logo
२०८१ बैशाख २० बिहीवार



उपहार के दिऊँ ?

शनिवार |


उपहार के दिऊँ ?


दीप्स शाह

रोजगारीको क्रममा केही वर्ष परदेशमा रहँदा धेरैखाले अनुभव र अनुभूतिहरू सँगाल्ने अवसर जुर्यो । तीमध्ये लगभग सबै नै मिठा र सकारात्मक अनुभूतिहरू नै थिए जसलाई फर्केर हेर्दा आज पनि मैले ती हरेक घटना र दृश्यहरूबाट केही न केही जीवनोपयोगी कुरा सिक्ने मौका पाएँ जस्तो लाग्छ तर एउटा सम्झनाले भने मलाई सधैँ झक्झक्याइरहेको हुन्छ ।

इजरायलको प्रमुख पर्यटकीय सुन्दर सहर एलातको यात्राका क्रममा बसमा एउटा पढन्तेसँग चिनजान भएको थियो । उसले तन्मयताका साथ पढिरहेको डान ब्राउन को ‘डिसेप्सन पोइन्ट’लाई मैले बढ्तै घुरेछु क्यार, हँसिलो पढन्तेले उज्यालो मुस्कानसहित सोधेथ्यो, “आत रोच्सा लिक्रो हा जे ? (तिमी यो पढ्न चाहन्छौ ?)’ जवाफमा ‘सरी’ भन्दै मैले परिचय गरेँ । उसको नाम थियो ओफिर जेराफी । दक्षिणी इजरायलको फरान गाउँको किसान रहेछ ऊ । किसान पढिरहेछ यात्रामा पनि ! मलाई थोरै अचम्म लाग्यो । यता हाम्रोमा किसान र पढाइको खास तालमेल नहुने वातावरणले होला त्यसबेलासम्म पठन संस्कृतिबारे मेरो समझ त्यस्तै थियो ।

उसले किताब हातैमा दिएपछि ओल्टाइपल्टाइ रुचिपूर्वक मुसारेँ र उसैलाई फिर्ता दिएँ । पढिराखेको पन्नाबीच बुकमार्क राखेर किताब झोलामा थन्क्यायो र बाँकी यात्राभरि हामी गफियौँ नेपाल–इजरायलका अनेकानेक प्रश्नहरू सोध्दै र जवाफ दिंँदै । त्यसपछि त्यताको बसाइक्रममा धेरै पढन्ते देखेँ मैले । प्रायः इजरायलीको सिटिङ रुम, सिरानी र बाथरुममा समेत पुस्तक हुने रहेछ । पार्क, बगैँचा, बसस्टेसन, समुद्री किनार वा जहाँतहीँ यात्रामा होस् केही न केही पढिरहेका इजरायलीहरू देखेपिच्छे म उही पढन्ते किसानलाई सम्झन्थेँ । त्यसले मलाई सम्झाउँथ्यो नेपालमा कुनै पुस्तक पढिरहेको देख्दा कतिले सोध्थे के परीक्षा आउँदैछ र ? यसैको प्रभावले होला सुरुसुरुमा मलाई ती पढन्तेहरू देख्दा सबका सब कुनै परीक्षाको तयारीमा जुटिरहेजस्तो लाग्थ्यो । त्यस्तैमा एकदिन मसँग असाध्यै झ्याम्मिने छिमेकी सानी केटी मियाको जन्मदिनको बेला उसको साफ्ता (आमै) ले उसलाई उपहारस्वरूप पुस्तक मेलामा लैजाने भनेर मलाई पनि सँगै जान असाध्यै कर गरी । म त उसै पुस्तकलोभी मान्छे नजाने कुरै थिएन तर त्यो जम्माजम्मी पाँच वर्षकी बच्चीको पुस्तक मेलामा जाने उत्साह देखेर म झनै रोमाञ्चित थिएँ ।मेलाभित्र पसेपछि मेरो हात छोडेर स्टलपिच्छे सानी मियाको उछलकुद आफैँमा सुन्दर दृश्य थियो मेरा लागि । अझै अचम्म त मियाजस्ता स–साना भुराभुरीहरू आआफ्ना अभिभावकसँगै बालपुस्तक स्टलतिर रमाइरमाइ मनपर्दो पुस्तक छानिरहेका डफ्फा डफ्फा राख्नुमा थियो ।

त्यसअघि मैले नेपालमा कुनै पनि पुस्तक मेलामा त्यति धेरै बालपुस्तकका स्टलहरू र तिनमा झ्याम्मिने उत्सुक बालअनुहारका त्यतिका डफ्फा देखेकै थिइनँ । इजरायलका ठूला मानिस त किसान पनि पढन्ते देखेकै हो तर त्यति साना बच्चाहरूमा पनि त्यो विधि पठन रुचि ! अझै त्यो सानी केटीले एउटा चित्रकथाको पुस्तक मसँग बर्थडे गिफ्ट किनिमागेपछि म धेरै कुरा सोच्न बाध्य भएँ । कि मैले नेपालमा कहिले कसैलाई उपहारस्वरूप कुनै पुस्तक दिएँ ? वा कसैले मलाई दियो ? वा कुनै साना नानीले मसँग उपहारमा कहिल्यै कुनै पुस्तक मागे ? अहँ ! त्यो बेलासम्म पुस्तक पनि त्यति उत्सुकताको उपहार हुन्छ भनेर मैले त कहिल्यै सोचेको पनि थिइनँ ।

