logo
२०८१ मंसिर १२ बुधवार



नयाँ प्रविधिको विकासमा नेपाली वैज्ञानिक

बिज्ञान |


नयाँ प्रविधिको विकासमा नेपाली वैज्ञानिक


सविता शर्मा

काठमाडौँ, कात्तिक ७ गते । विदेशमा अध्ययन गरेर स्वदेश फर्किएका युवा वैज्ञानिक नयाँ र सिर्जनात्मक काममा जुटिरहेका छन् । नेपालका लागि उपयोगी र विश्वमै प्रभाव पार्नसक्ने काममा उहाँहरू सक्रिय हुनुभएको हो ।
नेपालमा नयाँ प्रविधिको विकास गर्ने सोच र लक्ष्यका साथ उहाँहरू नेपाल फर्किनुभएको छ । विकसित मुलुकमा विज्ञानका विभिन्न विधामा विद्यावारिधि (पीएचडी) गरेर स्वदेश फर्कनेहरूले नयाँ कामको थालनी गर्नुभएको छ ।
अमेरिकाबाट फर्कनुभएकी युवा वैज्ञानिक डा. प्रतिमा पाण्डेले विदेशबाट पढेर फर्केकाहरूले विश्वस्तरीय अनुसन्धान र नेपालमा काम गर्न सुरु गरिसकेका बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँको जति मिहिनेत गर्ने हो भने हामीले व्यक्तिगत रूपमा १० गुणा बढी काम र कमाइ गर्न सक्छौँ तर नेपालमा गर्दा १० गुणाभन्दा बढीले फाइदा लिन सक्छन् । अमेरिकामा हामी नभए पनि फरक पर्दैन तर नेपालमा हामीले धेरै गर्न सक्छौँ । ”
रसायन शास्त्रमा अमेरिकाबाट पीएचडी गर्नुभएकी पाण्डे चार वर्षअघि स्वदेश फर्कनुभएको हो । उहाँले सुन्तलाजन्य फलका बोक्राबाट नयाँ उत्पादन गर्दै हुनुहुन्छ । उहाँले त्यसमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्ने गरी नयाँ सौन्दर्य प्रशोधन उत्पादनमा जुट्नुभएको छ । यसैगरी उहाँ नेपालको मौलिक, परम्परागत ज्ञान र जडीबुटी प्रयोग गरेर नयाँ सौन्दर्य सामग्री उत्पादन गर्ने काममा लाग्नुभएको छ ।
अमेरिकामै रसायन शास्त्रमा पीएचडी गरेर तीन वर्षअघि स्वदेश फर्कनुभएका वसन्त गिरीले तरकारी तथा फलफूलमा विषादी परीक्षणका लागि नयाँ प्रविधि निर्माण गर्न अनुसन्धानमा जुटिरहनुभएको छ ।
अहिले नेपालमा विषादी परीक्षणका लागि निकै महँगो प्रविधि प्रयोग भएको उल्लेख गर्दै उहाँले कहिलेकाहीँ मात्र यस्तो परीक्षण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घरमा प्रयोग गर्न मिल्ने खालको प्रविधिको विकासका गर्न खोजिरहेका छौँ । ” उहाँको नेतृत्वमा २५ युवा वैज्ञानिकको समूहले काम गरिरहेको छ । नेपालका लागि उपयोगी विभिन्न खालका अध्ययन अनुसन्धानमा पनि उहाँहरू सक्रिय हुनुहुन्छ ।
फ्रान्स र बेलायतबाट विद्यावारिधि गरेर फर्कनुभएका डा. विशेष खनाल आर्टिफिसियल इन्टिलिजेन्समा नयाँ काम गर्दै हुनुहुन्छ । उहाँले नेपालमा निकै सस्तो र सरल खालको अल्ट्रासाउण्डको विकास गरिरहनुभएको छ ।
आर्टिफिसियल इन्टिलिजेन्सको उपयोग गरेर स्वास्थ्य सेवालाई सहज बनाउने उहाँको सोच छ । विज्ञ नै आवश्यक नपर्ने खालको आर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गरेर उहाँले अल्ट्रा साउन्डको प्रविधि विकास गर्न लाग्नुभएको हो । नेपालका दुर्गम गाउँहरूमा यसको उपयोगिता निकै हुनसक्ने उहाँको विश्वास छ । उहाँले बेलायतको किङ्ग्स कलेज अफ लण्डनसँग मिलेर यो काम गरिरहनुभएको छ । नेपालमा आर्टिफिसियल इन्टिलिजेन्समा योगदान पु¥याउने उहाँको लक्ष्य छ ।
