logo
२०८१ जेष्ठ ६ आईतवार



अबोध एउटी नारीको उद्घोष ! (कविता)

शनिवार |


अबोध एउटी नारीको उद्घोष ! (कविता)


विष्णु सुवेदी

तिम्रा विरुद्ध उभ्भिनु मेरो एक मात्र धर्म हो !
आँखाबाट रगतका फाल्सा छादेर जीवनलाई धेरै चोटि
नियालेको छु मैले !

धेरैपटक झिकेको छु मुटुमा बिझेको किला !
खुल्लेआम मेरो मासुको मूल्य बीचबजारको भीडमा तोकिदिएर तिमीले लिलाम गरिदिएका हौ मेरा बाध्यताहरू
ठीक त्यसैबखत मलाई लागेको हो तिम्राविरुद्ध बोल्नु मेरो कर्म हो !

नङ्गाएर अङ्गअङ्ग पारेर टुक्राटुक्रा उन्माद ओकलेर खेल्नसम्म खेलेपछि भनेका हौ तिमीले
साह्रै दुर्गन्धी ! गतिछाडा तिमीसँग एउटा प्रश्न सोध्न छ मलाई अत्तरभन्दा बैँस गन्ध मिठो
कुन मुखले गाएका थियौ त्यतिबेला !

आदर्शको बाटो भएर आएका हौ तिमी पनि यो जीवनको भीरमा
मनलागी पिङ खेल्न ।

सुकेर सिन्का परेका मेरा हातका औँला गहिरो खाल्डोमा भासिएका
एकजोडी अँध्यारा आँखा
रोगले थिलथिलो पारेको
मेरो जीर्ण मांसपिण्ड
कुन आँखाले देखेर
गरेथ्यौ बयान उर्बसी, अप्सरा र मेनका ।

यो नर्क त्यागेर नयाँ सपना खोजिरहेकी म बलात समाएर पाखुरामा
भन्यौ रे तिमीले ! छी !

फूलकै पूजा गरेर फूल कुल्चने
तिम्रो संस्कारलाई धिक्कार आदर्श छादेर आदर्शै पिउने तिम्रो मान्यतालाई धिक्कार
आफू नाङ्गिएर अर्कालाई नाङ्गै देख्ने तिम्रो विवेकलाई धिक्कार !

यतिबेला संसारसामु
तिम्राविरुद्ध बोल्नु
मेरो उत्तम कर्म हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?