logo
२०८१ मंसिर ८ शनिवार



एकाएक रुख नासिए के होला ?

बिज्ञान |


एकाएक रुख नासिए के होला ?


यस ग्रहलाई रुखको सेवा कार्बन सञ्चय तथा भू–संरक्षणदेखि जलीय चक्र नियमिततासम्मको व्यापक छ । रुखले प्राकृतिक र मानव खाद्य प्रणालीलाई सहयोग गर्छन् तथा निर्माण सामग्रीका माध्यमबाट हामी अनि असङ्ख्य प्रजातिका जीवजन्तुलाई बासस्थान उपलब्ध गराउँछन् ।
तैपनि हामी रुखलाई प्रायः प्रयोगका लागि मात्र उपलब्ध वस्तुका रूपमा व्यवहार गर्छौं । कहिलेकाहीँ आर्थिक उपार्जनका लागि रुख काटिन्छ वा मानव विकासका लागि अवरोधकका रूपमा रुखलाई हेरिन्छ । मानव जातिले करिब १२ हजार वर्ष पहिले कृषि युगमा प्रवेश गरेदेखिको हिसाब गर्दा हामीले विश्वको आधा जति अनुमानित पाँच खर्ब ८० अर्ब रुख सखाप पारेका छौँ । जर्नल नेचरमा सन् २०१५ मा प्रकाशित एउटा अनुसन्धान विवरणमा यही तथ्य उल्लेख गरिएको छ ।
हालैका वर्षमा धेरै नै वन क्षेत्र नासिएको छ । औद्योगिक युगको थालनीपछिका वर्षमा वन क्षेत्र ३२ प्रतिशतले ह्रास भएको देखिन्छ । नेचर जर्नलमा भनिएको छ– विशेषगरी उष्णप्रदेशमा जहाँ विश्वको बाँकी वन क्षेत्र थियो, खर्बौं रुख तीव्रगतिमा काटिए । प्रतिवर्ष १५ अर्ब रुख त्यस क्षेत्रमा ढालिएका थिए ।
धेरै स्थानमा तीव्रगतिमा रुख नासिँदै छन् । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले जुन तथ्यगत जानकारी सार्वजनिक ग¥यो त्यसमा सन् २०१८ को समान अवधिको तुलनामा गत अगस्तमा ब्राजिलको अमेजन वर्षावनमा ८४ प्रतिशतले आगलागी वृद्धि भएको बताइएको छ । इन्डोनेसिया र मडागास्करमा समेत रुख काट्न र बाल्ने दर बढेकै देखिन्छ ।
“रुखबिनाको संसार कस्तो भयानक हुने छ, ती अपूरणीय छन् । यदि हामीले सबै रुख समाप्त पा¥यौँ भने हामी यस्तो ग्रहमा बस्ने छौँ जोसँग वास्तवमा हामीलाई बचाइराख्ने कुनै क्षमता हुने छैन”, यसो भन्छिन्, वेल्सको बाङ्गर युनिभर्सिटीमा वातावरणीय तथ्याङ्क र विश्लेषणमा अध्यापन गराउने इसाबेल रोजा ।
“सर्वप्रथम यही कुरा गरौँ न यदि रुखहरू रातारात गायब भए भने यस ग्रहको जैविक विविधतामाथि ठूलो प्रभाव पर्ने छ । बासस्थान क्षय जीवजन्तु लोपोन्मुख हुनुको प्रमुख कारण भइरहेको छ । त्यसैले बाँकी रहेका सबै वन नाश भएमा पृथ्वीमा भयानक अवस्था आउने छ, जनावरहरू, ढुसी र अन्य जीवजन्तुमाथि बज्रपात नै हुने छ”, ब्राजिलको रियो डि जेनेरियो स्टेट युनिभर्सिटीका इकोलोजिस्ट जेमी प्रिभाडेलोको भनाइ छ ।
