गलेश्वर, भदाै १७ गते । करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै शुरु भएको वर्खेनाच यसवर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ ।
भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।
परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विर्सजन गरिएपछि बेनीमा वर्षे नाच शुरु भएको थियो । एक महीनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति र पौराणिक महत्वलाई प्रदर्शन गरिन्छ ।
पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाँच बेनीको प्रशिद्ध नाच हो ।
वर्खे नाचको शुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।
हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् ।
बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागानागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा रहेको छ ।