफिला अक्रोशहरू निरर्थक धुवाँ उडाउँदै थिए मनमा । दिमागले शुभ अशुभ चिन्ताका चौरीखर्कमा अनियन्त्रित घोडाझैँ पैयाँ ठोकेर कताकता बुर्कुसी मार्दै थियो । मनमा सम्भव असम्भव राम्रा नराम्रा तरङ्ग चल्दै थिए । यत्तिकैमा चालिस सालतिर स्थानीय विकास अधिकारी भएर आफू अछाम बसेको झट्ट सम्झिएछु । त्यतिबेर कार्यालयको काम विशेषले नेपालगञ्ज जाँदा पनि झनै रोमाञ्चक हवाई यात्राको फेला परिएथ्यो । चैतको महिना थियो । दिनको तेस्रो प्रहरतिर तत्कालीन अछाम जिल्ला अस्पतालका इन्चार्ज दम्पती र म साँफेबगर विमानस्थल झरेका थियौँ । बयलपटाबाट उँधो लागेदेखि नै सामान्य बेगले हुरी चल्दै थियो । पर्वाह नगरी झर्दै गयौँ तर हावाहुरीको बेग ह्वात्तै बढ्यो । पतपती बाक्लो धुवाँ उडेझैँ बूढीनदी किनारमा बालुवाको मुस्लो उठेर जमिन ढाकेको देखियो । वरपरका बडेबडे वरपीपल, सल्लो, बाँझलगायत वृक्षवनस्पतिहरू बेतोडसँग हल्लिरहेका देखिन्थे ।

निकै बेगले हावा लाग्दालाग्दै जहाजभित्र बोलाइ पो हाले स्टेसन म्यानेजरले । नाकमुख छोपेर हुर्रिंदै बल्लतल्ल जहाजभित्र चड्यौँ । हुरीबतास बिदा नभएसम्म त पर्खने होला भन्ने सोचेर सिटमा बसेका थियौँ तर क्याप्टेनले बहादुरी देखाउने भएर ट्वीनअट्टर जहाज विमानस्थलबाट हुत्तै उडाए । प्रचण्ड बेगले हावाहुरी लाग्दालाग्दै उडेको जहाज भुइँ छोड्ने बित्तिकैदेखि नेपालगञ्जतिर चुच्चो तस्र्याएर सैसोला खेल्दै यताउती रन्फनिदै र घरी चङ्गाझैँ बत्तिँदै तमास गर्न थाल्यो । पृथ्वी आकाश सबैतिर एकछत्त धुलोबाहेक केही देखिन्नथ्यो । जहाज भने कोक्रोझैँ शून्य आकाशमा वरपर तलमाथि हुर्रिंदै गर्दथ्यो । कतिबेर कहाँ कुन डाँडोमाथि या रुखको टुप्पामा बजारिएर हाम्रो इहलीला समाप्त पार्ने हो भन्ने भयले आकुलव्याकुल भयौँ सबै यात्रुजति । आसन्न मृत्युबोधको पीडा र दुःश्चिन्ताले कतिपय बच्चा महिला रुन कराउन थाले त कोही भगवान्को नाम लिएर गुहार्ने भए । धेरैजसो यात्रुभने आँखा रसिला बनाएर भरोसाको केन्द्र बनेका चालक क्याप्टेनलाई गुहार्न थाले । जहाज उडेको अलि बेरपछि नै मेरो सिटैनिर बसेका अछाम अस्पतालका इन्चार्ज डाक्टर अलि बढी हडबडाएका थिए । उनी राजधानीको सुरक्षित ठाउँमा बच्चा जन्माउने हिसाबले दोजिया श्रीमतीलाई साथमा लिएर काठमाडौँ जान उडेका रहेछन् । उनकी श्रीमती उतिसारो हवाई यात्रामा नपरेकी रहिछन् क्यार ! जहाजमा पस्दैखेरि उनको अनुहार सोहोरिएर मलिन कान्ति र रातो वर्णमा रूपान्तरित हुँदै थियो । जहाज बेतोडले दौडँदै भुइँ छोडेर उड्दा त झनै आत्तिएर छटपटाउन थालेकी थिइन् ।

धुलाम्मे आकाशमा एकाएक स्वाट्ट माथिमाथि हुँदै गयो जहाज र महाभारत पहाडमाथि चढेपछि झन्झन् ढल्पलाउँदै, तलमाथि गरेर अनियन्त्रित हुन थाल्यो । उसै पनि आत्तिएका यात्रुहरूलाई सिटबाट कहिले उफार्दै र कहिले थचार्दै झन्सारो ओ¥याइँ गर्न थाल्यो । घरि यता पल्टिँदै घरि उता कोल्टिँदै गरेको जहाजमा डाक्टर र मभने आत्तिएर बेहाल बनेकी उनकी श्रीमतीलाई समाल्दैमा आजित भएथ्यौँ । जहाजको गतिविधिबाट भयाक्रान्त भएर रुवाबासी गर्नेमा अरू पनि धेरै थिए तर आसन्न प्रसवको कारणले गर्दा यी महिलाको अवस्था अरूको भन्दा कष्टकर र असह्य लाग्दथ्यो ।

