लक्ष्मी उप्रेती
बिहानै बचेरालाई गुँडमा छाडेर
चराहरू चारो खोज्न टाढा–टाढा जान्छन्
भेटेको चारो आफू पनि खान्छन्
बचेराका लागि पनि चुच्चोमा च्यापेर ल्याउँछन् ।
आफ्नो भाषामा सल्लाह गर्ने चराहरूमा पनि माया हुँदोरहेछ
खुसी हुँदा गीत सुसेल्छन्, रिसाउँदा चिरबिराउँदै कराउँछन्
मिलेर उड्ने, बस्ने र खाने गर्छन्
कोहीसँग डराउँदा भुर्र उड्दै भाग्ने
संवेदनाको मन पनि त हुँदो रहेछ नि यिनीहरूको ।
बचेरा कोरल्नु अघि तनमनका साथ
आफ्नो गुँड बनाएर व्यवस्थित हुने
अनुपम चेतनाका सौन्दर्य शिल्पी यिनीहरू ।
छल, कपट, रिस, ईष्र्या, लोभ नगरी
स्वतन्त्रताले उमङ्गमा पखेटा फटफटाई
हुल बनाएर उड्दै उड्दै कहिले आकाश हुन्छन्
उनीहरूले आफैँ, आफ्नो आकाश भेट्छन्
आफ्नो धरातल आफैँ बनाउँछन्
दिन पुगेपछि एकदिन ढल्छन् र
सृष्टिको नियममा यिनीहरू आबद्ध हुन्छन् ।
के मृत्युलाई स्वीकार गर्ने
हामीसँग चराहरूको जति हिम्मत छ ?