गोकर्ण दयाल
बैतडी, असोज १ गते ।
“घर मेरो गाई ब्यायो
सब ढटेल गया । ”
अर्थात् गाई व्याउँदै गरेको देखेर पनि सबैजना ढटेलो टिप्न गए । सुर्नया गाउँपालिकाकी वृद्ध सुना लुहारले भनेको यो पुरानो चल्तीको उखानले ढटेलोको वर्णन गरेको छ । उखानमा वर्णन गरिएको ढटेलो अहिले धेरैले चिन्न छोडिसकेका छन् ।
ढटेलोको दानाबाट निस्कने तेल नेपालबाट युरोप जान थालेको बैतडीले माल पाएर पनि चाल पाएको छैन । ढटेलोको तेल एकहजार एकसय रुपियाँमा हिमालयन बायो ट्रेड लिमिटेडले युरोप निर्यात गरिरहेको छ । बैतडीमा जताततै पाईने ढटेलोको तेल निकालेर निर्यात गर्न सके ढटेलो बाटै सम्वृद्ध बैतडी बन्न सक्ने सम्भावना रहेको छ ।
परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली दियो बाल्ने, मालिस गर्ने, तथा खाने तेलको रुपमा प्रयोग गर्दथे । जतिबेला बत्तिका लागि बैकल्पिक ईन्धनको उपस्थिति थिएन, त्यो बेला ढटेलोको तेल बत्ती बाल्नका लागि निकै उपयोगी मानिन्थो । अहिले ढटेलो कसैले चिन्दैन ।
विभिन्न आयुर्वेदिक औषधिमा ढटेलोको प्रयोग अहिले पनि भईरहेको बैतडीका प्रचलित वैद्य भोजराज भट्ट बताउनुहुन्छ । ढटेलोको प्रयोगले पेट सफा गरेर विभिन्न रोग निको हुने, यसको तेलबाट शरीमा मालिस गरे जोर्नीको दुःखाई र बाथ रोग समेत ठिक हुने वैद्य भोजराज भट्टले बताउनुभयो ।
ढटेलो खोज्दै पूर्वी नेपालको धनकुटाबाट बैतडी पुग्नु भएका कृषि विज्ञ जीवनप्रसाद राईले ढटेलोको तेल हिमालयन बायो ट्रेड लिमिटेडले युरोप निर्यात गरिरहेको बताउनुभयो ।
तेखिमे कृषि परामर्श सेवा फर्मका निर्देशक समेत रहेका राईले बैतडीका विभिन्न स्थानीय तहमा ढटेलोको संभावना अध्ययन गर्नु भएको छ । राईका अनुसार बैतडीमा ढटेलो प्रसस्तै मात्रामा रहे पनि यसको उपयोग हुन नसकेको बताउनुभयो ।
यो वनस्पति समुद्र सतह देखि एक हजार दुई सय मिटर भन्दा माथि दुईहजार सात सय मीटरसम्म पाईने र खेती गर्न सकिने वनस्पति हो ।
यो प्राय सुक्खा तथा कम पानी पर्ने ठाँउहरुमा उपयुक्त मानिन्छ । ढटेलो खेतीका लागि बैतडीको सुर्नया गाउँपालिका , सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका , दोगडाकेदार गाउँपालिका , पाटन नगरपालिका, दशरचचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, पुरचौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा ढटेलो खेती गर्न सकिने प्रचुर संभावना भए पनि स्थानीय तहले चासो देखाउन सकेका छैनन् ।
कर्णाली प्रदेश नेपालमा १८४६ मा गाभिनु पूर्व कर्णाली राज्य ढटेलोको तेल तिब्बतसित बेचेर आफैमा संमृद्ध बनेको कृषि विज्ञ जीवनप्रसाद राईले बताउनुभयो । चार किलो ढटेलो सुकाएर यसको दुई किलो बीयाँबाट एक लिटर तेल निकाल्न सकिन्छ । वर्षमा ५० हजार लिटर तेल निकाल्न सकियो भने पनि ११ सय रुपियाँ प्रतिलिटरका दरले पाँच करोड रुपियाँ तेलबाट आम्दानी हुन सक्ने संभावना रहेको कृषि विज्ञ राईले बताउनुभएको छ ।
ढटेलोको बारेमा थाहा पाएपछि सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले यो वर्ष गाउँपालिकाले कृषि समुह र अगुवा किसानलाई अनुदान दिएर ढटेलोको तेल निकाल्न सहयोग गर्ने बताउनुभयो । भदौदेखि दाना लाग्न सुरु भएर चैत वैशाखसम्म ढटेलो पाक्ने गर्दछ ।
बैतडीमा ढटेलो खेर गईरहेको अवस्थामा जुम्ला गज्र्याङकोटका नन्दप्रासद न्यौपाने ढटेलोको तेल निकालेर बिक्रि गरिरहनु भएको छ ।