logo
२०८१ जेष्ठ ४ शुक्रवार



परम्परा तोड्दै शव बोक्नेदेखि मलामी बने महिला

समाज |


परम्परा तोड्दै शव बोक्नेदेखि मलामी बने महिला


अमरराज नहकी

तनहुँ, असोज ६ गते । मानिसको मृत्यु हुँदा पुरुषले नै बोकेर घाटमा लैजाने र मलामी जाने सामाजिक मान्यता रहेको छ । तर तनहुँका महिलाले शव पुरुषले मात्रै हैन महिलाले नि बोकेर लैजान सक्छन् भन्ने सन्देश दिएका छन् ।

व्यास नगरपालिका–५ स्थित महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आवद्ध महिलाले उदाहरणीय काम गरेका हुन् । आश्रममा ६ वर्ष देखि आश्रय लिनु भएकी ८२ वर्षिय तिलुमाया बगालेको सोमबार मृत्यु भएपछि आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठ, उपाध्यक्ष सकुन्तला आले, सचिव निर्मला मल्ल, लगायतका महिलाले आफैं शव बोक्नु मात्र भएन मलामी पनि जानुभयो ।


‘महिला पुरुष सरह जस्तो सुकै काम गर्न सक्छन् भन्ने उदाहरण देखाउन शव समेत बोकेर मलामी जाने गरेको, शव बोक्नु भएकी आश्रमकी सदस्य तथा स्थानीय सञ्चारकर्मी अन्जु दाहालले जानकारी दिनुभयो । यसरी शव बोकेको उहाँहरुको यो चौथो पटक हो ।

आश्रम स्थल चापाघाट देखि दमौली स्थित सेतीबुल्दी घाट सम्मको करीव तीन किलोमिटर दुरी बोकेर घाटसम्म लैजान गरेका छन् । मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सञ्चालन भएको यो आश्रममा हाल तीन आमा र दुई बुबा गरी पाँच जनाले आश्रय लिनु भएको छ । आश्रम सञ्चालन गर्न सदरमुकाम दमौली र यस आसपासका तीन सय जना महिलाहरु रहेका छन् ।

आवद्ध हुने अधिकांश महिला दमौलीमा व्यापार÷व्यवसाय गर्दै आउनुभएको छ । नाफा कमाउनु मात्रै नभई समाज सेवा गर्नु पर्छ भनेर उहाँहरु आवद्ध हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?