प्रकाशचन्द्र भट्टराई
दमौली, असोज २७ गते । तनहँुको व्यास नगरपालिका वडा नम्बर १० कुमालटारी बोटे गाउँका बोटेहरु दशैंमा लागेको ऋण तिर्न बालुवा चाल्न नदी किनारतर्फ लागेका छन् ।
कोजाग्रत पूर्णीमासँगै दशैं पनि सकिएपछि उनीहरू बालुवा चाल्न नदी किनारा तर्फ लागेका हुन् । नदीको बालुवामा सुन खोजेर त्यही सुन संकलन गरी त्यसको विक्रीबाट आएको पैसाले दशैं लगायत चाड पर्वको ऋण तिर्ने बोटेहरुको पेशा नै भईसकेको छ । दशंै अघि गाउँका साहुसँग ऋण लिने र सुन खोजेर विक्री गरि ऋण तिर्ने उनीहरुको आदत नै बनिसकेको छ ।
यस पटक पनि पूर्णीमा सकिए लगत्तै केही बोटे नदी किनारतर्फ गईसकेको र केही जाने तयारी गरेको हर्कबहादुर बोटेले बताउनुभयो । कालीगन्डकी, बुढीगन्डकी, मस्र्याङदी र त्रिशुली नदीको बालुवामा सुनका कणहरू भेटिने हुँदा बोटेहरू त्यही सुन खोज्न नदी किनारातर्फ लागेको बोटे गाउँका अगुवा जितबहादुर बोटेले बताउनुभयो ।
दशैंपछि नदीमा पानीको बहाव पनि कम हुने र बालुवामा सुन खोज्न सहज हुने हुँदा उनीहरूले यही मौसमलाई नै उपयुक्र्त ठान्ने जितबहादुरको भनाई छ । २६ घर रहेको बोटे गाउँका आधा भन्दा बढी घरका मानिस घरमा ताला चावी लाएर बालबालिकालाई साथमै लिएर हरेक वर्ष नदी किनारको बालुवामा सुन खोज्न जाने गरेको जितबहादुरले बताउनुभयो ।
नदीको बालुवामा सुन खोज्ने बोटेहरूको न त परम्परा हो न रहर नै ।
घर खर्च चलाउने अन्य कुनै पनि उपायहरु नभएपछि यसलाई नै मुख्य पेशा मान्नु परेको सोमबहादुर बोटेले बताउनुभयो । केही बोटेहरूले माछा मारेर जिविको पार्जन गरे पनि अहिले नदीमा माछा पाईन छाडेपछि अन्य उपाय केही नभएको उनको भनाई छ । पर्याप्त जग्गा जमिन समेत नभएपछि कृषि या पशुपालन समेत गर्ने विकल्प नभएको कारण बालुवामा सुन खोज्नु नै मुख्य पेशा रही आएको जीतबहादुरको भनाई छ ।
बालुवामा सुन खोज्दा एक घरले कुनै वर्ष २०÷२५ हजार रुपैयाँ बराबरको त कुनै वर्ष ४÷५ हजारको सुन भेटिने र त्यसैलाई बजारमा लगेर विक्री गरी घर खर्च चलाउन बाध्य हुने जितबहादुरको भनाई छ । दशंै मानेर सुन खोज्न हिडेका बोटेहरू एकैचोटी माघे संक्रान्ती पर्व मान्न घर फर्कने हर्कबहादुरले बताउनुभयो । हर्कबहादुरका अनुसार नदी किनारमा बस्दा बालबालिका विरामी भए र महिला सुत्केरी भए भने जुन सुकै बेला पनि घर फर्कने गर्छन् ।
२०२५ सालमा तनहँुको सदरमुकाम बन्दीपुरबाट दमौली सार्दा त्यहाँका १६ घरपरिवार आदिवासी बोटेलाई क्षतीपूर्तीस्वरुप प्रति घर १३ रोपनी जग्गा उपलब्ध गराई उनीहरूले राजेको नदी किनारको कुमालटारी नजिकैको बस्तीमा सारिएको थियो । तर आम्दानीको अन्य स्रोत र विकल्प केही नभएपछि त्यो जग्गा बेचेर घर खर्च चलाउनु परेपछि अहिले कतिपय बोटेहरु भूमिहीन भएको ६५ बर्षीय सोमबहादुर बोटेले बताउनुभयो ।
सुन छान्ने काममा लाग्ने समय र त्यसबाट प्राप्त हुने प्रतिफलबीच निकै अन्तर पर्न थालेकाले यसबाट पनि गुजारा चल्न गाह्रो परेको हर्कबहादुरको भनाई छ । यसैगरी जीविकोपार्जनका लागि अपनाइएको माछा मार्ने काम पनि नदीमा विष हाल्ने, करेन्ट लगाउने र प्राकृतिक स्रोतहरूको अव्यवस्थित ठेक्कापट्टाका कारण आफुहरुको पेशा सङ्कटमा परेको उनले गुनासो गरे ।