गोरखापत्र समाचारदाता
काठमाडौं, असोज १२ गते । ठेक्का प्रक्रिया वा उपभोक्ता मार्फत् आगमछेंको पुनर्निर्माण गर्ने भन्ने विवादले निकास पाएको छ । लामो समयको छलफलपछि काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्ने सम्झौता पहिल्यै भइसकेको छ ।
ललितपुर महानगरपालिकाले उपभोक्ता समितिमार्फत् देगु तलेजु मन्दिर पुनर्निर्माण गर्न माग गरेको थियो । ‘पाटन संरक्षित स्मारक क्षेत्रभित्र पर्ने देगु तलेजु मन्दिरको पुनर्निर्माण कार्य ललितपुर महानगरपालिकाबाट गठित देगु तलेजु मन्दिर उपभोक्ता समितिमार्फत् गर्न स्वीकृत दिने’ कार्यकारी समितिको निर्णयमा उल्लेख गरिएको छ ।