ज्ञान उदास
मेरो आँखाको गहिराइमा तिम्रो शृङ्गार देख्छु
तिमीलाई मनले पूजा गर्ने तिम्रो मन्दिर देख्छु
कसरी भनुँ तिम्रो र मेरो लुकामारी हुन्छ
हरियाली कुञ्जमा म मेरो चैनपुर देख्छु ।
बिहान उठ्दा शिरमा तिम्रो सूर्य उदाको देख्छु
उत्तरतिर तिम्रो पछेउरीमा हिमाल खुलेको देख्छु
कसरी भनुँ तिमीलाई मैले देखेको छैन
सदा मनमस्तिष्कमा मेरो चैनपुर बलेको देख्छु ।
बदमासहरू तिम्रो स्वरूप लुट्न कोसिस गर्थे
तिम्रो छातीमा बगेको पिलुवा रोक्न खोज्थे
तैपनि म तिम्रो ममतामयी स्पर्शमा झुमेर
आकाशको रङ्गीन सौन्दर्यमा मेरो चैनपुर देख्थेँ ।
सतीदेवीको दायाँ आँखा साक्षी राखेर
तिम्रो दायाँबायाँका शीतल नदीहरू छोएर
सधैँ म तिम्रो विस्मृतिमा डुब्छु
तिम्रो स्मृतिमा रमाउँछु कवितामा चैनपुर लेखेर ।
माथि शिरमा माता सिद्धकाली छ हाम्रो
पुछारमा कलकल बग्ने मनोहर अरुण छ राम्रो
माथि आकाशमा सूर्य छोएर इन्दे्रणीभित्र रमाउँदै
अनन्त ताराचन्द्रमा भित्र चैनपुर खुल्छ हाम्रो ।
तिम्रो माटोमा यहीँ छ स्वर्ग मेरो
तिम्रो स्नेहमा खेल्दछ गर्व मेरो
तिमी नभए मलाई कस्ले चिन्दथ्यो र
तिमीसँगको मीठो सामीप्यमा छ हर्ष मेरो ।