विनाशको लहर वन क्षेत्रभन्दा बाहिर पुग्ने छ, मात्र एक रुखमा र रुखको एउटा सानो हाँगामा निर्भर वन्यजन्तु नाश हुने छन् । उदाहरणका लागि सन् २०१८ मा प्रिभाडेलो र उनका सहयोगीले खुला क्षेत्रको दाँजोमा रुखहरू पैmलिएको क्षेत्रमा समग्र प्रजातिको उपस्थिति ५० देखि १०० प्रतिशत बढी हुने पत्ता लगाएको थियो ।
प्रिभाडेलोको भनाइमा खुला क्षेत्रमा रहेको एक रुखले समेत जैविक विविधता ‘चुम्बक’ का रूपमा काम गरी कैयौँ पशु र वनस्पतिका लागि स्रोत उपलब्ध गराई तिनलाई आकर्षित गर्ने गर्छ । यसैले हामी भन्न सक्छौँ मात्र एक रुख नासिनुलाई पनि जैविक विविधतामा दुष्प्रभावका रूपमा हेरिनुपर्छ ।
पृथ्वीको मौसममा समेत अल्प र दीर्घ अवधिमा ठूलो हेरफेर हुने गर्छ । रुखहरूले जैविकीय पम्पका रूपमा काम गरेर जलीय चक्रमा सहयोग गर्छन् । तिनले माटोबाट पानी अवशोषित गर्ने र त्यसलाई जलवाष्पमा रूपान्तरित गरेर वायुमण्डलमा प्रवाहित गर्छन् । यसो गरेर वनले बादल रचना र वर्षामा योगदान गरिरहेका छन् । पानी सोभैm बगेर ताल वा नदीमा जान नदिई रुखहरूले जलप्रवाह अवरोधकका रूपमा बाढी नियन्त्रणमा पनि सहयोग गर्दछन् । छालको वेग कम गरी रुखले समुद्री तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा पुगिरहेको छ । साथै वर्षाले बगाएर लैजान सक्ने माटोलाई आफ्ना जराले बाँधेर रुखहरूले भूक्षयको जोखिम कम गर्छन् नै जराहरूको संरचनाले सूक्ष्म कीटाणु वृद्धिमा सहयोग पु¥याउँछन् ।
रुखबिना पहिलेका वन क्षेत्र सुक्खा र घोर खडेरी उन्मुख हुनेछन् । जब वर्षा हुने छ, बाढीले विनाश ल्याउने छ । व्यापकस्तरको भूक्षयले समुद्रमा प्रभाव पर्ने छ, कोरल रिफ र समुद्री जीवका अन्य बासस्थानमा क्षति पुग्ने छ । रुखबिनाका टापु आफूमा समुद्रको प्रभाव न्यून गर्ने क्षमता गुमाउने छन् र कैयौँ टापु त अस्तित्वमै रहने छैनन् । अर्थात् रुखहरू हटाउनु भनेको ठूलो मात्रामा जमिन समुद्रमा मिसाउनु नै हो ।
जलीय चक्रमा मध्यस्तता गर्नुका अतिरिक्त रुखहरूको स्थानीय शीतलता प्रभाव समेत छ । रुखको छायाँले माटोको तापक्रम व्यवस्थापनामा योगदान गर्छ । भूदृश्यमा श्याम रङ भएका कारण रुखले ताप अवशोषित गर्छन्, परावर्तित गर्दैनन् । वाष्पीकरण प्रक्रियामा रुखले सौर्य विकिरणबाट ऊर्जा लिएर तरल पानीलाई वाष्पमा रूपान्तरित गर्छन् । यस्तो शीतलता प्रदान गर्ने प्रक्रिया नासिँदा पहिले रुख भएका स्थानमा तत्कालै गर्मी सुरु भएको देखिएको छ ।
प्रिभाडेलोको टोलीले सञ्चालन गरेको अर्को अनुसन्धानले के देखाएको छ भने वन क्षेत्रको २५ वर्गकिलोमिटर भाग पूर्णतया नाश गरिँदा उष्णप्रदेशको स्थानीय वार्षिक तापक्रम कम्तीमा दुई सेल्सियसले र समशीतोष्ण क्षेत्रमा एक सेल्सियसले बढ्ने छ ।
