logo
२०८१ जेष्ठ ४ शुक्रवार

  आज बाबुको मुख हेर्ने दिन  



आमा सत्य हुन, बाबु विश्वास

समाज |


आमा सत्य हुन, बाबु विश्वास


 

चाँदनी हमाल

काठमाडौँ, भदौ १३ गते । हिन्दू धर्मशास्त्र अनुसार आमा सत्य हुन् भने बाबु बिश्वास । आमा धर्ती हुन् भने बाबु आकाश । आमाको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ ।
तर पिता केवल एक मार्गदर्शकका रुपमा चिनिन्छन् । आमाको चर्चा पूर्वीय सभ्यतासँग जोडिएका बेद, पुराण र धर्मग्रन्थमा अनेकौँ पटक गरीएको पाइन्छ । तर बाबुका बारेमा त्यति चर्चा गरीएको पाइन्न ।
नेपाली साहित्य हुन् वा सम्पूर्ण भारतवर्षको साहित्य नै किन नहुन । आमाका बारेमा अत्यधिक साहित्य सिर्जना भएका छन् । पश्चिमा मानसपटलमा पनि जननीलाई अत्यधिक महत्व दिएर कयौँ कानुनी दस्तावेज तयार पारीएका छन् । जिसस क्राइस्टको चर्चा अघि आमा मेरीको सम्झना गर्न जो कोही भुल्दैनन् ।
तर उनको बाबुको बारेमा कहिंकतै चर्चा भएको पाइन्न । बुृद्धकी आमा मायादेवीको इतिहास होस वा कृष्णकी आमा देवकी र यसोदा नै किन नहोस धर्मग्रन्थमार्फत आमा मानिसमाझ प्रेरणा दिइरहेको पाइन्छ । तर बासुदेव,नन्द र सुद्धोधनको चर्चा उनीहरुको भन्दा कम हैन हुन्छ ।
नेपाली सिने नगरीमै पनि आमा नामको नेपाली चलचित्र अब तेस्रो पटक निर्माण भइरहेको छ । पहिलो चलचित्र आमाकी नायिका भुवन चन्द आमाकै रुपमा चलचित्र क्षेत्रमा चर्चित बन्नुभएकै छ । साहित्यमा आमाको गुणगान गाउने कविता, उपन्यास, कथा, लघुकथाका अनगिन्ति थान छन् । गीतसंगीतमा आमाको महिमा बोल्न धेरै शब्द खर्चिएका पाइन्छ ।
पिताको बारेमा कम लेखिनुमा पितृसत्ताको बर्चश्व हुनु एउटा कारण मान्छन् पुरुष वर्ग । “आफ्नो बारेमा आफै लेख्न अलि नमिल्ने भएर पनि होला कम लेखिएको होला”, आँकलन गर्दै पूर्व अर्थमन्त्री शंकर कोईराला भन्नुहुन्छ, “तर पिता भन्नुको अर्थ यस्तो प्राणी हो जसले आफ्ना सन्तानले आफूमाथि पराजय गरोस भन्ने सँधै कामना गरीरहेका हुन्छन् ।”
गएको साता उहाँले पिताको मर्म बोकेको एउटा गीतको सार्वजनिक कार्यक्रममा पिताको बारेमा कमै लेखिने र गाइने गरेको टिप्पणी गर्नुभयो । बाल गायक प्रिन्स सिलवालले बाबुको योगदान र छोराको बाबुप्रतिको स्नेह व्यक्त गर्ने गीत बाबाको मायामा स्वर भरेका छन् ।
उनको गीत लेख्ने कुनै पुरुष नभई एउटी आमा वा महिला हुन् । भवानी घिमिरेले बाबुको महत्व सन्तानमा कति हुन्छ र कसरी हुन्छ भन्ने भाव झल्काउदै बाबाको माया गीतमा शब्द भर्नुभएको छ । आधुनिक जमानाका बालबालिकाले आमाको महत्व समेत विर्सदै गएका बेला बाबुको योगदान सम्झिराख्ने सम्भावना नरहने टिप्पणी उहाँ गर्नुहुन्छ । त्यसैले नयाँ पुस्तामा बाबुको योगदान सम्झाउन र बाबुलाई थप जिम्मेवार बनाउन बाबाको माया गीत लेखेको सुनाउनुभयो ।
“आमाको दुःख छोराछोरी हुर्काउन जत्ति छ त्यति नै बाबाले गरेको योगदान र प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन” , घिमिरे भन्नुहुन्छ, “बाबा र आमा एउटै रथका दुई पाङ्ग्रा भएकाले दुबैको बराबर अस्तित्व छोराछोरीका अघि हुन्छ ।”
धेरै धेरै माया लाग्छ मलाई बाबाको
मेरै लागि हो बाबाले पसिना बगाएको
भुल्दिन कहिले बाबाको माया यो मेरो जीवनभर
हजुरको काखमा शक्ति छ बाबा
भगाउने सबै डर...
यसरी नै बाबुछोराबीचको अनमोल मायाको संवाद गर्छ गीतले ।
आमा बिहिन छोरा र बाबाको सम्बन्ध चित्रण गरी खिचिएको भिडियोमा बरिष्ट कलाकार सरोज खनाल र गायक प्रिन्स स्वयंले अभिनय गरेका छन् । भुकम्पको विपत्तीपछि एक्लिएका बाबुछोराको सम्बेदनशील सम्बन्ध दृष्यचित्रमा छल्किदा आँखा रसाउँछ ।
नयाँ पुस्ताका लागि बाबुको योगदान बोल्ने गीत शिक्षयुक्त बनेको धारणा कलाकार सरोज खनाल व्यक्त गर्नुहुन्छ । जागिरे जीवनका बाबुआमा एकछिन फुर्सद हुँदा छोराछोरीलाई समय दिन हैन फेसबुक, च्याटमा व्यस्त हुन्छन्, खनाल सुनाउनुहुन्छ मैले यस्तै पुस्ताको हात समातेर डोहोर्याउनुपर्छ भन्ने भाव दृष्यचित्रमा प्रस्तुत गरेको छु । गतसाता प्रिन्सकै युट्टयुब मार्फत सार्वजनिक भएको बाबाको माया... बोलको गीत बालबालिका र अभिभावक दुबैका लागि प्रेरणादायी रहेको छ ।
प्रिन्सलाई गायकीको क्षेत्रमा स्थापित गर्न उनका बुबा रमेश सिलवाल र आमा प्रतिभा पाण्डे सिलवाले भरपुर साथ दिइरहेका छन् । अझ बढी समय लगानी गर्ने बाबाको भूमिका प्रिन्सकै जीवनमा पनि महत्वपूर्ण रहेको छ । पढ्नुको अलावा संगीत कक्षा, अभिनय कक्षा जस्ता अतिरिक्त क्रियाकलापमा प्रिन्सलाई प्रोत्साहित गरेर राम्रो संस्कार दिने प्रयास गरीरहेका छन् ।
एघार बर्षे प्रिन्सले भने बाबुको मुख हेर्ने दिन सबैका लागि बाबुको योगदान सम्झाउन गीतले सघाउने बताए । आफ्नो बाबाको मायाको महत्व गीत गाउँदा अझ बढी थाहा पाएको सुनाए । प्रिन्सको यो तेस्रो एकल गीत हो । यसअघि दशैँ मनाउने हो र न मानामा नापिन्छ माया बोलको गीत बजारमा आइसकेको छ । चाँडै नै ट्राफिक प्रहरीले निर्माण गरेको सचेतना गीत उनको बजारमा आउँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?