logo
२०८१ बैशाख २२ शनिवार



नेपाली अर्थतन्त्रको चिरफार

शनिवार |


नेपाली अर्थतन्त्रको चिरफार


जुनारबाबु बस्नेत

नेपाली अर्थतन्त्र अहिले सङ्कटको चौघेरामा छ । आयात उकालो लागेको छ भने त्यो भीमकाय आयात खरिद गर्न विदेशी मुद्राको अभाव हुँदैछ । रुस र युक्रेनबीच चलेको युद्धले अन्तर्राष्ट्रिय भाउबेसाह उँभो लाग्दो छ । कच्चा पेट्रोलियमको भाउ बढेर थामिनसक्नु भएको छ । सबैतिर मान्य मुद्रा अमेरिकी डलर महँगिँदै जाँदा नेपाली मुद्रा आफैँमा अवमूल्यन भएको छ । देशको स्वनिर्भर अर्थतन्त्रको लक्ष्य अलमल भइरहेको छ । यस्तो बेला नेपाली अर्थतन्त्रको आयाम समेटेको पुस्तक सार्वजनिक हुनु बिरामीलाई औषधिजस्तै हो । डा. रेवतबहादुर कार्कीले हालै ल्याउनुभएको यो पुस्तकले नेपाली अर्थतन्त्रको सैद्धान्तिक र व्यावहारिक चिरफार गरेको छ । अर्थतन्त्र सुधार गर्ने अनेक उपायसमेत सुझाएको छ ।

पुस्तक अर्थतन्त्रको परिचयात्मक खण्डबाट आरम्भ भएको छ । सामान्य पाठकले बुझ्ने गरी अर्थशास्त्र र अर्थतन्त्रको परिचय रसिलो छ । अल्पविकसित नेपालको अर्थतन्त्रका प्रमुख विशेषता शीर्षकले नेपाली अर्थतन्त्र चिनाउने आँखी झ्यालको काम गरेको छ । अर्थतन्त्रका पछिल्लो चरित्र चिनाउने झलक अनि नेपाली अर्थतन्त्रका मूलभूत परिसूचकलाई परिचयात्मक खण्डमै सूत्रबद्ध गरिएको छ ।

परिचयात्मक खण्डपछि बृहत् अर्थशास्त्रका आयाम समेट्न चारवटा क्षेत्रमा विषयवस्तुलाई विभाजन गरिएको छ । यो क्षेत्र विभाजनलाई आयाम भन्दै पहिलो क्षेत्रलाई पहिलो खण्डमै वास्तविक आयाम नाममा अर्थतन्त्रभित्र प्रवेश गरिएको छ । अर्थतन्त्रलाई कृषि, उद्योग र सेवा क्षेत्रका रूपमा अध्ययन गरिन्छ । यसलाई क्रमशः प्राथमिक, द्वितीय र तृतीय क्षेत्रका रूपमा पनि चिनिन्छ । अर्थतन्त्रको प्राथमिक क्षेत्र कृषिभित्र बालीनाली उत्पादन, वन, मत्स्यपालन आदि पर्छन् । खानी तथा उत्खनन समेत यसै क्षेत्रमा पर्छन् भने अर्को क्षेत्रमा उत्पादनमूलक उद्योग पर्छन् । विद्युत्, ग्यास, पिउने पानी, निर्माण आदि क्षेत्रलाई यसैले समेट्छ । तृतीय क्षेत्रमा सेवाका क्षेत्र पर्छन् । यातायात, सञ्चार, पर्यटन आदि क्षेत्रलाई यसैले समेट्छ । नेपाली अर्थतन्त्रका यी क्षेत्रहरू समेट्दै राष्ट्रिय लेखा, अर्थतन्त्रका औजार, व्यवस्थापन, अर्थतन्त्रका नीतिगत, संस्थागत र संरचनागत अवयव आदिलाई यसैमा समेट्न यत्न गरिएको छ । अर्थराजनीतिका पाटा, सरकारका नीति, नीतिगत अवरोध, खुला अर्थतन्त्रका विशेषता र व्यावहारिक प्रयोग र अवरोध आदि विषय यसै खण्डमा विस्तृत छन् ।

पुस्तकको सार्वजनिक र सरकारी वित्त आयाम खण्डमा बजेट व्यवस्थापनलाई केन्द्रमा राखेर नेपाली अर्थतन्त्रको शल्यक्रिया गरिएको छ । बजेट निर्माणका आयाम तथा नेपाली अर्थतन्त्रका समस्या र चुनौतीलाई विधिविश्लेषण गरिएको छ । विविध वर्षका बजेटलाई लिएर गरिएको विश्लेषणले अर्थतन्त्रका भित्री चुरोसम्म पुगेर बुझ्न सजिलो बनाएको छ । सार्वजनिक वित्त नै अर्थतन्त्रको आधार हो र आर्थिक विकासका मेरुदण्ड पनि । साधारण खर्च, पुँजीगत खर्च, सार्वजनिक ऋण, राजस्व, वैदेशिक सहयोग तथा ऋण आदि सार्वजनिक वित्तका फराकिला आयामको नेपाली परिवेशमा गरिएको विश्लेषण अब्बल नै छ ।

