उर्लाबारी समाचारदाता
लेटाङ (मोरङ), कात्तिक ६ गते । उत्तरी मोरङको लेटाङमा बर्सेनि बालविवाह गर्नेको सङ्ख्या बढ्दै गएको प्रति सरोकारवालाहरूले चिन्ता प्रकट गरेका छन् ।
बिहावारी २० पारि भन्ने सरकारी नारा नै छ । तर, उत्तरी मोरङका गाउँमा २० वर्षमा किशोरीहरू दुई सन्तानका आमा बनिसकेका हुन्छन् । सोमबार मोरङको लेटाङमा पहाडी ग्रामीण विकास संस्थाद्वारा आयोजित बालविवाह अन्त्यका लागि सरोकारवालाहरूको भूमिका विषयक छलफल कार्यक्रममा सरोकारवालाहरू विवाह गर्न स्थानीय निकायले स्वीकृतिपत्र प्रदान गर्नुपर्ने सुझाव दिएका छन् ।
विद्यालय जाँदै गरेका विद्यार्थीबीच विवाह हुने गरेका घटनामा वृद्धि भएर प्रवेशिका परीक्षामा सामेल हुने विद्यार्थीको सङ्ख्या समेत घटेको महेन्द्र मावि लेटाङ–७ वारङ्गीका प्रधानाध्यापक थमकुमार मगरले बताउनुभयो । उहाँले उत्तरी मोरङको वारङ्गीमा बालविवाहलाई समस्याका रूपमा नहेरिएको बताउनुभयो । उहाँले गत वर्ष मात्र आफ्नो विद्यालयका तीन जोडी विद्यार्थी विवाहबन्धनमा बाँधिएको बताउनुभयो ।
लक्ष्मी मावि लेटाङ–२ का सहायक प्रधानाध्यापक देवराज सापकोटाले विवाह गर्न स्थानीय निकायले स्वीकृति दिनुपर्ने व्यवस्था तयार गर्न नगरपालिकालाई सुझाव दिनुभयो । नगरको स्वीकृति पत्रबिना भएको विवाहलाई दर्ता नगर्ने हो भने बालविवाह अन्त्य गर्न सकिने उहाँको भनाइ थियो ।
सापकोटाले सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाहका घटना वृद्धि भएको बताउनुभयो । वातावरणीय प्रभावका कारण भएको मौसम परिवर्तनसँगै बालिकाहरू १२÷१३ वर्षमै महिनावारी हुने समस्याले समेत बालविवाह बढेको सरोकारवालाले बताए । शिक्षक राजेन्द्र खतिवडाले भन्नुभयो, किशोरीहरूको विवाह गर्ने उमेर १८ वर्षमा झार्न सके समस्या समाधान हुने थियो ।
बालक्लबका अध्यक्ष गौरव खतिवडाले मन मिलेर भएको विवाह छुटाउन चुनौती रहेको बताउनुभयो । उहाँले बिहे गर्ने जोडीले मात्र होइन, अभिभावकहरू धम्की दिन्छन् । उहाँले सम्पन्न परिवारका बालविवाह सामसुम पारिन्छ तर अन्तरजातीय वा आर्थिक रूपमा धनी गरिब भए त्यस्ता घटनालाई कानुनी उपचार खोजिने गरेको बताउनुभयो । खतिवडाले बालविवाहलाई अपराधका रूपमा हेर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख शङ्कर राईले निकट समयमा नगरलाई बालमैत्री घोषणा गर्न लागिएकाले सकेसम्म छिटो बालविवाहलाई जरैदेखि अन्त्य गर्न नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
पहाडी ग्रामीण विकास संस्थाका अध्यक्ष टेकबहादुर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लिम्बूले वर्षमा ३० जोडी भन्दा बढीले बालविवाह गरेको तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो ।