logo
२०८१ बैशाख ४ मंगलवार

   कथा  



अङ्‍कुरण

शनिवार |


अङ्‍कुरण


विश्‍व कुइकेल

निर्दल बहुदलको चुनावताका नै सूर्यप्रसाद चर्चामा थिए । चुनावमा जिते र नयाँ सरकारमा मन्त्री पनि भए । सूर्यप्रसाद मन्त्री भएको करिब छ महिनापछि उनले आफू विद्यार्थी हुँदाको मिल्ने साथी हरिहरलाई सिंहदरबारको मूल भवन अगाडिको बाटोमा देख्दा झण्डा फहराएको गाडी रोकेरै बोलाएका थिए । त्यति मात्र होइन, एउटा सामान्य शाखा अधिकृतको जागिरेलाई मन्त्री चढेको गाडीमै हालेर उनको मन्त्रालयको ढोकैमा झारिदिएका थिए । त्यस दिन हरिहरलाई पाथीमाना चामलको भात खाएजस्तै भएको थियो । लामो समय राजनीतिमा लागेर आफूलाई भुलिसकेको भनी ठानेको मान्छेले यस्तो व्यवहार गरिदेला भन्ने कल्पना पनि गरेका थिएनन् । उनलाई बाल्यकालमा जस्तै आफैँलाई चिमटेर ‘आथ्था ! यो त सपना रहेनछ !’ भनौँ कि जस्तो लागिरहेको थियो । कार्यालय समय कति बेला बित्ला र श्रीमतीलाई यो कुरा सुनाउँ भनी मन उत्ताउलो भइरहेको थियो । कार्यालयमा पनि केही साथीहरूले उनी आज मन्त्रीको गाडीबाट ओर्लिएको देखेका रहेछन् । केहीबेरमा नै कार्यालयभरि यो कुरो फैलियो ।
केही साथीले भने, ‘‘हरिहरजी त फलानो मन्त्रीको मान्छे रहेछन् नि !’’

‘‘ओहो ! हरिहर सर कहिलेदेखिको सम्बन्ध हो नि, मन्त्रीसित ?’’‘‘अब त केही काम गराउनुप¥यो भने हरिहरजीलाई भन्नुपर्छ ।’’
‘‘अब तपाईं कहाँ सरुवा भएर जाने ?’’
‘‘हामीलाई नि परेको बेला सहयोग गर्नुपर्छ है सर ।’’
दिनभरि उनले यस्तै कुरा सुने । कसैले जिस्काएर भने, कसैले गम्भीर भएर । एउटा सोझो र इमानदार भनिएको मान्छे एकैछिनमा तिलस्मी भइसकेको थियो । केही मान्छे उनी मन्त्री निवासबाट सोझै अफिस आएको अनुमान गर्न थाले । कोही भने उनको सम्भावित सरुवाको चर्चा गर्न थाले । उनी आफैँ भने सूर्यप्रसादसँग छात्रावासमा बिताएका क्षण सम्झेर नोस्टाल्जिक भइरहेका थिए । उनको मनभित्र त्यस्ता कुनै भावना आएका थिएनन् जसले व्यक्तिगत फाइदाका लागि मन्त्रीसँगको परिचयले काम देओस् । उनको नजरमा त सूर्यप्रसाद एउटा महान् मान्छे साबित भइसकेका थिए जसले आफ्नो पद र मर्यादाको ख्याल नै नगरी आफ्नो साथीलाई झण्डावाला गाडीमा चढाएर कार्यालयको ढोकैमा झारिदिएको थियो ।

त्यस दिन हरिहरको ध्यान कार्यालयको फाइलमा पनि गएन । सुब्बासाबले ल्याएको हरेक चिठी र टिप्पणीमा उनले फटाफट सही गरे । आज किन हो उनलाई पिसाब पनि धेरै लाग्यो । शौचालय जाँदा आफ्नो विभागीय मन्त्रीको कोठा बाहिरबाट चिहाए । त्यहाँ मन्त्रीको निजी सचिवको रूपमा एउटा शाखा अधिकृतको बोर्ड झुण्डिइरहेको थियो । मान्छेहरू मन्त्रीलाई भेट्न भनी लाइन लागिरहेका थिए । सानो चिर्कटोमा आफ्नो नाम लेख्दै बुझाउँदै थिए । त्यहाँको चहलपहल अनौठो थियो ।

