गोपी ज्ञवाली
लुम्बिनी प्रदेशको पूर्वी सिमानाको रूपमा रहेको नवलपरासी जिल्लामा दर्जनौँ ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक स्थल छन् । यी स्थानहरू रामग्राम, देवदह (पण्डितपुर), मदरबाबालगायतको नाम लिन सकिन्छ । जिल्लाको विभिन्न क्षेत्रमा खनजोत गर्दा, कुवा खन्दा, विभिन्न स्थानमा घर बनाउँदा विभिन्न प्रकारका प्राचीन वस्तु एवं संरचना भेटिने गरेका छन् । यसरी ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका स्थान र वस्तुहरू फेला परे पनि सम्बन्धित निकायबाट यी स्थल र वस्तुको अध्ययन, उत्खनन एवं आवश्यक जाँच भने हुन सकेको छैन । यी क्षेत्रका प्रागैतिहासिक स्थलको उत्खनन एवं अध्ययनका कामले सम्बन्धित निकायलाई पर्खी बसेका छन् । यस्तै ऐतिहासिकता बोकेका स्थलमध्ये बर्दघाट नगरपालिकाको बुद्धमङ्गल ताल पनि एक हो ।
इतिहासहरू बङ्ग्याएर लेखेको र लेखाइएको पनि पाइन्छ । इतिहास गलत हुन सक्छ तर प्रागैतिहासिक प्रमाण भने झुट बोल्दैनन् । यी गलत हुन सक्दैनन् । शब्दको हिसाबले कुरा गर्ने हो भने पुरातìव अङ्ग्रेजी भाषाको ‘प्रिहिस्ट्री’बाट आएको शब्द हो । जसमा ‘प्रि’को अर्थ पहिला र ‘हिस्ट्री’को अर्थ इतिहास अर्थात् लिखित इतिहासभन्दा पनि पहिलेको इतिहासको अध्ययन गर्ने विज्ञान भन्ने बुझिन्छ ।
गौतम बुद्धको जन्मस्थलको खोजीका क्रममा रुपन्देही जिल्लाको लुम्बिनीमा सन् १८९६ मा अशोक स्तम्भ भोटिएपछि लुम्बिनी कहाँ थियो भन्ने विवाद सकियो । अर्थात् लुम्बिनीको खोजीको क्रमले विराम पायो । लुम्बिनी पत्ता लागेपछि गौतम बुद्धकी आमा मायादेवीको घर तिलौराकोट र मायादेवीको माइत प्राचीन कोलीय राज्यको क्षेत्र कहाँ कहाँ थियो भन्ने विषय पुरातìवविद् र इतिहासका अध्येताहरूका लागि नयाँ खोजीको विषय बन्न गयो । यसै क्रममा मायादेवीको माइती घर अर्थात् गौतम बुद्धको मावली स्थल कोलिय राज्यको क्षेत्र कहाँसम्म थियो ? वा त्यो समयको मानवीय सभ्यता, कला, संस्कृति, सामाजिक विकासको स्तर कस्तो थियो आदि विषय अहिले पनि खोज र अनुसन्धानका विषय बनेका छन् ।
दाउन्नेदेखि पश्चिमको भाग वा नारायणी नदीको पश्चिमी भागदेखि रुपन्देहीको भलुही खोला (प्राचीन नाम रोहिणी)सम्मका भागमा कोलीय राज्य (बुद्धको मावली) रहेको अहिलेसम्मका अध्ययनले देखाएको छ । यस क्षेत्रमा गौतम बुद्धले ज्ञान प्राप्तिपछि पनि आएर विभिन्न समयमा ज्ञान दिने काम गरेको पाइन्छ । त्यसैले अहिले लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीदेखि रुपन्देहीको लुम्बिनी हुँदै कपिलवस्तुको तिलौराकोटसम्मको भागलाई बुद्ध करिडोर घोषणा गरी बृहत् लुम्बिनीको योजना अगाडि सारेको छ ।
गौतम बुद्धको मावली स्थान कोलीय राज्यको राजधानी देवदह, त्रिवेणीसुस्ता गाउँपालिकामा रहेको जितपुरगढी, सुनवल नगरपालिकाको वर्दगोरिया मन्दिर परिसर, सुनवल–८ को बैरगनाथ मन्दिर क्षेत्र, सुनवल वार्ड नम्बर ७ स्थित देवदह पोखरी क्षेत्र एवं बर्दघाट नगरपालिकाको बुद्धमङ्गल ताललगायत दर्जनौँ स्थान र त्यहाँबाट प्राप्त वस्तु नवलपरासीमा छिरलिएर रहेका छन्, जसको विस्तृत अध्ययन, उत्खनन हुन बाँकी छ ।
