logo
२०८१ बैशाख २७ बिहीवार



खानपानमा ध्यान

शनिवार |


खानपानमा ध्यान


ज्ञाननिष्ठ ज्ञवाली


शरीरलाई रोगको मन्दिर भनिएको छ– ‘शरीरं व्याधि मन्दिरम् ।’ यस्तो भनिए पनि हामीले शरीरलाई सकेसम्म रोग लाग्नै नदिने गरी हाम्रा कार्य अगाडि बढाउनुपर्छ । यसका लागि हामीले गर्ने नित्यकर्मदेखि लिएर अन्य हरेक कार्य तथा अपर्झट आइपर्ने जेजस्ता परिस्थितिलाई पनि सहज ढङ्गबाट लिएर अगाडि बढ्नुपर्छ ।

जीवनयात्रामा अनेक उतारचढाव आउँछन् । अनेक प्रकारका व्यवधानले घेरा हाल्छन् । यी सबैसँग सावधानीपूर्वक जुधेर अगाडि बढ्नुपर्छ । मूलतः हाम्रो खानपानमा हामीले विशेष ध्यान दिनुपर्छ । जतिसुकै विचार गरे पनि जतिसुकै खानपानमा ध्यान दिए पनि यस संसारमा मानिसलाई कुनै न कुनै प्रकारको दुःखले घेरेकै हुन्छ । हामीले कस्ता कस्ता रोग लागेमा के खाने के नखाने, यसबारे सङ्क्षिप्त जानकारी लिनुपर्छ । ठूलाठूला रोग लागे त अस्पताल गएर डाक्टरसँग परामर्श गरेर समाधान गर्नुपर्छ तर सानातिना सामान्य रोग लागे वा घरायसी उपचारबाट समाधान हुने भएमा त्यसतर्फ सतर्कता र सावधानी अपनाउनुपर्छ ।

प्रायः मानिसलाई रुघाखोकीले सताउने गर्छ । रुघाखोकी लागेमा हामीले खानपानमा समेत विशेष ध्यान दिनुपर्छ । यस्तो बेलामा अदुवा, बेसार, नुन, ज्वानो र तुलसीको पात मिलाएर पानीमा उमाली पिउने गर्नुपर्छ । तातोपानीको बाफ लिएर भिटामीन ‘सी’ भएका खानेकुरा खानु उपयुक्त हुन्छ । विशेष गरेर जाडो समयमा रुघाखोकीको बढी प्रभाव पर्छ । यस बेलामा चिसा खानेकुराहरू जस्तै ः चिसो पानी, सर्वत, आइसक्रिम खानु हुँदैन । यस्तो समयमा तातोपानी, तातो रसिलो खानेकुरा खानुपर्छ । यस्तो समयमा चोकरसहितको रोटी खानु राम्रो हुन्छ ।
यसैगरी रुघाखोकी लागेका बेला सुन्तला, मौसम, जुनार खानु राम्रो मानिन्छ । अदुवा, ल्वाङ, ज्वानो, सुकमेल मुखमा राखी चुसेर बस्दा पनि यसले आराम मिल्दछ । रुघाखोकीजस्तै प्रायः मानिसलाई सताउने अर्को रोग ज्वरो हो । यसले पनि धेरैलाई दुःख दिन्छ । शरीरमा तापक्रमको मात्रा बढेर पोल्ने, कमजोरी हुने, रिँगटा लाग्ने, निद्रा नलाग्नेजस्ता लक्षण देखिएर ज्वरो आएमा हामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो बेलामा प्रशस्त मात्रामा रसिलो कुरा खानुपर्छ । उमालेको मनतातो पानी, पच्ने खालका खानेकुरा, रहर (अडर)को पातलो रसयुक्त दाल, मुगको दालको रस खानु राम्रो हुन्छ । शरीर कमजोर भएका कारण तागतिला रसयुक्त खानेकुरा खानु महìवपूर्ण हुन्छ तर ती सुपाच्य हुनुपर्छ । ज्वरो घट्दै गएपछि फलफूलको रस, ग्लुकोज पानी खानु राम्रो हुन्छ । ज्वरो बढ्दै गएमा अस्पताल गएर जँचाई डाक्टरको सल्लाहबमोजिम खानेकुरा खानुपर्छ । यस्तो समयमा तारेका, पिरो हालेका, रेशा भएका खानेकुरा, अमिला फलफूल, घिउजस्ता चिल्ला पदार्थ सेवन गर्नु हुँदैन ।

