logo
२०८१ मंसिर २१ शुक्रवार



सचेत भावक लठ्ठिने निबन्ध

शनिवार |


सचेत भावक लठ्ठिने निबन्ध


कलानिधि दाहाल

सच्चा स्रष्टा व्यक्तित्व आफैँमा एक रूपको जीवन बाँचेको हुन्छ । ऊ जहाँ जावस्– जीविकोपार्जनका लागि जागिरमा जावस्, व्यापारमा लागोस्, परदेश होमियोस् या स्वदेशमा नै रहोस् आफ्नो स्रष्टत्व अनुरूप आफूलाई खारेको हुन्छ । न उसलाई राज्यव्यवस्थाका तिगडमले छुन्छ, न कुर्सीका मादले उफार्छ, न पारिवारिक चाहनाले भ्रष्टताका दलदलमा फसाउँछ । जे बोल्छ– आचरण उस्तै, जे गर्छ– लेखन उस्तै, जे जस्तो छ ऊ सिर्जनाका चौडा फाँटमा रत्तिभर भिन्न नभई ऊ उस्तै देखिन्छ सर्वत्र, यो नै सच्चा स्रष्टत्वको उदाहरण हो । एकाध झुक्किएर पाइने यस्ता स्रष्टाका हारमा उभिनुभएको छ, निबन्धकार गोपीनाथ मैनाली । उहाँ निजामती कर्मचारीको माथिल्लो ओहदा सचिवबाट भर्खर अवकाश हुनुभएको छ ।

उहाँको हालसालै प्रकाशित निबन्ध सङ्ग्रह– ‘घाउ आफैँलाई दुख्छ’ साहित्य बजारमा आएको छ । यसमा जम्मा ३० वटा निबन्ध रहेका छन् । १९२ पृष्ठमा साजसज्जासमेत आकर्षक रहेको यस कृतिको गुदी सधैँ सबैका लागि महìवपूर्ण छ, ग्रहणीय छ, अवलम्बनयोग्य छ, व्यावहारिक रूपमा नै ।
आफ्नै कथा विशेषबाट सुरु भएको गोपीको निबन्ध यात्राक्रम बिदाइ शीर्षकमा टुङ्गिएको छ । जन्मस्थलप्रतिको मोह, स्वच्छ, कञ्चन प्रकृतिको काखमा प्राप्त हुने बालसुलभ सहज वातावरणको जीवनयात्राप्रतिको आकर्षणले निबन्धकारलाई भित्रैदेखि भिजाएको छ । चेतना विकासको चस्कासँगै सहर प्रवेशपछि उहाँ लामो समय निजामती जागिरको भुमरीमा होमिनु हुन्छ । निजामती कर्मचारी भनेको कुनै पनि देशको स्थायी सरकार हो । सही किसिमले राष्ट्रोत्थान र जनोन्नतितिर राजनीतिलाई लगाम कस्ने क्षमताको संवाहक हो कर्मचारीतन्त्र । त्यो असल भए देश विकसित हुन्छ, जनता सम्पन्न र सन्तुष्ट हुन्छन् । यस निम्ति हरक्षेत्रका कर्मचारीमा इमानदारी, नैतिकता, पेसाप्रतिको स्वस्फूर्त बफादारीपन हुनु अनिवार्य छ । प्रायः सबैजसो यस क्षेत्रका व्यक्तिहरूमा यस्तो संस्कारको विकास नदेखिनु नै नेपाल र नेपालीको दुर्भाग्य हो । निबन्धकार मैनाली स्वभाव, संस्कार एवं आचरण समेतमा सच्चा देशभक्त देखिनु हुन्छ यस निबन्ध सङ्ग्रहभरि ।

यथार्थोन्मुख आदर्श गोपीको यस कृतिले बोकेको गौरवशाली विशेषता हो । मानिस पदले, रवाफले, धुत्र्याइँ र छलछामले महान् बन्न सक्तैन, ठूलो बन्न सक्तैन । आन्तरिक गुणगरिमा मण्डित व्यक्तिलाई यी कुनै चीज चाहिन्नन् । यो गोपीको अठोट हो – निबन्धकार गोपीको । यस सन्दर्भमा विश्वकै इनेगिनेका कम तर भएका नेताहरू कृष्णप्रसाद, बीपी, मनमोहन, कतै कतै मदन भण्डारी हुँदै मण्डेला, लालबहादुर शास्त्री आदि थुप्रैका नाम लिनुभएको छ । जे गरिन्छ, त्यो भएको नभएर, परम्पराबाट आएका नभएर, मनोज्ञानको कसीमा, पेसागत बफादारको कसीमा घोटिएर खारिएर गरे मात्र मान्छे सच्चा र असल बन्न सक्छ भन्ने आग्रह निबन्धकार मैनालीका निबन्धका अक्षर अक्षरमा त छँदैछ । वास्तवमा उहाँ व्यक्ति, बोली, व्यवहार र आचरणमा पनि त्यस्तै हुनुहुन्छ । यो नै यथार्थोन्मुख आदर्श हो र यसमा उहाँ धेरै कम व्यक्तिमध्ये एक देखिनु हुन्छ ।