अनायास मन्त्रीको पिए शाखा अधिकृतले उनलाई देख्यो, ‘‘हरिहरजी, किन ढोकामा ? भित्र आउनूस् न,’’ उसले बोलायो । हरिहरलाई अप्ठेरो लाग्यो । ‘‘होइन ठीक छ, यसै हेरेको’’ भन्दै उनी शौचालयतर्फ लागे ।
आज बिहानको कुरा मन्त्रीको पिएले नि थाहा पाएछ कि भन्ने उनलाई लाग्यो । साँच्चैभन्दा अघिपछि आँखासम्म जुधेर हाँस्नुबाहेक पिएसँग कुनै कुरा भएको थिएन । उनलाई लाग्थ्यो, मन्त्रीको नजिक भएकाले ठूलो भएको छ ऊ तर आज भएन, किनकि उसले हरिहरलाई बोलायो । यस्तै लाग्यो उनलाई, मानौँ बोलाउनु भनेकै सबै पुराना कुरा धोइपखाली गर्नु हो । वास्तवमा पिएलाई हरिहरको घटना थाहा नै थिएन । ऊ सधँै कामले थिचिएको हुन्थ्यो र बिना कारण मान्छेहरूले ऊप्रति बनाएको धारणाले पनि थिचिएको हुन्थ्यो । मन्त्रीको पिए नै बसिसकेपछि उसले आफ्ना मान्छेको केही काम नमिलाएको भने होइन । आफूले पनि सानातिना फाइदा नलिएको पनि होइन ।

हरिहरलाई वास्तवमा आज कार्यालयमा बसिरहन मन लागेको थिएन । छिट्टै घर जाउँजस्तो लागिरहेको थियो तर कार्यालय नछुटी कहिल्यै नहिँडेको उनले त्यति ठूलो प्रयास गर्नै सकेनन् । त्यसमाथि पनि नाडीको घडी हेर्दा साढे तीन बजिसकेको थियो । कलेज छुटेर जाने विद्यार्थी बोक्ने तीन बजेको गाडी छुटिसकेको थियो । अब एकै पटक साढे पाँच बजे मात्र छुट्थ्यो मच्छेगाउँ जाने गाडी । उनलाई यसपछिको डेढ घण्टा बिताउन हम्मेहम्मे प¥यो । पचासौँ पटक घडी हेर्ने र दुई पटक क्यान्टिनमा गएर चुरोट तानिसक्दा बल्ल पाँच बज्यो । उनी हतार हतार रत्नपार्कतिर लागे ।

सिंहदरबारको पश्चिम ढोकाबाट बाहिरिँदै गर्दा विगतका दिन सम्झिए । सूर्यप्रसाद राजनीतिमा लागे । उनलाई भने त्यो आँट आएन । पारिवारिक समस्याले सधँै गिजोलिरह्यो । स–सानो जागिर र परिवारको दायित्व नै सबैभन्दा ठूलो सपना हुनेका लागि त्यो बाटो शायद उपयुक्त थिएन । भद्रकालीतिरको बाटो हिँड्दा उनलाई दक्षिणपट्टिको दलदले खेतको सम्झना आयो । उहिले पुलिसले विद्यार्थी दपेट्दा त्यही दलदलमा फसेको देखेका थिए । त्यस्ता सङ्घर्षहरू आफ्ना लागि अनुकूल थिएनन् भन्ने लाग्यो । जे गरियो ठीकै गरियो भन्ने सोच्दासोच्दै उनी रत्नपार्क पुगे ।
हरियो रङको मिनिबस रोकिएको परैबाट देखियो । धेरै मान्छे गाडी नचढेर बाहिर नै बसिरहेका थिए । नजिकै पुगेपछि मात्र थाहा भयो ट्युब पञ्चड भएर खलासीले टाल्न लगेको रहेछ । नयाँ चक्का फेरुन्जेल सबैजना हेरेर बसिरहे । गाडीमा चढ्ने मान्छे त अधिकांश चिनेकै अनुहार हुन्थे तर आज हरिहरलाई खासै कोहीसँग कुरा गर्ने रहर भएन । उनलाई लाग्यो, आज कोहीसँग कुरा ग¥यो कि दिउँसोको घटना भन्न मन लागिहाल्छ । श्रीमतीलाई नै पहिला सुनाउँछु ।