त्यसपछि मैले तिनीहरूका पढन्ते तथ्याङ्क खोजी हेरेँ । त्यहाँका १६–६५ वर्ष उमेरका करिब ४१ प्रतिशत मानिसले कम्तीमा हप्तामा एकपटक अवश्य कुनै न कुनै पुस्तक पढ्दा रहेछन् । त्यसमा चलेका पुस्तक पढ्ने करिब २५ प्रतिशत, युवासम्बन्धी पुस्तक पढ्ने १५ प्रतिशत, परिकार र गैरआख्यानसम्बन्धी पुस्तक पढ्ने ६–७ प्रतिशत रहेछन् । गैरआख्यानमा चाहिँ ज्यादाजसो जीवनी पढ्दा रहेछन् । अनि अचम्म ! त्यहाँको पठन आँकडाको १६–२० प्रतिशत हिस्सा त बालपुस्तक पठनले नै ओगट्दो रहेछ ! अर्थात् बालबालिकाहरू पनि विद्यालय–पुस्तक बाहेक त्यति धेरै पठनक्रियामा संलग्न हुँदा रहेछन ! अझै मेरा लागि रोचक त त्यहाँका महिलाहरू पुरुषभन्दा बेसी पढन्ते रहेछन् ! ४७ प्रतिशत पढ्ने महिलाहरू भएको इजरायलमा पुरुषहरू भने ३४ प्रतिशत मात्रै पढन्ते भएको तथ्याङ्कले देखायो । यहाँँसम्म कि इजरयाली समाजमा उपहारमा बढी चल्ने भनेको फूलको बुके, रक्सीको सिसी र पठनीय पुस्तकहरू नै बढी रहेछ ।

त्यो सबले मलाई घोत्लिन बाध्य बनायो कि हामी कति पढ्छौँ ? केका निम्ति पढ्छौँ ? कुनै डिग्री हासिल गर्न, परीक्षा सपार्नबाहेक पनि पढ्ने रुचि भएका नेपाली कति छौँ ? हाम्रोमा पुस्तक मेलाको अवस्था कस्तो छ ? कस्ता पुस्तक बेसी पढिन्छ ? सार्वजनिक पहुँचका पुस्तकालयहरू कति छन् ? यी यावत प्रश्नमध्ये धेरै त अनुत्तरित नै रहे । हुन त साक्षरताको दर पहिलेभन्दा सुधार भएकै छ । पढ्ने संस्कारको बढोत्तरी पनि केही हदसम्म भइरहेकै छ तर पढन्ते महिला र पुरुषको कुरा गन पर्दा पुरुषको तुलनामा निकै नै कम महिलाहरू पढ्ने देखियो । हाम्रोमा पुरुषको तुलनामा महिला त झन्डै आधाजतिले मात्रै पढ्दा रहेछन् । हुन त यो त्यति निराश नै हुनुपर्ने तथ्याङ्क त होइन तर पढ्ने बानीको विकास वयस्क उमेरमा पुगेर केवल समय कटाउने सोखको रूपमा मात्रै गर्छन्, यो पनि कमैले मात्र ।

बालबालिकालाई कलिलै उमेरदेखि पुस्तकसँग रमाउने, कुनै पनि बेला केही न केही पढ्न प्रोत्साहन गर्ने गरेमा उमेरसँगै ती बढेर युवादेखि प्रौढ हुँदासम्म पनि पढिरहने बानीको विकास हुने रहेछ । केही न केही पढिरहनु भनेको मान्छे एक्लो नहुनु हो । निराश र चिड्चिडे नहुनु हो । पढिरहेको हरसमय मान्छेले केही न केही नयाँ कुरा, नयाँ ठाउँ, नयाँ ज्ञान हासिल गरिरहनु हो । यसरी हरक्षण केही पढिरहनु भनेको केही सिकिरहनु हो । मान्छे सभ्य र शिष्ट हुनु हो । नैतिक र व्यावहारिकताको दायरा बढ्नु हो । यसका लागि बालबालिका लक्षित प्रकाशनमा बढोत्तरी हुनु जरुरी छ । पठनसंस्कृति फैलिनु जरुरी छ । पठनसंस्कृति बढाउन हामीले धेरै खालका ससाना काम गरेर पनि ठूलो परिवर्तनको ढोका खोल्न सक्छौँ । जस्तो कि चाड र अवसरहरूमा पुस्तक उपहार आदानप्रदानको प्रचलन बढाउने । याद गरौँ अपवादबाहेक झगडिया अभिभावकको सन्तान चिड्चिडे हुन्छन् । जँड्याहा बाबुको छोरोले रक्सी खानु सामान्य ठान्छ । पढन्ते मातापिताको सन्तानमा पुस्तकमोह कहीँ न कहीँ हुर्कन्छ । यसर्थ पठनसंस्कृतिलाई बढावा दिन कम्तीमा हामी यति त गर्नसक्छौँ कि उपहारमा पुस्तक आदानप्रदान गरेर ! ल भन्नुस् त म तपाईंंलाई उपहार के दिऊँ ?

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?