मित्रता आफैँमा मानव समाजको चोखो पद्धति हो, समग्र मानवीय सौजन्यको प्रतीक हो । यस्तो पवित्र मित्रता एकाध कतै भेटिए मात्र, नत्र मित्रलाई भ¥याङ बनाएर स्वार्थका खेती गर्ने मात्र भएको प्रसङ्ग सोदाहरण सटिक तरिकाले निबन्धकार प्रस्तुत गर्नुहुन्छ । यो प्राकृत मनोविज्ञानको मान्छेमा बाहेक अन्यमा सम्भव रहन्न । बिदाइको फेसन फूलमाला र अबिरमा सीमित तर गोपी अलग धारबाट अलग बढ्नु हुन्छ । व्यक्ति असल भए उसको अनुपस्थितिमा थालिएका असल कार्यको पनि सीमा लाग्ने प्रसङ्ग मात्र बिदाइका दुःखद पक्ष हुन्, नत्र असलको बिदाइ कहिल्यै सम्भव छैनमा पुग्नु अत्यन्त गहिरो दर्शनको उपज हो –गोपी त्यहीँ पुग्नुहुन्छ, स्तुत्य गहिराइ ।

अक्षर चेतना हो, चिन्तन हो । जीविकोपार्जनको स्रोत पनि हो र जीवन समुद्रमा हेलिँदै पार लगाउने डुङ्गामा पनि । अक्षरलाई गलत प्रयोगमा उता¥यौँ भने चोरडाँका र विश्वकै बडेमान तानाशाहका आविष्कारक पनि अक्षर नै हुन् भन्ने दोहोरो हेराइबाट उहाँ दर्शनको त्यही गहिराइमा डुबुल्किनु हुन्छ जहाँबाट सच्चा स्रष्टत्व पारदर्शी ऐनाजस्तै बनेर झल्मलाउँछ ।

‘‘घाउ आफैँलाई दुख्छ” निबन्ध सङ्ग्रहभित्रका जुनसुकै शीर्षकमा पसौँ सचेत भावक लठ्ठिन्छ । जीवन र जगत्का विराट विश्व मानचित्रलाई असल र खराब, सतह र गहिराइ, सत र असत, मनोविज्ञान र शरीर विज्ञानका चाहना, बफादारी र स्वार्थी इच्छा दुवैको व्यापक चिरफार गर्दैछ के र भए हुन्थ्यो केको निचोडमा पुग्नु निबन्धकारको चेतनात्मक चौडाइको चकाचौध मर्करी प्रकाश हो । अलिकति मात्र मनमा कालोपन, कपटी स्वभाव, ममात्र हुँको हँुकार वा अहङ्कार भएका व्यक्तिबाट यस्ता निबन्ध लेखिनु त कुरै छाडौँ अलिकति छेउछाउको सोचसम्म साङ्केतिक हुन सम्भव हुन्न । यस अर्थमा यस कृतिका निबन्धकार गोपीनाथ मैनालीको अन्तर पवित्र जलतरङ्गजस्तै मनोलोक स्पष्ट देखिन्छ ।

भाषिक आडम्बरीहरू शब्दकोश पल्टाएर सिद्धान्तका रौँचिरामा भावका विचारका विवेकलाई चितामा जलाउँछन् । ठिक उल्टो यस कृतिका कृतिकार देखा पर्नुहुन्छ । जनजिब्रोमा सहज उच्चारित हुने र भइरहेका सहज सरल सबै सरस शब्द छनोट भित्र विश्वका सर्वाङ्ग पक्ष अन्तर्भूत गराउन सफल हुनुभएको छ । साधारण शब्दसँग गम्भीर भावतरङ्गमा खेल्ने बेजोड क्षमता निश्छल मनोलोकभित्र मात्र सम्भव छ । गोपी यस प्रसङ्गमा अझ माहिर देखिनु हुन्छ ।

लेखक पेन्सनवाला कर्मचारी भएकाले यस क्षेत्रको चिरफार गर्ने क्रममा चाहिँ केही सङ्कुचन देखापर्छ । आफूलाई अन्तरसुधारका क्रममा अगाडि बढ्दा चोट पु¥याउने, पु¥याउन प्रयास गर्ने कथित देशभक्त हाकिमहरूका नामसमेत ठेली दिएको भए आत्मप्रकाशनको गौरवमय छवि जुन निबन्धको प्राण पनि हो अझ उज्यालिन्थ्यो । यस मामलामा निकै असल लेखक पनि खाँटी उत्रन सक्दैनन् । यो चाहिँ दुःखद पक्ष हो । जहाँका राष्ट्रसेवकमा इमानदारीपन देखिँदैन, विवेकले काम गर्दैन, फोहोरी राजनीतिक नेताका इसारा उल्झन बनेर देखा पर्छ तिनलाई जस्ताको तस्तै ठोक्न केको आपत्ति ?

अझ यो कृति ती बेइमानहरूले पढ्नु आवश्यक छ जो पेसागत इमानदार छैनन्, मानवीय विवेकको आसनमा छैनन्, जनोत्थान र राष्ट्रोत्थानको शिरपेचमा छैनन् । पदीय दायित्वलाई बेचेर भ्रष्टाचारको दलदलमा डुबाउँछन् । सस्ंथालाई च्याँखेमा पत्नी, परिवार र व्यक्ति आफ्नो भौतिक सुधारका सपना देख्छन् । यिनले कुर्सीका सामु राष्ट्रिय झण्डा झुण्डाएर बसेका बेला, सेवाग्राही लामो लामभित्र बिचौलियाले मोलतोल तोकिरहेका बेला ऐनासामु जुल्फी कोरेर बिचौलियासँग घुसको अंशबण्डा गरिरहेका बेला ऐनाजस्तै यस कृतिलाई बनाउँदै पानापाना पल्टाए अलिकति सद्बुद्धि सद्विचारको, सद्भावको, सौजन्यको र समविचारको जन्मसँगै सेवाग्राहीले सहज सेवा पाई कर्मचारीप्रति आस्था र सम्मान जन्मन सक्थ्यो कि ? 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?