पेट दुख्ने रोग पनि धेरैलाई हुन्छ । मूलतः खानेकुराकै कारणबाट पेट दुख्ने समस्या आइलाग्छ । आफूलाई हित नगर्ने खाना खाँदा, बढी मसलायुक्त खानेकुरा खाँदा, दूषित पानी पिउँदा कब्जियत हुँदालगायत अन्य कारणबाट पेटको समस्या हुन्छ । यसैले यो समस्या समाधान गर्नका लागि सफा पानीको सेवन गर्नुपर्छ । खानेकुरा मिलाएर खानुपर्छ । मिठो खानेकुरा पाएमा धेरै खानु हुँदैन । भोजभतेरमा जाँदा पनि धेरै खानु हुँदैन ।

पेट दुख्ने समस्या समाधान गर्नका लागि बिहान उठ्नेबित्तिकै दुई–तीन गिलास मनतातो पानी नियमित पिउने गरेमा धेरै समाधान हुन्छ । पेट दुःखेका बेला दही र भात पनि खान सकिन्छ । पखाला लागेमा नुन, चिनी, पानी वा जीवनजल सेवन गर्नुपर्छ । पातलो जाउलो बनाएर खाने गरेमा पनि पेटमा आराम हुन्छ । मुगको दाल, रहरको दाल रसिलो पारेर पिउन सकिन्छ । अमिलो, पिरो, चिल्लो कम खानुपर्छ । तातोपानीमा थोरै नुन घोलेर खाए पनि पेट दुख्न कम हुन्छ । खाली पेट धेरै समय बस्दा वा समय मिलाएर खानेकुरा नखाँदा पनि पेट दुख्ने समस्या आइलाग्ने भएकाले यसतर्फ सचेत हुनुपर्छ । धेरै मानिसले हरेक काम व्यवसाय गर्दा खान भुलेर पनि पेटको रोग निम्त्याउँछन् ।

रुघाखोकी, ज्वरो, पेट दुख्ने समस्याजस्तै अनेक सानातिना समस्याले मानिसलाई ग्रस्त बनाउँछ । यस्तो बेलामा आफैँ सचेत भएर व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यसम्बन्धी परामर्श लिनुपर्छ । समयमा उठ्ने, समयमा काम गर्ने, समयमा खाना खाने गर्नुपर्छ । खानपानसम्बन्धी सूत्रात्मक सल्लाह यस प्रकार छन्– खाना अर्थात् भोजन शरीरको औषधि भएकाले यसको सेवन मात्रा मिलाएर गर्नुहोस् । शरीरलाई शक्ति प्राप्त गर्न खाना अर्थात् भोजन चाहिने भएकाले शक्तिवर्धक खानेकुरा चिन्नुहोस् र मिलाएर खानुहोस् । पानी शरीरका लागि सबैभन्दा महìवपूर्ण भएकाले शुद्ध पानी पिउने गर्नुहोस्, पानी खाँदा बसेर विस्तारै खानुहोस् । सडेगलेका, बिग्रेका, बासी, हानिकारक खानेकुरा खाँदै नखानुहोस् । धेरै चिल्ला र मसला बढी प्रयोग गरिएका भारी खाना सके खाँदै नखानुहोस्, कहिलेकहिले खानै परे पनि थोरै मात्रामा चाख्नुहोस् र स्वाद मात्र लिनुहोस् । चिया, कफी, कोकजस्ता पेय पदार्थको सेवन गर्दा सतर्क हुनुहोस्, यी क्षणिक आनन्द प्रदान गर्ने कुरा हुन् । पौष्टिक र सादा खानेकुरालाई बढी महìव दिई त्यसैमा अभ्यास बढाउनुहोस् । दही र पनिर, अङ्गुर र मह, दूध र दही, दूध र अमिलो पदार्थ, लसुन र मह, खीर र दही हालेर बनाएको चुकौनी (अचार), मह र घिउ मिसाएर नखानुहोस् ।

यसैगरी, रेसा बढी भएका हरिया तरकारी, सागपात, फलफूल, दुग्धजन्य पदार्थहरू, गेडागुडीको रस, बजारका तयारी खानेकुराभन्दा घरमै बनाएका खानेकुरा सबैको सन्तुलित प्रयोग गर्नुहोस् । जतिसुकै ठूलाठूला बैठक, सभा, समारोह, भोज, वनभोज, कार्यालय, व्यवसायमा भए पनि वा अन्य जतिसुकै जरुरी कार्य भए पनि समयमा खानपान गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुहोस्, हामी खानका लागि बाँचेका होइनौँ तर बाँच्नका लागि सन्तुलन मिलाएर खानैपर्छ । एकै पटक धेरै खानेकुरा नखानुहोस्, जसले गर्दा हामीलाई पाचन प्रणालीमा सजिलो पर्छ । शरीरका लागि आवश्यक पर्ने भिटामिनयुक्त खानेकुरा बुझेर खानुहोस् र भिटामिन ‘डी’का लागि सम्भव भएसम्म बिहान एक घण्टा घाम तापेर बस्नुहोस् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?