गोकर्ण दयाल
बैतडी, भदौ १२ गते । द्वन्द्व कालमा श्रीमान गुमाएर सिउँदो पुछिदा बगेका आँसु शान्ति आउँदा समेत पुछिदिने कुनै निकाय नभेटाए पछि मनिशा बोगटीको बाँकी जीवन आँसुको आहालमा डुबेको छ ।
नेपाल प्रहरीमा कार्यरत श्रीमानको मृत्युपछि दशरथचन्द नगरपालिका–४,की मनिशादेवी बोकटीको जीवनको सहारा टुट्यो । द्वन्द्व पीडितको सूचीमा नाम दर्ता छ तर राहत नपाउँदा छोराछोरी पढाउन धौधौ परेको छ ।
बोकटीका श्रीमान देवदत्त बोकटी नेपाल प्रहरीमा कार्यरत थिए । २०५५ सालमा तत्कालीन विद्रोही पक्षसँग जाजरकोटमा भएको दोहोरो भिडन्तमा उनको मानसिक सन्तुलन गुम्यो । बर्बराउँदै घर आईपुगेका श्रीमानको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भयो ।
बोकटीले भन्नुभयो,“ भिडन्तमा परी मनसिक सन्तुलन गुमेको अवस्थामा घर आईपुगेका श्रीमान हामी कसैलाई चिन्न नसक्ने हुनुभएको थियो । काखमा दुई साना दूधे वालक थिए । घरको आर्थिक अवस्था कमजोर थियो । उपचार गर्न कतै लैजान सकिएन । घरमै बेहोस भएपछि उपचार गर्न जिल्ला अस्पताल बैतडी लैजाँदा उहाँको २०६३ सालमा श्रीमानको मृत्युभयो । ”
घरमा श्रीमान बाहेक अर्को कुनै सहारा थिएन । खानपुग्ने जग्गा जमिन पनि थिएन । जेनतेन काम गरेर छोराछोरी हुर्काए पनि छोरालाई उच्च शिक्षा पढाउन नसकेको बोकटीले बताउनुभयो ।
शान्ति प्रक्रियापछि सरकारले द्वन्द्व पीडितले उजुरी दिन सूचना जारी गरेपछि घटनाको प्रकृति र मृत्युको कारणसहित शान्ति समितिमा उजुरी दिए पनि हालसम्म कुनै क्षतिपूर्ति नपाएको बोकटीले बताउनुभयो ।
प्रहरी मुचुल्का, शान्ति समितिको निर्णय र डाक्टरले दिएको प्रमाणपत्र संकलन गरेर जिल्लामा दिए पनि अहिले आफ्नो फाईल नै हराएको बोकटीले बताउनुभयो । जिल्लामा खोज्दा फाईल काठमाडौं गईसकेको बताएपछि फाईल खोज्दै काठमाडौं पुगे पनि नभेटिएको उहाँले बताउनुभयो ।
बोगटीले भन्नुभयो, संगै उजुरी निवेदन दिएकाहरूले क्षतिपूर्ति पाए पनि आफ्नो भने फाईलनै हराएको सुन्दा निकै पीडाबोध भएको छ । पहुँच हुनेले मात्र सबैथोक पाउने रहेछन् भन्ने लागेर श्रीमानको हराएको फाईल खोज्न काठमाडौं पुगेपछि अहिले एक निजी कम्पनीमा सानोतिनो काम गरेर छोराछोरी पढाईरहेको बोकटीले बताउनुभयो ।
घर जान मन भए पनि आफ्नो कुनै सहारा नभएपछि राजधानी मै आँसु बगाएर दुःखजिलो गरेर बस्नु परेको बोकटीले पीडा सुनाउनुभयो । न्याय नपाउँदा घर छोडेर भौतारिँदा भावुक हुँदै बोकटीले भन्नुभयो, श्रीमानको याद दिलाउने एउटा पुरानो धमिलो फोटो बाहेक केही छैन ।
द्वन्द्वमा बैतडीबाट घाईते अपाङ्ग र बेपत्ता गरि ८८६ जना पीडित रहेको तत्कालीन शान्तिसमित बैतडीको तथ्याङ्क रहेको छ ।