राजेशमान के.सी.
मानव जीवनमा सकारात्मक सोच र चिन्तनको ज्यादै ठूलो महत्त्व हुन्छ । विज्ञानले पनि सकारात्मक सोचको महत्त्वबारे प्रमाणित गरिसकेको छ । विज्ञानले के पुष्टि गरेको छ भने हामी जति सकारात्मक सोच राख्छौँ, हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा त्यति नै सकारात्मक प्रभाव पर्ने गर्छ । अर्थात् सकारात्मक सोच राख्ने व्यक्ति शारीरिक र मानसिक रूपमा पनि स्वस्थ र तन्दुरुस्त रहन सक्छ तर हामीले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने सकारात्मक सोच राख्नका लागि हाम्रो दैनिक कर्म र व्यवहार पनि सकारात्मक नै हुनुपर्छ । नत्र भने कामकुरा चाहिँ नकारात्मक गर्ने अनि सोचाइ मात्र सकारात्मक राख्न खोज्ने हो भने त्यसको कुनै अर्थ रहँदैन । जस्तो– चुरोट र खैनीको अम्मली बन्ने अनि मलाई क्यान्सर लाग्दै लाग्दैन भन्ने खालको सकारात्मक सोच राखेर हुँदैन । भक्तपुरको बाटो हिँड्ने अनि म अवश्य पनि काठमाडौँ पुग्छु भन्ने किसिमको सोचाइ राखेर पनि हुँदैन ।
यदि हामीले आफ्नो मनमस्तिष्कलाई सकारात्मक सोचतर्फ उन्मुख गराउने हो भने हाम्रो कर्म र व्यवहार पनि सोहीअनुरूप सकारात्मक हुनुपर्छ । हामी जति असल कर्म गर्दै जान्छौँ, त्यही मात्रा वा अनुपातले हाम्रो विचारमा पनि शुद्धता आउन थाल्दछ । यसको विपरीत हामीले गलत कर्म अथवा गलत व्यवहार गर्दै गयौँ भने हाम्रो विचार र सङ्कल्प पनि सोहीअनुरूप प्रदूषित बन्दै जान्छ । जब मानिसको सोचाइ नकारात्मक हुन्छ, तब उसले हरेक कुरामा नकारात्मकता देख्न थाल्दछ । यसरी नकारात्मक सोचाइ राख्ने मानिस शारीरिक र मानसिक रूपमा पनि रोगी बन्न पुग्छ । आज मानिस भौतिक दृष्टिले सुखी र सम्पन्न देखिए पनि आध्यात्मिक रूपमा भने कमजोर बन्दै गएको छ । आध्यात्मिक रूपमा देखिएको यही कमजोरीले मानिसको विचार र सङ्कल्प पनि सकारात्मकभन्दा नकारात्मक बन्दै गएको हो । त्यसैले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउन आध्यात्मिक जागरण ल्याउनु पर्छ ।
जीवनमा सकारात्मक सोचको विकास गर्ने एउटा महत्त्वपूर्ण पक्ष सन्तोष हो । असन्तुष्ट मानिसले कहिल्यै पनि सकारात्मक सोच राख्न सक्तैन ।
सन्तोष नै सबैभन्दा ठूलो सुख हो । जब मानिस सन्तोष रहने अभ्यास गर्छ, तब उसको सोचाइमा पनि सकारात्मक परिवर्तन आउन थाल्छ । असन्तोष मानिस कहिल्यै पनि सुखी रहन सक्तैन । बरु ऊ सधँै नकारात्मक सोच र चिन्तनमा नै डुबिरहेको हुन्छ । त्यसो भन्दैमा फेरि अपूm त ‘सन्तोषी मान्छे परियो’ भनेर दिनभरि खाटमा सुतेर बसिरहनुपर्छ भन्ने पनि होइन । सन्तुष्ट रहनु भनेको कर्म नगरी त्यत्तिकै निष्क्रिय बस्नुपर्छ भन्ने कदापि होइन ।
सन्तुष्ट रहनु भनेको आफ्नो कर्ममा निरन्तर लागिरहनु र त्यसबाट जे–जस्तो फल प्राप्त हुन्छ, त्यसलाई सहज रूपमा ग्रहण गर्नु र आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने प्रण गर्नु हो । यस अर्थमा अल्छी र निष्क्रिय व्यक्ति सकारात्मक रहन सक्तैन । स्वास्थ्य विज्ञानले पनि प्रमाणित गरिसकेको छ कि मानिस जति नकारात्मक सोच राख्छ, त्यति उसको शरीरको रक्त प्रवाह पनि विषाक्त बन्दै जान्छ । फलस्वरूप उसको रोग प्रतिरोधात्मक क्षमता घट्न गई उसलाई विभिन्न प्रकारका रोगले आक्रमण गर्न थाल्दछ । जब मानिस रोगी हुन्छ, तब स्वाभाविक रूपमा उसले जीवनमा उत्पादनशील कार्य गर्न सक्तैन । उसको जीवनको महìवपूर्ण समय त्यत्तिकै खेर जान्छ । अन्ततः ऊ स्वयंका लागि मात्र नभई अरूका लागिसमेत बोझ बन्न पुग्छ । तसर्थ आध्यात्मिक ज्ञानले ओतप्रोत, स्वस्थ र सकारात्मक चिन्तनबाट नै हिंसारहित समाजको निर्माणमा टेवा पुग्छ ।
मनुष्य जीवन सुख दिन, सुख लिन, प्रेम सद्भावना बाँड्न, प्रेम सद्भावना प्राप्त गर्न, खुसी रहन, खुसी बाँड्नका लागि नै प्राप्त भएको अनुपम उपहार हो । मनमा यदि सकारात्मक विचार र सङ्कल्प चल्छन् भने मानिसभित्रको शक्ति पनि त्यही अनुपातमा वृद्धि हुन पुग्छ तर यसको विपरीत नकारात्मक प्रकृतिका विचार मात्र मनमा उत्पन्न भइरहन्छन् भने परिणाम पनि त्यहीअनुसारको प्राप्त हुन जान्छ । निश्चित रूपमा हामी जस्तो सोच्दछौँ, त्यस्तै प्रकारको व्यक्तित्व र जीवनशैली हामी निर्माण गरिरहेका हुन्छौ“ । त्यसैले मानिसको मनमा चिन्ता, भय, तनाव र हिंसाको भावना उत्पन्न हुनुका मूल कारण पनि यही सत्य ज्ञान र सकारात्मक सोचको अभाव नै हो भन्न सकिन्छ । मानिस भौतिक सुख सुविधामा मात्र अत्यधिक लिप्त नभएर आध्यात्मिक ज्ञानबाट पनि ओतप्रोत हुनुपर्छ । यसबाट हामी आफ्नो कर्मक्षेत्रमा निश्चिन्त र निर्भिकताका साथ सजग र चेतनशील बनेर लाग्न सक्छौँ ।
मानिसमा सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीबीच एकअर्कासँग अन्तरनिहित सम्बन्ध हुन्छ । त्यसैले सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीलाई दिगो रूपमा अपनाउन सक्ने व्यक्तिले नै सबै क्षेत्रमा सन्तुलन कायम राख्दै सबैको आशीर्वाद र शुभभावना प्राप्त गरी सुखद र आनन्दमय जीवनयापन गर्न सक्छ । अरूलाई पनि त्यस किसिमको जीवन निर्वाह गर्ने प्रेरणा दिन सक्छ । यसबाट हिंसारहित स्वच्छ र स्वस्थ समाज निर्माणमा पनि महìवपूर्ण टेवा पुग्न जान्छ ।