रत्नपार्कबाट त ठिकठिकै मान्छे बोक्थ्यो गाडीले तर बीचमा पुगेपछि खाँदाखाँद हुन्थ्यो । झर्ने बेलामा त मान्छेलाई तेल लगाएर चिप्लाउन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । डेढ घण्टाको शारीरिक कसरतपछि झर्दा रातको पौने आठ बज्न लागिसकेको थियो ।
उनी घर पुग्दा केटाकेटीले खाइसकेका रहेछन् । श्रीमतीले खाना पस्किहालिन् । हातमुख धोएर फटाफट खाए । राति आठ बजेको समाचार हेर्न ढिला भइसकेकाले तुरुन्तै केही भनेनन् । अरू हजारौँ सपना थाति राखेर भए पनि समाचार हेर्नै भनेर किनिएको श्यामश्वेत टिभी कोठाको झ्यालमा थियो । टिभीमा समाचार वाचक देखिइसकेका थिए । समाचार वाचकको अनुहार नीलो देखिएको थियो, घाँटी हरियो र हात रातो देखिन्थ्यो जुन टिभीबाहिर टाँसिएको रङ्गीन सिसाको कमाल थियो । मसिनो जुँगा र धोत्रो स्वर भएका समाचारवाचकको चश्मा टल्किएको देखिन्थ्यो ।

एक त समाचारमा ध्यान दिनुपर्ने, अर्को समाचारमा सूर्यप्रसादलाई देखाइदियो भने कुरा गर्न सजिलो हुने ठानेर उनले दिउँसोको कुरा सुरु नै गरेनन् । राजाको समाचार, प्रधानमन्त्रीको समाचार, गृहमन्त्रीको समाचार, अरू मन्त्रीको समाचार तर आज सूर्यप्रसाद मन्त्रीको समाचार नै नआई जिल्ला समाचार आयो । शायद आज सूर्यप्रसादले समाचार बन्न लायक काम नै गरेनन् । हरिहरको मन खिन्न भयो । तैपनि मिलाएर कुरा सुरु गर्नुपर्ला भन्ने सोच्दै थिए, श्रीमती ‘टाउको दुख्यो म आज टिभी हेर्दिनँ है’, भन्दै सुत्न गइन् । उनले एक्लै टेलिफिल्म हेरे । सुत्न जाँदा श्रीमती निदाइसकेकी थिइन् । उनलाई हल्का रिस पनि उठ्यो तैपनि चुपचाप पल्टिए । जति थाके पनि निदाउन केही समय लाग्यो ।

बिहान सबेरै छोरी कलेज गइसकिछन् । हरिहर नुवाइधुवाई गरेर पूजापाठमा लागे । साढे आठमा नै घरबाट ननिस्किए गाडी भेट्न सकिँदैन । हतार हतार गरेर खान बसे । साइकल मात्र भएको भए पनि अलि चाँडो हुन्थ्यो । स्टोरकिपरले एउटा साइकल पनि दिएन । ‘माडसाब्, कसैको सरुवा भएर खाली भयो भने पहिलो अधिकार तपाईंको है’, यसै भनेको थियो उसले तर ऊभन्दा पछि आएको बाठो शाखा अधिकृतले साइकल पड्काइसकेको थियो । ‘के गर्नु माडसाब्, तपाईंलाई दिने भनेको माथिबाटै उसलाई दिनू भने । अब चाहिँ पक्का । नभए नयाँ साइकल पनि किन्ने कुरा छ’, यसो भनेर थामथुम पा¥यो स्टोरकिपरले ।