विदेशी विश्वविद्यालयमा प्राध्यापन छोडेर स्वदेश आउनुभएका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले नेपालको टिम्मुरमा ब्लड प्रेसर नियन्त्रण गर्ने गुण भएको पत्ता लगाउनुभयो । उहाँले मुसामा अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाउनुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालको टिम्मुरमा मात्र यस्तो गुण छ, मैले पाकिस्तानको टिम्मुरमा पनि परीक्षण गरेँ तर त्यो गुण पाइएन । ” आयुर्वेदमा औषधिका रूपमा प्रयोग हुने वनस्पतिको वैज्ञानिक पक्ष खोजी गरेर त्यसको विश्वमै प्रचार गर्ने प्रयासमा उहाँ लाग्नुभएको छ ।
उहाँको यो अध्ययनपछि फ्रान्समा नेपाली टिम्मुरको माग बढेको दाबी गर्नुभयो । यसैगरी उहाँ अदुवाबाट तेल निकाल्ने प्रयासमा लाग्नुभएको छ । विभिन्न औषधि र सौन्दर्य प्रसाधनमा अदुवाको तेल उपयोग हुने गरेको जानकारी उहाँले दिनुभयो । उहाँ भन्नुहुन्छ, “कच्चा पदार्थ बेचेर फाइदा छैन, अदुवा बेच्नुभन्दा तेल बेच्दा राम्रो लाभ लिन सकिन्छ । ” सय किलो अदुवाबाट तीन लिटर तेल निस्कने उहाँले बताउनुभयो । परिस्कृत र सानो परिमाणमा उत्पादन गर्दा निर्यात गर्न पनि सजिलो हुने उहाँले तर्क गर्नुभयो ।
युवा वैज्ञानिकको अपेक्षा
वैज्ञानिक अनुसन्धानका लागि सरकारले अनुसन्धान कोष निर्माण गर्नुपर्ने युवा वैज्ञानिक बताउनुहुन्छ । सरकारले अनुसन्धानका लागि लगानी नगर्दा धेरै राम्रा काम हुन नसक्ने युवा वैज्ञानिकको ठहर छ । अहिले स्वदेश फर्किएर काम गरिरहेकाहरूले व्यक्तिगत प्रयासमा अनुसन्धान गरिरहेको स्पष्ट पार्दै डा. पाण्डेले भन्नुभयो, “हामी त स्वयंसेवीका रूपमा काम गरिरहेका छौँ । ” जुक्ति छनोट गरेर कोषमार्फत लगानी गर्न सक्ने अवस्था भएमा धेरै काम हुन सक्ने पनि उहाँले बताउनुभयो ।
सरकारले मात्र नभएर निजी क्षेत्रले पनि विज्ञानका क्षेत्रमा लगानी गर्न नचाहेको अनुभव छ डा. खनालसँग । बाहिरबाट ल्याएर बेच्नेतिर मात्र ध्यान छ, उद्योग र व्यापारिक घरानाले पनि सहयोग गर्नुप¥यो, लामो समय व्यक्तिगत प्रयासमा अन्वेषण गर्नेहरू निराश भएर फेरि विदेशिनुपर्ने बाध्यता रहेको पनि उहाँले बताउनुभयो । नेपालमा काम गर्ने धेरैले विदेशी विश्वविद्यालय वा यस क्षेत्रका विदेशी संस्थासँग मिलेर पनि काम गरिरहेका छन्, जहाँ सरकारी सहयोग हुन सकेको छ्रैन । धेरैजना नेपाल फर्कन इच्छुक रहेको र आफूहरूसँग यहाँको वातावरणका बारेमा चासो व्यक्त गर्ने गरेको खनालले बताउनुभयो ।
सरकारले भर्खरै ल्याएको विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी नीतिले राम्रा कुरा समेटेको उल्लेख गर्दैै उहाँले भन्नुभयो, “सरकारको नयाँ नीतिमा निकै राम्रा कुरा छन्, कार्यान्वयन भएमा निकै सकारात्मक वातावरण बन्ने थियो । ” विज्ञान प्रविधिको उपयोगबाट नै नेपालमा छिटै समृद्धि आउनसक्ने विश्वास युवा वैज्ञानिकको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले अनुसन्धानका लागि सानो रकम अनुसन्धान वृत्ति भनेर दिने गरिएको तर त्यो पर्याप्त नभएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “उच्च कोटीको अनुसन्धानलाई प्रवद्र्धन गर्न सहयोग गर्छौं । ” विषयवस्तुअनुसार नेपाली युवा वैज्ञानिकको नेटवर्किङ गर्ने तयारी गरिरहेको पनि जानकारी उहाँले दिनुभयो । स्वदेशमै नयाँ काम गरौँ भन्ने भावनाका साथ फर्कने वैज्ञानिकको सङ्ख्या उल्लेखनीय छ । नेपाली वैज्ञानिक कति छन् भन्ने तथ्याङ्क अहिलेसम्म सरकारी निकायसँग छैन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?