उनका पतिले भरमग्दुर प्रयत्न गरेर समालिरहेका थिए । थप मद्दतका लागि मैले पनि आफ्नो सिटै छोडेर धुरा लाग्नु प¥यो । त्यतिबेर जस्तै त्रासपूर्ण अवस्था भए पनि आफू डराएझैँ बन्ने त चान्स नै रहेन, न त फुर्सद नै भयो । अरूका हालत हेर्ने र आफ्नो अवस्था देखाउने पनि अवसर मिलेन । पत्रैपत्रे डाँडाकाँडामाथि पुन्टे ट्वीनअटर जहाज यात्रुजनलाई तर्साएर हुइँकिँदै रह्यो । नेपालगञ्जतिरको बाटै देखिएन छ क्यार ! धेरै बेरसम्म आकाशमा बहकिँदै पिङ खेलाएर रमिता गर्न थाल्यो । समय चल्नुसट्टा घसिँ्रदै गरेर व्याकुल यात्रीहरूलाई अझ सन्त्रस्त बनाइरहेको थियो । आसन्न अनिष्ठको कल्पनाले भयाक्रान्त यात्रीहरू कोही रामनाम जप्दै र लामा लामा सुस्केरा हाल्दै थिए । कोही घरपरिवार आफन्तको सम्झनामा आँसु बगाउँदै घुँक्का छोडिरहेका थिए ।
यात्रुहरूलाई दिनु कष्ट दिएर निकै बेरपछि मात्र बल्लतल्ल बर्दिया राष्ट्रिय निकुञ्जमाथि निस्किएथ्यो त्यो जहाज । त्यता निस्किँदा पनि हावाका शक्तिशाली धक्कामुक्का खान अझै छाडेको थिएन । तै जहाज भने निकै मजबुत रहेछ । कसो हावाको बेगले हिर्काउँदा ढल्पल गर्दै रुखका टुप्पा डाँडापहरातिर जोतिन पुगेन । चट्याङले भेटेर कसो आकाशमै चकनाचूर भएन !

बर्दिया निकुञ्जमाथि निस्किएपछि तराईका खोला, जङ्गल, जमिन राम्रैसँग देखिए । सबै यात्रुमा जहाज सकुशल उत्रिने विश्वास बढ्दै आयो । महिला, केटाकेटीहरूमा अत्यास र रुवाबासी अलि कम भयो । निकुञ्जको जङ्गलमाथि यताउता काबा खाएर बल्लतल्ल पूर्वतिर सोझियो र तल तल ओर्लिंदै गर्न थाल्यो । अनि रोकिनसक्नु पाराले प्रचण्ड बेगसाथ बत्तिएर झन्डै जमिनमा बज्रिँदै गड्याङ्ग आवाजसहित खजुरा विमानस्थलमा उत्रिएको थियो । फेरि एक पटक यात्रुहरूको सातो लियो अधर्मीले । कतिपय यात्रु भने अझै डराउँदै टाउको ठोकेर रुँदै निस्किएका थिए । अघिपछि बत्तीस मिनेट लाग्ने साँफे खजुराबीचको आकाशे दूरी पार गर्न त्यस दिन ठ््याक्कै पैँतालीस मिनेट लागेछ ।

त्यसै घटनाको सम्झनामा म पनि दिमागी पिङ खेल्दै थिएँ यतिबेर महाभारतकै डाँडामाथि । निकै मजबुत स्टिलबडीको गरुङ्गोखाले ट्वीनअटर जहाज थियो उतिबेर साँफे बगरबाट उडेको तर अहिले आफू चढेको जहाज प्लास्टिक मोरेको भेनिस्टाको किस्तीजस्तै अत्यन्त हलुका सत्वहीन लागिरहेको थियो । बेलाबखत पढेसुनेका हवाई दुर्घटनाका एक एक फेहरिस्तहरू दिमागमा उत्रिएर फिँजारिन थाले । अनेकथरी बेछूकका शङ्का संशयहरू मनभित्र हुँडलिँदै गए । चेतनाभित्रको समय चल्न छोडेर घस्रिन थाल्यो । जति पटक हे¥यो घडीको सुई जहाँको तहीँ । बाहिर जति हेरे पनि कुहिरो, बादल, मुसलधारे वर्षा मात्र देखिन्थ्यो जताततै । मनभित्र धुकचुक पालेर सकसमा बिताउँदै अनि बेलाबेला कष्टपूर्वक आँखा चिम्लिएर अरूसँग मौन संवादमा हेराहेर गर्दै समय खर्च गरेको थिएँ ।