विश्वव्यापीस्तरमा रुखले आफ्ना हाँगाबिँगामा कार्बन सञ्चय गर्ने र वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाएर जलवायु परिवर्तनका कारण आइरहेको
सङ्कटसँग जुझ्न सहयोग गरिरहेका छन् । विश्वव्यापी कार्बन उत्सर्जनको १३ प्रतिशत हिस्सामा वन विनाशलाई दोष दिइएको छ । आईपीसीसीले गत अगस्तमा प्रकाशित गरेको प्रतिवेदनअनुसार जमिनको प्रयोगमा आएको परिवर्तनले कार्बन उत्सर्जनमा २३ प्रतिशत भूमिका
खेलेको छ ।
बर्कलेको युनिभर्सिटी अफ क्यालिफोर्नियाका वातावरण वैज्ञानिक पाओलो डिडोरिको भन्छन्, “यस ग्रहका सबै रुख विनाश भए भने पहिलेको वन क्षेत्रमा आधारित पारिस्थितिक प्रणाली वायुमण्डलबाट कार्बनडाइअक्साइड अवशोषण गर्ने होइन कि त्यसमा सो ग्यास उत्सर्जन गर्ने स्रोत मात्र हुनेछन् ।”
समयकालमा हामी वायुमण्डलमा ४५० गिगाटन कार्बन मिसिएको देख्ने छौँ । जुन मानवले पहिले नै वायुमण्डलमा उत्सर्जन गरिसकेको कार्बन भन्दा दोब्बर बढी हुने छ । साना वनस्पति र घाँसद्वारा यस प्रभावलाई सन्तुलनमा ल्याइन्छ होला तर साना वनस्पतिले रुखको दाँजोमा जसरी चाँडै कार्बन अवशोषित गर्छन् त्यत्तिकै चाँडो त्यसलाई वायुमण्डलमा छोड्ने पनि गर्छन् । अन्ततः सकभर केही दशकमै ती वनस्पति आइरहेको चुनौतीमा हाम्रो रक्षार्थ उभिने अवस्थामा हुने छैनन् ।
अपघटन जसरी यस कार्बन बमलाई सुस्तरी
पड्काउँदैछ पृथ्वी एउटा तातो ग्रहमा परिणत हुँदै गएको छ । विश्वव्यापी विनाशकारक तापक्रमको अवस्था आउनु पहिले नै मानवजातिका समस्या बढ्न थालिसकेका छन् । बढेको तापक्रमले जलीय चक्र अवरुद्ध भएको छ र छायाँको कमीको मार अर्बौं मानिस र जीवजन्तुलाई भुक्तानी गर्नु परिरहेको छ । अहिले पनि आफ्नो जीविकाका लागि सोभैm वन क्षेत्रमा भर परेका, खेतीपाती र औषधिका लागि समेत, विश्वका १.६ अर्ब मानिसमध्ये धेरैका लागि गरिबी र मृत्यु नियति बन्ने छ । दाउराको कमीमा धेरै मानिस खाना पकाउन र आफ्नो घर न्यायो पार्न समेत असक्षम हुने छन् । विश्वभरि ती मानिस जसको जीवन नै रुख वरिपरि बित्छ, या ती कागज निर्माता हुन् वा दाउरे हुन् वा फलफूल खेती गर्ने वा सिकर्मी, ती सबै एकाएक रोजगारविहीन हुने छन् । त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने छ ।
विश्व बैङ्कका अनुसार विश्वको काष्ठ क्षेत्रमा एक करोड ३२ लाख मानिस रोजगार छन् र त्यसबाट प्रतिवर्ष छ खर्ब अमेरिकी डलरको कारोबार हुने गरेको छ ।
