logo
२०८१ असोज ९ बुधवार



युरोपमा कोरोनाविरुद्धको ४० करोड डाेज खोप आपूर्ति गर्ने सहमति

बिज्ञान |
अन्तर्राष्ट्रिय |


युरोपमा कोरोनाविरुद्धको ४० करोड डाेज खोप आपूर्ति गर्ने सहमति


इश्वरचन्द्र झा
काठमाडौँ, असार १ गते । विश्व अहिले कोरोनाको सङ्कटबाट आक्रान्त छ । यो बेला यो रोगविरुद्ध खोप कहिले बन्ला भन्ने विषय धेरैको मनमा छ । खोप तयार भई क्लिनिकल ट्रयालकै अवस्थामा रहेका बेला बेलायतको एक कम्पनीले खोप बिक्री सम्झौता शुरु गरेको छ ।

कोरोनाभाइरसरुपी महामारीसँग लड्न बेलायतस्थित अष्ट्राजेनेका औषधि निमार्ता कम्पनीसँग युराेपेली राष्ट्रले ४० करोड डोज खोप आपूर्तिको सहमति गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप सम्झौताबमोजिम ४० करोड डोड खोप युरोपेली राष्ट्रले पाउनेछन् । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीका प्रतिनिधिले खोपको उत्पादन वृद्धि गरी महामारीको बेला नाफा नलिई खरिद बिक्री गरिने थपेका छन् । खोप अझै क्लिनिकल परीक्षणमै छन् । परीक्षणबाट सुरक्षित र प्रभावकारी देखिए सन् २०२० को अन्तिमसम्म आपूर्ति सुरु गरिनेछ ।

फ्रान्स, जर्मनी, इटाली र नेदरल्याण्ड्स सम्मिलित युराेपको ‘इन्क्लुसिभ भ्याक्सिन अलायन्स(आइभीए)’ले उक्त सम्झौता गरेको छ । कोरोनाभाइरसको खोपका लागि पहिलो सम्झौता हो ।
“सहमतिले युराेपका करोडौं सर्वसाधारणको पहुँच खोपसम्म हुने सुनिश्चित गरेको छ, यसले काम गर्नेमा पूर्ण आशावादी छौँ, ग्रीष्मको अन्त्यसम्म यसबारे थप स्पष्ट हुनेछ ।”– कम्पनीका कार्यकारी प्रमुख पास्कल सोरियटले सञ्चारकर्मीहरू माझ प्रष्ट्याउनुभयो । प्रारम्भिक डाटाबाट आएको परिणामले खोपले काम गर्ने देखाएको उहाँले बताउनुभयो ।

“हामी कहाँ युराेपमा आपूर्ति गर्ने पर्याप्त संयन्त्र छन्, चार वटै राष्ट्रका उत्पादनकर्ता पंक्तिमा छन् ।”– कार्यकारी प्रमुख पास्कलले भन्नुभयो । उक्त खोप युराेपका सबै सदस्य राष्ट्रका लागि हुनेछ । सम्झौता गरेका चारवटै राष्ट्रले खोप खरिदका लागि लाग्ने बजेट उपलब्ध गराउनेछ । ४० करोड खोपको मूल्य भने खुलाइएको छैन् ।

इटालीका स्वास्थ्य मन्त्रालयका एक अधिकारीले उक्त योजना अन्य राष्ट्रका लागि पनि लागू हुने बताउनुभयो । अधिकारीले खोपमा चीन, ब्राजिल, रुस र जापानले पनि ईच्छा देखाएको उल्लेख गर्नुभयो । खोपको अध्ययन र प्रभावकारिता देखेपछि ब्रिटेन मेडिसिन्स र हेल्थकेयर प्रोडक्टस् नियामक निकायले पनि तेस्रो चरणको परीक्षणको अनुमति दिएको पास्कलले बताउनुभयो । जर्मनीको स्वास्थ्य मन्त्रालयले युराेपेली राष्ट्रको स्वास्थ्य मन्त्रीहरूको शुक्रबारको बैठकले आइभीएले आफ्नो गतिविधिहरू युराेपेली आयोगसँग साझा गर्ने सहमति गरेको जनाएको छ ।

आइभीएले विश्वव्यापी रुपमा दुई अर्ब खोपको माग पुरा गर्न बिल गेट्सको उद्दमसँग र एक अर्ब २० करोड डलरमा अमेरिकी सरकारसँग सम्झौता गरेको छ । प्रतिबद्धता ब्यक्त गरिएको दुइ अर्ब खोपमा नै दश करोड थपिने गरी सहमति भएको आइभीएलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

नोभल कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न हालसम्म कुनै खोप वा उपचार पद्धति पूर्णरुपमा विकसित भइसकेको छैन ।
इटालीका स्वास्थ्य मन्त्री रोबर्टो स्पराञ्जाले विश्वका कतिपय राष्ट्रले खोप सुरक्षित गरिसकेको सङ्कटको बेला युरोपेली राष्ट्रले गरेको सहमति थप मूल्यवान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
(रोयटर्सको समाचारमा आधारित )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?