अर्को खण्ड वित्तीय आयामलाई बैङ्किङ र मौद्रिक आयामलाई पहिलो उपखण्ड बनाइएको छ । बैङ्किङ र मुद्राको परिचयदेखि सैद्धान्तिक तथा व्यावहारिक विवरण र विश्लेषण दिइएको छ । केन्द्रीय बैङ्कका कार्यको व्यावहारिक प्रयोजनदेखि मौद्रिक नीतिहरू यसमा समेटिएको छ । अवरोध केलाइएको छ । नीतिहरूको पारख गरिएको छ । यसमा सबैभन्दा महìवपूर्ण पक्षचाहिँ वित्तीय सुधार रहेको छ । नेपालमा वित्तीय सुधारका अवयव समेटिएको यस खण्डभित्र लगानी, कर्जा प्रवाह, विपन्नबीच कर्जा आदि बुझ्नै पर्ने विषय परेका छन् । यसै खण्डको दोस्रो उपखण्डमा पुँजी बजार परेको छ । विश्व पुँजी बजार र त्यसमा पनि खास गरी दक्षिण एसियामा नेपाली पुँजी बजारका दिशा र दशालाई यसमा समेटिएको छ । पुँजी बजारका नियमन निकाय र नेपाल स्टक एक्सचेन्जमा कार्यकारी प्रमुख भएर गरेका काम र सुधारसमेत समेटिएको यस खण्ड अनुभव र कार्यव्यवहारले भरिएका छन् ।
पुस्तकको अन्तिम खण्डले बाह्य क्षेत्रलाई समेटेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र भन्नु नै अन्तर्राष्ट्रिय व्यापार हो । यस्तो व्यापार आयात र निर्यातमा मात्र सीमित हुँदैन । त्यस्तो आयात र निर्यातको विशेषताले भुक्तानी सन्तुलनका भित्री पाटाहरू प्रतिविम्बित गर्छ । उपभोक्ता प्रवृत्ति, उत्पादन, मुद्रा तथा बैङ्किङसम्म यसले समेट्छ । पुस्तकमा समेटिएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारका तथ्याङ्क दिएर यस खण्डलाई असाध्य सजिलो बनाइएको छ ।

नेपाली अर्थतन्त्र चिनाउन पुस्तकमा लेखकले धेरै मिहिनेत पक्कै गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषमा काम गर्दाको अनुभव, बैङ्क अफ नामिबियाको अर्थशास्त्री, धितोपत्र बोड र स्टक एक्सचेन्जमा कार्यकारी अनुभव आदिले पुस्तक समृद्ध भएको छ । पुस्तकमा अर्थशास्त्रका अनेक पक्षका सैद्धान्तिक र व्यावहारिक आयाम छन् । मूलभूत रूपमा नेपाली अर्थतन्त्र चिनाउन, केलाउन र यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा पुस्तकमा चिन्तन छ ।

पुस्तकमा कमजोरी नै नभएको होइन । लेखकले नेपाली र अङ्ग्रेजी भाषामा पूर्वप्रकाशित लेखलाई समेत पुस्तकमा समावेश गर्नुभएको छ । प्रकाशित भइसकेका लेखलाई नयाँ कृतिमा मिसमास गर्दा कता कता पुस्तकको ओझ जति उचाइमा पुग्नुपर्ने थियो, त्यो नभएको देखिन सक्छ । पुस्तक अझ प्रभावकारी रूपमा सङ्गठन गर्न सकिने ठाउँ थियो । त्यसमा ध्यान पुगेको छैन । सम्पादनमा अझ बढी ध्यान दिनु जरुरी थियो । भाषा सम्पादन अझै बलियो बनाउनु पर्ने थियो । नेपाली र अङ्ग्रेजी भाषा उही पुस्तकमा मिसमास गर्दा कतिपय पाठकलाई पढ्न झिजो लाग्न सक्छ । केही सामान्य कमजोरी भए पनि नेपालको अर्थतन्त्र, यसका समस्या र वास्तविकता बुझ्न पुस्तक सहयोगी छ । छपाइ ठिकै छ र पुस्तकको मोल रु पाँच सय पनि बेठिक भन्न मिल्दैन । ४५० पृष्ठको पुस्तकका विषयवस्तु विस्तृत छ । यो पुस्तकको अनुभवबाट आगामी दिनमा अझ प्रभावकारी कृति बाहिर आउने विश्वास गर्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?