निकै बेरपछि जहाज चल्दै गरेको सतहबाट छ्यारारार्र गरेको आवाज आयो । यसो झ्यालबाट बाहिर हेरेको–अलि फाटेको देखियो कालो बादलको मेहरो । महाभारत पहाड नाघेर चुरेतिर ओर्लिंदै रहेछ हाम्रो जहाज पनि । बादलको बीचबाट पहाड, खोला, जङ्गल झल्याकझुलुक देखेपछि बल्ल अलि सास पलायो । धर्ती माताको काखको नजिक आइयो भनेर खुसीको सीमा नै रहेन । अघिसम्म अत्यासले बढेको मुटुको गति बिस्तारै सामान्य भयो । नियालेर तल हेर्दा तराईको जङ्गल, कतैसम्म फाँट र थोप्लाथोप्ली बस्ती, हरिया खेत र बाढी भरिएका नदीहरू कुहिरोसँग लुकामारी खेल्दै गरेका देखिए तर यता अग्ला डाँडाहरू नाघेर तराईतिर ओर्लिन थालेपछि जहाज झन्सारो मच्चिएर तलमाथि सैसोला खेल्न थाल्यो । सवार बच्चा बूढाबूढी भने झन् डराउने भए । मोटाघाटा प्रौढ व्यक्तिहरूको त सातै गएझैँ लाग्थ्यो । घरिघरि घुम्दै मच्चिँदै घरि फन्का मार्दै र बादलका जुराहरूलाई रैफाँडो पारेर लतार्दै, कहिले चुच्चाले ठुङ मारेर पखेटाले बजाउँदै र कतै छेकारो मार्दै पुन्टे जहाज स्वाइँस्वाइँ तलतिर झर्न थाल्यो । यात्रुहरू वाक्कव्याक्क गर्दै कोकोहोलो मच्चाउन थाले तर केही बेर मात्र रह्यो यो क्रम ।

बायुबेगले हुर्रिएको जहाज खेत, बस्ती नाँघेर बल्लतल्ल जनकपुर विमानस्थलको धावनमार्गको छेउमा पुग्यो । भित्रका यात्रीहरू अझै उकुसमुकुसको अवस्थमा देखिन्थे । बाहिरको जमिन देख्नेबित्तिकै कति त हतार गरेर सिटबेल्ट खोल्न थालेका थिए । जहाज अझै सन्तुलनमा थिएन कि कसो हो– पहिले धावनमार्ग किनारको जमिनमा पाङ्ग्राले टक्रक्क छोइहे¥यो अनि रिसाएझैँ फुत्त उड्दै र ड्वाङ्राङ आवाज गरेर धावनमार्गमा बज्रिँदै र फेरि उछिट्टिएर माथितल जमिन टेक्तै र हुत्त छोड्दै गर्न थाल्यो । एकपटक सबै यात्रुको फेरि सातो लियो पुन्टेले । मकै भुटेझैँ यताउति छरिएर कुम, पुर्पुरो, नाक र घुँडा ठोक्नेमा परेछन् धेरैजसो यात्रु । सिटको अगाडि बारमा टाउको जुधाउनेमा भने अझै धेरै यात्रु परेछन् । बच्चाबच्ची चिच्याएर वातावरण कोलाहलमय बन्यो । हुँदाहुँदै बल्लतल्ल धावनमार्गको पल्लो छेउमा पुगेर जहाज अलि धीमा गतिमा गुड्दै बिसौनीतिर मोडियो र एक छिनपछि टक्क अडिएको थियो ।

अवतरण स्थलमा पुगेर सकुशल उत्रिएपछि मात्र बल्ल आङ हलुङ्गो भयो । उडेदेखि धुकचुक भएर धमिलिएको र जहाजको असहज गतिसँगै डराएको मन यतिबेर आएर बल्ल छ्याङ्ग खुलेथ्यो । बाहिर निस्किँदा सबै यात्रु पसिनाले लथपथ थिए । सबै हडबडाएका र असहज मनस्थितिका लाग्दथे अनि भएभरको धैर्य गुमेका र सातो उडेझैँ फुङ्ग अनुहारका देखिन्थे ।
हरर फिल्मजस्ता लाग्ने त्रासपूर्ण यात्राका यी सम्झनाहरू भुल्न पाए हुन्थ्यो जस्तो लाग्छ जहिलेसुकै पनि तर कसैगरे एक रत्ति नभुलिँदो रहेछ जीवनयात्रामा ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?