logo
२०८१ बैशाख २६ बुधवार



लोमान्थाङको सौन्दर्य

शनिवार |


लोमान्थाङको सौन्दर्य


युवराज गौतम

हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने प्रायः मानिस मुक्तिनाथ, जोमसोम र कागबेनीको फन्को लाएर फर्किन्छन् । यहाँको प्रकृति र रहनसहनमा रमाएर यात्रालाई स्मरणीय बनाउँछन् तर यहाँभन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरूले यात्रालाई अझ बढी रोमाञ्चक बनाउँछन् । खुला र पठार क्षेत्र रहेको लोमान्थाङको सिर्सिरे बतास, ऐतिहासिक गुफा, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल–चीनको सीमा नाका कोरोलानजिकैका सेताम्मे समथर फाँटले यात्रालाई अविस्मरणीय नै बनाइदिन्छ ।

कालीगण्डकी नदीको तीरैतीर उराठ डाँडाहरू पार गर्दै पुगिने लोमान्थाङ साहसिक यात्रीका लागि एउटा अब्बल गन्तव्य हो । सन् १९९० को दशकयता मात्र विदेशीका लागि खुला गरिएको लोमान्थाङ पुग्दा मन साँच्चै रोमाञ्चक हुन्छ । आँखै अगाडि देखिने नीलगिरि र धौलागिरि हिमालको दृश्यले मन नै लोभ्याउँछ । प्राचीन गुफाले ध्यान खिच्छ । तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणका लागि विशिष्ठ गन्तव्य बनेको तल्लो मुस्ताङपछि अब माथिल्लो मुस्ताङ र मुस्ताङी राजाको दरबार रहेको लोमान्थाङ पछिल्लो समय नयाँ गन्तव्यका रूपमा परिचित छ ।
जोमसोमका होटल व्यवसायी कृष्ण सुवेदी बलिउडका चर्चित निर्देशकका समेत फिल्म सुटिङको गन्तव्य मुस्ताङ बनेकोमा पुलकित हुनुहुन्छ । हुन पनि दुई दशकअघि नै अमिताभ बच्चनले मुस्ताङ टेक्नुभएको रहेछ । सुवेदी भन्नुहुन्छ, “कुनै समय फिल्म ‘खुदा गवाह’को सुटिङ गर्न अमिताभ बच्चन, श्रीदेवी, डेनी डेन्जोङ्पा यहाँ आउनुभएको थियो ।” हुन पनि मुस्ताङ भनेपछि जोकोही पुग्न लालायित हुन्छन् । फिल्म सुटिङ मात्र होइन, कतिपय जोडीको हनिमुन गन्तव्य पनि मुस्ताङ बन्ने गरेको छ ।

चीनसँग सिमाना जोडिएका नेपालका १६ हिमाली जिल्लामध्ये मुस्ताङ पनि एक हो । त्यसमध्ये हालै मात्र सडक सञ्जालले जोडिएको कोरला नाका र नजिकै रहेको लोमान्थाङ पछिल्लो समय चर्चामा छ । नाकासम्म पुगेर पाइला राख्न र लोमान्थाङमा मुस्ताङी राजाको दरबार अवलोकन गर्न धेरै आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण राउन्डको यात्रा सकेर विदेशी पनि लोमान्थाङ उक्लिने गरेका छन् । स्थानीय छेवाङ गुरुङका अनुसार यहाँ आउने पर्यटक पुराताìिवक महìव बोकेका प्राचीन गुफा, राजदरबार, नाकाको समथर भूभाग, नौलो भूबनोट र मानिसको रहनसहन हेर्न आउने गरेका छन् ।

विशाल हिमाली मैदानमा पर्खालले घेरिएका लोमान्थाङका घरहरू आफैँमा आकर्षक छन् । घरका छानामाथि राखिएका दाउराका चाङ, बौद्धमार्गीका झन्डा र तिब्बती संस्कृति अर्को चाखलाग्दो विषय हो । आदिमकालको गढी र किल्ला मात्र होइन, आफूभन्दा होचो स्थानमा देखिने हिमशृङ्खला नियाल्न पाउँदा लोमान्थाङ अनौठो गन्तव्य लाग्न सक्छ । सिर्सिर चलिरहने बतासले आनन्दको अनुभूति दिलाउँछ । पुराताìिवक महìवका वस्तुको अवलोकनका लागि यहाँ पुग्नेले दरबार, गुम्बा, किल्ला र मानव बस्तीका गुफा हेरेर नयाँ तथ्य चाल पाउन सक्छन् । लोमान्थाङ दरबारबाहेक चराङ दरबार र घमी दरबार पनि आकर्षक लाग्न सक्छन् ।

