logo
२०८१ बैशाख २० बिहीवार



गाउँ सुन्दर बनाउने अभियानमा साना बालबालिका

समाज |


गाउँ सुन्दर बनाउने अभियानमा साना बालबालिका


प्रकाशचन्द्र भट्टराई
दमौली, भदौ ७ गते । 
तनहँुको म्याग्दे गाउँपालिका वडा नम्बर १ को तल्लो गुणादीका करिब १४/१५ जना बालबालिका हरेक शनिबार विहान एक ठाउँमा भेला हुन्छन् । उनीहरु मध्ये केहीको हातमा कुटो, कोदालो, हसियाँ, डोको तथा केहीको हातमा कापी कलम र माईन्युट हुन्छ । विहानै कुटो कोदालो, डोको र माईन्युट बोकेका ती बालबालिका कहाँ जान लागेका हुन् भनेर गाउँमा आएका नयाँ मान्छे तथा आगन्तुक अचम्ममा पर्छन् ।

ती बालबालिका अन्यत्र कहीँ नभै बाल क्लबको बैठकमा गईरहेका हुन्छन् । अहिले बाल क्लवमार्फत गाउँ सुधार्ने अभियानको नेतृत्व गरेका छन् गुणादीका ७ देखि १३ वर्ष उमेरसम्मका बालबालिकाले । हरेक शनिबार बिहान गाउँभरीका सबै बालबालिका भेला भई बाल क्लबको बैठक बस्ने, एक साताको समिक्षा गर्ने र भावी योजना बनाईने बाल क्लबका अध्यक्ष ११ बर्षिय शास्वत खनालले बताउनुभयो ।

बाल क्लव मार्फत उनीहरुले बचतको कार्यक्रम पनि सञ्चालन गर्छन् । हरेक साता प्रत्येक सदस्यले २५ रुपैयाँ जम्मा गर्ने र उक्त रकम आवश्यक पर्ने ठुलाबडालाई पनि लगानी गर्छन् । त्यसको व्याजले विद्यालय जान नपाएका अन्य आफु जस्तै बालबालिकालाई पाठ्यपुस्तक, कापी कलमको लागि तथा खाजा खर्चको लागि समेत उपलब्ध गराउने अध्यक्ष खनाल बताउनुहुन्छ ।

साना बालबालिकाको बैठक भए पनि निर्णय र कार्यान्वयन भने ठुलाबडाहरुको भन्दा महत्वपूर्ण हुने गर्छ । उनीहरुले गाउँलाई छुवाछुत र विभेद मुक्त बनाउने, समाजका विकृतिहरु मदिरा, जाँड रक्सी सेवन तथा जुवातासको नियन्त्रण गर्ने र फोहोर मैला मुक्त बनाउने काममा समेत हात हालेका छन् । बैठक सकिएपछि सबै जनाले गाउँभरीको फोहोर संकलन गरि कुहिने र नकुहिने फोहोरलाई अलग अलग खाडलमा जम्मा गर्ने र अन्यलाई पनि जथाभावी फोहोर नगर्न सचेत गराउने बालक्लवका सचिव १२ वर्षीय रोशन खनालले बताउनुभयो ।

समाजमा भएको विकृति र विसंगतीलाई अन्त्य गर्न र विभेदमुक्त समाजको निर्माणमा बालबालिकाको तर्फबाट सहयोग गर्ने उद्देश्यले बाल क्लव गठन गरी संगठित भएको र रचनात्मक क्रियाकलापमा लागेको उपाध्यक्ष दश वर्षीय अनिल खनालले बताउनुभयो । बैठक सकिएपछि करिब एक घन्टा विद्यालय जाने आउने बाटोमा भएको झाडी फाँड्ने तथा खाल्डा खुल्डी पुरपार गर्ने काममा लाग्ने उहाँले बताउनुभयो ।

स्थानीय शिक्षक नारायणप्रसाद खनालले बालबालिकाको स्वतस्फुर्त अभियान देखेर आफु अचम्मित भएको बताउनुहुन्छ । उहाँले नै बालबालिकालाई बाल क्लव गठन र सञ्चालनको बारेमा केही सहजीकरण गर्नुभएको छ । यती सानो उमेरमा पनि बालबालिकाको उत्साह देखेर निकै खुसी भएको भन्दै उहाँले यस किसिमको सकारात्मक सामाजिक चेतना जगाउने अभियानलाई बालबालिकाले भविष्यसम्म निरन्तरता दिन सके निकै राम्रो हुने बताउनुभयो ।

बाल क्वलमा आवद्ध भएपछि सामाजिक कामसँगै नेतृत्व र क्षमता विकास पनि भएको अध्यक्ष शास्वत खनालले बताउनु भयो । बैठकमा सबै जनाले आ–आफ्नो धारणा राख्ने हुनाले बोल्ने बानीको बिकास र क्षमता बृद्धि भएको उहाँको भनाई छ । बालबालिकाको अभियानलाई हौसला दिन केही अभिभावकले पनि सहयोग गर्ने स्थानीय समाजसेवी विकास खनालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?