केही भारतीय पुरातìवविद् एवं इतिहासकारहरूले बुद्धकालीन ऐतिहासिक देवदह भारतको महाराजगन्जस्थित बनरसियामा रहेको दाबी गरिरहेको बेला पछिल्लो समय (विसं २०६८–२०७३)मा पण्डितपुरमा गरिएको उत्खनन र प्राप्त प्रमाणले ऐतिहासिक देवदह (प्रचीन कोलिय राज्यको राजधानी) नवलपरासीको पण्डितपुरमा रहको प्रमाण फेला परेसँगै बुद्धसँग सम्बन्धित अन्य क्षेत्रहरूसमेत यिनै क्षेत्रमा रहेको अनुमान गरिएको छ । अब कोलीय राज्यको राजधानी देवदहको अध्ययनको क्षेत्र साँघुरिएको अनुमान गरिएको पुरातìव विभागका पुरातìव अधिकृत भाष्कर ज्ञवालीले पनि बताउनुभएको छ ।
यसैक्रममा बर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक बुद्धमङ्गल तालको पनि अध्ययन एवं उत्खननको आवश्यकता खड्किएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि १० किलोमिटर र पूर्वपश्चिम राजमार्गको बर्दघाट चिसापानीदेखि सात किलोमिटर दक्षिणतर्फको दूरीमा रहेको दबिला गाउँको बीचमा बुद्धमङ्गल ताल छ । यस तालको बीचमा स्थानीय सरकारले एउटा बुद्धको मूर्ति स्थापना गर्नुबाहेक केही पनि नगरेको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् । बुद्धकालीन समयको भन्दा पनि पुरानो समयको यो तालको संरक्षण, प्रचारप्रसारको काममा स्थानीय सरकारको ध्यान नजाँदा यो ऐतिहासिक ताल र यस क्षेत्रको ऐतिहासिकता ओझेलमा परेको छ । यस तालसँग जोडिएका विभिन्न प्रकारका किंवदन्ती प्रचलित भए पनि गौतम बुद्धले आफ्नो मावलीस्थल देवदह आउने क्रममा बुद्धमङ्गल तालको नजिकै बसेर दबिलाका स्थानीयवासीलाई ज्ञान दिएको र एक रात यहीँ बसेको भन्ने भनाइ पनि छ ।
यो तालसँग जोडिएको दबिला क्षेत्रमा स्थानीयवासीले घर बनाउने क्रममा वा पानीका लागि कुवा खन्ने क्रममा प्राचीन समयका इँटा, खपडाका टुक्रालगायत विभिन्न प्रकारका वस्तु फेला पर्ने गरेको छ तर सम्बन्धित निकायले चासो नदिँदा यी प्राचीन प्रमाण नष्ट हुँदै गएका छन् । टाढाटाढाबाट बुद्धसँग सम्बन्धित जानकार व्यक्ति दबिला क्षेत्र र बुद्धमङ्गल ताल खोज्दै आउने गरेको भए पनि यस क्षेत्रको ऐतिहासिक महत्त्व केकति छ भनेर त्यति अध्ययन भएको पाइँदैन ।
ताललाई बुद्धको समयभन्दा पनि पहिलेको मानिन्छ । तालको वरपर बुद्धको समयमा बाक्लो बस्ती रहेको थियो तर पछिल्लो समय यहाँको बस्ती पातलियो । अहिले यो तालको बाहिरी भागमा बाक्लो जङ्गल छ । जङ्गलको फँडानी गरी नेपाल सरकारको पुनर्वास कम्पनी आयोजनाले २०३१ सालमा यो क्षेत्रमा नयाँ बस्ती बसाएको थियो । यो बस्तीको नाम दशरथ बस्ती राखिएको थियो । तालको अतिक्रमण रोक्नका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट पोखरीको चारैतर्फ सिमेन्टको डिल बनाइएको छ भने स्थानीय सरकारले पोखरीको चारैतर्फ विद्युतीकरण गरेको छ तर ताल क्षेत्रको अध्ययन, उत्खनन एवं उचित प्रचारप्रसार भने हुन सकेको छैन ।
करिब छ बिघा क्षेत्रमा फैलिएको यो तालमा वर्षैभरि पानी सुक्दैन । विभिन्न प्रकारका पाहुना चरा यहाँ आउने गरेका छन् । जाडोको समयमा साइबेरियन चरासमेत यो तालमा आउने गरेको भनिन्छ । जैविक वनस्पती एवं जीवसमेत यो तालमा पाइन्छ । बुद्धकालमा सातवटा नगरमध्ये एउटा विकसित नगरलाई हलिदावसन भन्ने गरिन्थ्यो । त्यो ऐतिहासिकतालाई झल्काउन स्थानीय सरकारले दविला ताल क्षेलाई हलिदावसन नगर घोषणा गरेको छ ।