लोमान्थाङ पुगिसकेपछि हेर्ने र बुझ्ने विषय धेरै छन् । अग्लो स्थानमा रहेका प्राचीन गुफा निकै आकर्षक लाग्छन् । गुफाभित्र तला, तला चढ्न भ¥याङ, भ¥याङमाथि घोप्टे, भाँडाकुँडा, हतियार आदि हेर्दा प्राचीनकालका मानिसले सुरक्षाका लागि गुफा रोजेको अनुमान लगाउन सकिन्छ । गुफा निकै व्यवस्थित र वैज्ञानिक लाग्छन् । करिब दुई हजार पाँच सय वर्षअघि हजगाभा भन्ने तिब्बती समूहले गाउँमा पटकपटक आक्रमण गर्न खोजेपछि गाउँलेले गुफा बनाएर बसेको भन्ने भनाइ छ ।प्राचीन गुम्बा र काँचो माटोबाट निर्माण गरिएका घर पर्यटकका आकर्षणमा पर्छन् । हुन त विश्वका १० उत्कृष्ट स्थलमा समेटिएको उपल्लो मुस्ताङ वास्तवमै प्राचीन इतिहासको साक्षी हो । १५औँ शताब्दितिर निर्माण भएका थुप्तेन गुम्बा, मोन्खर दरबार, छयोदेन गुम्बा, झयाम्पाल गुम्बाले पर्यटकका ध्यान तान्छन् । आठौँ शताब्दितिर तिब्बतका राजा ढिक्सुन थक्चेनले निर्माण गरेको भनिएको विश्वकै पुराना गुम्बा पनि लोमान्थाङ क्षेत्रमै रहेको बताइन्छ । त्यसैले बौद्ध दर्शनका अध्येता वा बौद्धमार्गीका लागि उपल्लो मुस्ताङ रोजाइमा पर्ने गरेको छ । यहाँका तिजी चाड, यार्तुङ जात्राको रौनकले पनि पर्यटकको मन रमाउँछ ।

उपल्लो मुस्ताङ चढिसकेपछि लोमान्थाङबाट २२ किलोमिटर टाढा कोरोला नाका रहेको छ । यहाँको २४ नम्बर पिलर अघिल्तिर घमाइलो फाँट र सेताम्मे हिउँमा रमाउनेहरू प्रशस्त भेटिन्छन् । चौडा सडक कोरोला नाकासम्मै पुगेकाले घुम्न असहज छैन । कुनै समय तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग मानिएको यो स्थान पुगिसकेपछि दामोदर कुण्डसम्म जानेहरू पनि प्रशस्त भेटिन्छन् ।

कालीगण्डकी नदीको शिर मानिने दामोदर कुण्ड आसपास छिनछिनमा रङ बदल्ने कुण्ड पनि रहेकाले पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो तालभन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । यहाँ पुग्न दुई दिन पैदल यात्र गर्नुपर्छ । लोमान्थाङ पुगेपछि छोटो दूरीको पदयात्रा, स्याउ तथा ओखर खेतीको अवलोकन पनि गर्न सकिन्छ ।

कसरी पुग्ने ?
समुद्री सतहदेखि तीन हजार ८४० मिटरको उचाइमा रहेको लोमान्थाङसम्म मोटर बाटो पुगेको छ । यो बाटो ठूला पहाड र चट्टान फोरेर निर्माण गरिएको कच्ची तर फराकिला छन् । करिब २५–३० किलोमिटरको यात्रामा एकान्त बस्ती भेटिन्छ । सडकछेउमा होटल खुलेका छन् तर खाना निकै महँगो छ । पोखरा र बेनीबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भएकाले महँगो परेको व्यवसायी बताउँछन् । सादा खानाको ३५० देखि ४५० रुपियाँसम्म पर्छ । होटलका कोठा पाँच सयदेखि दुई हजार रुपियाँसम्म पर्छन् ।

पोखराबाट जोमसोम ११३ किलोमिटर हो । जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ । सार्वजनिक यातायातमा पोखरा–जोमसोम एक हजार दुई सय रुपियाँ, जोमसोमबाट लोमान्थाङ एक हजार आठ सय रुपियाँ गाडी भाडा तोकिएको छ तर धेरैजसो पर्यटक गाडी रिजर्भ गरेर जान्छन् । जोमसोममा हवाई सेवा पनि रहेको छ । लोमान्थाङमा होटल र लज प्रशस्त खुलेकाले गाँसबासको समस्या पर्दैन । सधैँ हिउँ पर्ने भएकाले असोज–कात्तिक वा चैत–वैशाख लोमान्थाङ घुम्नका लागि उपयुक्त समय हो । हुवा र फापरको परिकारका साथै च्याङ्ग्राको सुकुटी यहाँको लोकप्रिय खाना हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?