शिवशंकर मिश्र
बारा, कात्तिक १३ गते । कुने बेला गाँउघरमा दैनिक प्रयोग हुने ढिकी अहिले नयाँ पुस्तका लागि नौलो हुन सक्छ । धेरैले ढिकीलाई किताबमा मात्र देखेका हुन सक्छन तर बाराको एउटा गाउँमा दुई सय घर परिवारको सहारा अहिले काठको ढिकी भएको छ ।
दैनिक ८÷१० जना महिलाले कुटानी पिसानी गर्दै आए पनि बिगत ४÷५ दिनदेखि अहिले पालोपालो राती सुत्ने बाहेक दिनभरी सेल रोटी तथा बगेवा खानको लागि चामल कुटानी गर्दै आएका छन् ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर–२ बगेवा टोल, यो टोलका स्थानीयहरु चामल मिलमा कुटानी नगरी ढिकीमै कुटेर खान बढी मन पराउँने गरेका छन् । मंगलवार भाईटीकामा सेल रोटी तथा बगेवा खाने चलन रहेकाले मिलमा कुटानीको भन्दा काठको ढिकीबाट किुटानी, पिसानी गर्नेको लर्को लागेको छ ।
पुर्खाैदेखि घरमा रहेको काठको ढिकी संरक्षण तथा प्राविधिक युगमा लोप हुँदै गएको ढिकी निःशुल्क रुपमा घरको बरण्डामा राखेर यसको प्रयोग सबैको लागि ल्याएको स्थानीय अजिज मियाँ चुडिहारले बताउनुभयो ।
ढिकीमा कुटानी गरेको चामल, गँहु तथा मकैको स्वाद मिठो भएकाले हामीहरु मिलको कुटानी भन्दा ढिकीमा बढी मन पराउने गरेको छोरी तथा छोरासँगै कुटानी गर्न आउनु भएकी स्थानीय अकली देवी थरुनीले बताउनुभयो ।