‘नानी बिहानै कता गई त ?’ खाना खाँदै सुरु गरे उनले । ‘खोई, कलेज भर्ना गर्ने बेला भयो रे ! फाराम बुझाउँछु भनेर निक्ली’, श्रीमतीले भनिन् । उनी केही नबोली खान थाले । ‘बीस लागी । अब त बिहे नि गर्नुपर्ने । कसरी गर्ने हो ?’ श्रीमतीले थपिन् । उनी यस पटक पनि चुप लागे ।
समयमै कार्यालय पुगे हरिहर तर आज उनको मन उद्वेलित भइरहेको थियो । जिन्दगीमा एउटा रहरलाग्दो जागिर खाइएन । आफूसँगैका साथीहरूले कति ठूलो प्रगति गरिसके । आफ्नो त तलब महिनाभरिमै ठिक्क हुन्छ । बिस्तारै छोराछोरीको बिहे गर्ने बेला पनि हुँदैछ । पुँजी छैन । एउटा साइकल आफैँले किनेर चढ्न सकेको मात्र भए पनि हुन्थ्यो । त्यति पनि आँट गर्न सकिएको छैन । उनलाई एकै छिनमा निराशाले ढाक्यो । जुरुक्क उठे र क्यान्टिनमा गएर चुरोट ताने । त्यहीँबाट के विचार आयो कुन्नि, सिधै सूर्यप्रसाद मन्त्रीलाई भेट्न उनको मन्त्रालयतिर लागे ।

उनको मन्त्रालयमा जस्तै भीडभाड थियो, त्यहाँ पनि । उनले पिएलाई खुसुक्क आफ्नो नाम टिपाए । ‘‘कहाँबाट सर ?’’ पिएले सोध्यो । ‘‘यतैबाट । म मन्त्रीज्यूको पुरानो साथी हो ।’’ उनले दायाँबायाँ हेर्दै अप्ठेरो मानेर भने । ‘‘अहिले मिटिङ चल्दैछ । उता कुर्सीमा बस्नूस् है । म बोलाउँछु’’, पिएले भन्यो । उनी चुपचाप प्रतीक्षा कक्षतिर बढे । त्यहाँ अरू मानिस पनि मन्त्री भेट्न बसेका रहेछन् । चिनेका अनुहार कोही पनि थिएनन् । उनी टेबुलमा राखिएको गोरखापत्र टिपेर पढ्न थाले । दायाँबायाँका मान्छेहरू एकअर्कासित गफ गरिरहेका थिए ।
‘‘तपाईंसँग त अस्ति पनि भेट भएको है ।’’

‘‘हो । के गर्नु सात पटक भइसक्यो । कहिल्यै काम बन्दैन ।’’‘‘मेरो तेस्रो पटक हो । मन्त्री जहिले मिटिङमा हुन्छन् । भेट्नै पाइँदैन ।’’
‘‘भेट भएर पनि के गर्नू ? जाने ठाउँ नभएर मात्र हो । त्यत्रो सहयोग गरेको मान्छे मन लगाएर काम नै गर्दैनन् ।’’
‘‘तपाईं भन्नुहुन्छ, मेरो त नाताले ज्वाइँ हो । न मन्त्री क्वाटरमा भेट हुन्छ न यहाँ ?’’
‘‘के गर्नू, हामी हाम्रो समस्या मात्र हेर्छौं । उनलाई भन्ने हजार होलान् ।’’

मान्छेहरूको कुरा सुन्दासुन्दै हरिहरको ध्यान गोरखापत्रमा कम अन्यत्र बढी गइरहेको थियो । एक्कासि उनी जुरुक्क उठे । पत्रिकालाई टेबलमा नै फाले र फटाफट आफ्नो कार्यालयतिर लागे ।
केहीछिनमा सूर्यप्रसाद मन्त्री पिएसहित प्रतीक्षा देखिए । ‘‘खोई त हरिहरजी ? हेत्तेरी हिँडिसक्यो जस्तो छ । त्यसलाई त मिटिङ भइरहेकै भए पनि बोलाउनुपथ्र्यो तिमीले । गल्ती गर्यौ ।’’ मन्त्रीले पिएलाई गाली गर्दै भने । प्रतीक्षा कक्षसम्मै हरिहरलाई खोज्दै आइपुगेका मन्त्रीलाई अचम्म मान्दै हेरिरहेका अरूले केही छिनअघि त्यहाँ बसेको हरिहरको अनुहार सम्झने कोसिस गरिरहे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?