यसैगरी कृषि प्रणालीमा व्यापक मार पर्ने छ । छायाँमा हुर्कने बाली जस्तो कफी उत्पादन निकै घट्ने छ । बाली उत्पादन गरिरहेका स्थान तापक्रम र वर्षामा आउने उतारचढावका कारण अचानक काम नलाग्ने हुने छन् भने पहिलेदेखि नै अनुपयुक्त बालीको अवस्था त झनै खराब हुने छ । समयकालमा जहाँतहीँको माटो उब्जाउहीन भएर बाली उत्पादनका लागि त्यहाँ धेरै मात्रामा रासायनिक मल आवश्यक पर्ने छ । साथै बढेको तापक्रमले पृथ्वीका धेरै भूभागलाई उब्जाउहीन र बस्न अयोग्य बनाउने छ ।
यी सबै विनाशकारी परिवर्तनभन्दा माथिको समस्या हो, स्वास्थ्यमा पर्ने प्रभाव । रुखले प्रदूषक अवशोषित पारेर तथा आफ्ना पात, हाँगाबिँगामा हानिकारक कण फसाएर हावा स्वच्छ बनाउँछन् । अमेरिकी वन सेवाका अनुसन्धानकर्ताले अमेरिका रुखले मात्रै प्रतिवर्ष एक करोड ७४ लाख टन वायु प्रदूषकलाई वायुमण्डलबाट हटाउने हिसाब निकालेका छन् । यसबाट ६.८ अर्ब डलर बचत हुने र कम्तीमा आठ सय ५० जीवन जोगाउन सकिने उनीहरूको भनाइ छ । यसैगरी छ लाख ७० हजार मानिस श्वासप्रश्वासको समस्याबाट जोगिन्छन् ।
त्यस्तै बदलिँदो तापक्रमबाट हामीलाई नयाँ र पहिले टाढै रहेका रोगले समेत समात्ने सम्भावना बढ्ने छ, महामारी पैmलिन सक्छ । जङ्गलबाट इबोला मानिसमा पुगेको घटनालाई उदाहरण मान्न सकिन्छ । वन विनाशले सबैतिर इबोला, निपा भाइरस र वेस्ट नाइल भाइरसका साथसाथै लामखुट्टेले सार्ने औलो, डेङ्गुलगायतका रोगको सङ्क्रमण एकाएक बढ्ने देखिन्छ ।
यति मात्र होइन रुख र मानसिक स्वास्थ्यबीचको सम्बन्धमा समेत प्रभाव पर्ने छ । वनजङ्गलमा एकछिन घुमफिर गर्दाको मनोवेग हामी महसुस गर्न सक्छौँ । कस्तो आनन्दित हुन्छ मन । सन् १९८४ मा गरिएको एउटा अनुसन्धानले नै स्पष्ट पारेको छ, मात्र भित्ता देखिने कोठामा रोगीको शल्यक्रिया गर्दाको भन्दा हरियाली देखिने कोठामा शल्यक्रिया गर्दा रोग चाँडै निको हुन्छ । हरियाली देखेर हुर्किएका बालबालिकाको दिमाग र आँखा तेज हुने गर्छ ।
सबैजना भन्छन् यस संसारमा मानिस अहिले रुखबिना आफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्दैछ । सहरीकृत पश्चिमा जीवनशैली चाँडै नै विगतका कुरा हुने छन् । हामीमध्ये धेरैजना भोकमरी, गर्मी, अकाल र बाढीले मर्ने छौँ । बाँच्ने समुदाय सम्भवतः ती हुने छन् जो रुखविहीन वातावरणमा समेत कसरी बाँच्ने परम्परागत ज्ञान हासिल गर्ने छन्, जस्तो कि अस्ट्रेलियाका एबोर्जिनलहरू ।

बीबीसीबाट अनुवादित र सम्पादित


युवामञ्च कात्तिक २०७६ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?