मनोज तिमलसिना,
रौतहट,साउन २१ गते । गर्मी याम होस् वा जाडो कर्मथलो सडकपेटी । नत हिँउद नत वर्षा सधै एकनास । मौसमको कुनै चिन्ता छैन् । सधै सडक छेउको एउटा कुना उहाँको श्रम पोखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर पाँचका अमृत राम ब्यस्त सडक छेउमा बसेर आफ्नो गर्जाे टार्ने मध्येमा एक हुनुहुन्छ ।
विहान सबेरै उठेर पूर्वपश्चिम राजमार्ग र गौर जाने सहायक राजमार्ग नजिक चन्द्रनिगाहपुरको ब्यस्त चोकमा आउनु उहाँको दैनिकि हो । आउनासाथ छाता खोलेर आफ्नो आसन सम्हाल्नु उहाँको पहिलो कार्य हो । त्यसपछि शुरु हुन्छ उहाँको ग्राहक पर्खने र हेर्ने । पुर्खाेली पेशा हो यो,उहाँको । उमेरले ६८ वर्षका रामले मिहिनेत गर्न अझै छाड्नु भएको छैन् ।
सडक छेउमै मजदुरी गरेर जिन्दगीका सपनाहरू सजाउने मध्येका रामले जुत्ता सिलाएर आफ्नो परिवार धान्दै आउनु भएको छ । मासिकरुपमा १५ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार,जुत्ता पालिस गरेको ५० रुपियाँ लिने गर्नु हुन्छ भने सिलाएको ज्याला भने जुत्ता चप्पल फाटेको आधारमा एक सय ५० रुपियाँदेखि दुई सयसम्म लिने गरिएको छ । दैनिकरुपमा सरदर पाँच सयदेखि आठसय सम्म आम्दानी हुने गर्छ ।
मधेशी दलित समुदायका रामले चोकबजार जुत्ता सिलाएरै पाँच जनाको परिवारको गुजारा टार्दे आउनुभएको मात्र छैन, छोरा तथा नातिलाई राम्रो शिक्षा समेत दिनुभएको छ । पाँच धुर घडेरीमा उहाँको एउटा भुइतले घर छ । सात जना सन्तानका पिता रामको श्रीमतीको दिनचर्या भने घर गृहिँणीका रुपमा बित्छ । पाँच जना छोरीको विवाहा भएर पराइ घर पुगिसके । जेठो छोरा स्थानीय ग्गारेजमा काम गर्ने र कान्छो छोरा विदेशमा काम गरिरहेको उहाँको कथन थियो ।
व्यस्त सडक पेटी अनि ठूला तथा साना सवारी साधनको कानै खाने आवाज । छाताले ढाकेको सानो जुत्ता बनाउने ठाउँको छेउ भएर गाडीले धुवाको मुस्लो उडाएर जान्छ, तर पनि उहाँलाई ती सबै कुरा सहने बानी भइसकेको छ । वि.स २०२७ सालदेखि चन्द्रनिगाहपुर चोकमा जुत्ता सिलाउँदै आउनु भएका रामलाई चर्को हर्न वा धुवाँधुलोको कुनै वास्ता छैन । उहाँलाई कसरी ग्राहकको मन जित्ने गरि जुत्ता सिलाउने तथा पालिस गर्ने र परिवारको गुजारा चलाउने ध्यान मात्र रहने गरेको उहाँको अभिब्यक्ति थियो । कहिलेकाँही एकाध ग्राहकले मोलतोल गर्दै किचकिच गर ेपनि कुनै ग्राहकबाट दुब्र्यवहार भने नभोगेको उहाँको अनुभव छ ।
उहाँका अनुसार,तीन पुस्तादेखि यहाँको सडकपेटीमा यही काम गरिँदै आएको हो । हजुरवुवा शिवधर राम महरा र बुवा रामदेव महराले पनि कर्मस्थल यहीँ रोज्नुभयो । रामले पूर्वजले गरेको कामलाई निरन्तरता दिएको मात्र हो । खेति तथा अन्य आयस्रोत नभएपछि जीवन धान्न पुर्खाले शुरु गरेको यो पेशा, आफू बितेपछि छोराले नअपनाउने र हराउने हो की भन्ने रामको चिन्ता थियो । छोराहरू अन्य पेशामा लागेपछि उहाँमा यो चिन्ता देखिन्थ्यो । पेट पाल्न आफ्नो पेशामा पनि आम्दानी देखिएको तर आउने दिनमा उनीहरुले जे पेशा अपनाए पनि स्वतन्त्र रहेको उहाँको टिप्पणी थियो ।
काममा मिहिनेती र खानपानमा सादगी स्वभावका राम स्वास्थ्यका क्षेत्रमा समेत सचेत र सजग देखिनुहुन्छ । दिनभरी मजदुरी गर्ने अनि राती मदिरामा मस्त हुनेहरू छन, यहाँ । दलित समुदायका भए पनि राममा भने यो आदत कहिले लागेन । साथीभाईले जाऔं भन्थे, तर त्यसतर्फ नहिँडेको उहाँको कथन थियो । दिनभरी मजदुरी गर्ने तर बेलुकी भट्टीपसलमा पैसा सक्ने साथीप्रति उहाँको खेद र असहमति अनि सहानुभुति छ ।