दार्चुला, मङ्सिर ३० गते । दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो ।
गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताउनुभयो ।
सो गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ । रोकिएका विद्यालयहरुमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ ।
सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिनुभयो । गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ । चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताउनुभयो । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ ।
यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् ।
घामका भरमा सञ्चार
शुक्रबार र शनिबार परेको हिमपातका कारण दार्चुलाको सञ्चार झण्डै ५० घण्टा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको मोवाइल सेवा अवरुद्ध भएको थियो । जिल्लाको मुख्य रिपिटर टावर मै विद्युत् सेवा नहुँदा वर्षा र हिमपात हुने वित्तिकै जिल्लाको सञ्चार अवरुद्ध हुने गरेको छ ।
जिल्लाभरी दर्जनबढी नेपाल टेलिकमका टावरहरु सञ्चालनमा छन्, तर मुख्य रिपिटर टावरमै अवरुद्ध भएपछि सदरमुकाम खलङ्गा बेलाबेलामा सञ्चारविहीन हुने गरेको छ । मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरीको सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । टावर सौर्य प्रणालीमार्फत चल्दै आएको छ । हिउँले पूरै सोलार सिस्टम ढाक्ने बित्तिकै जिल्लामा सञ्चार अवरुद्ध हुने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत पु¥याएपछि ट्रान्सफर्मर नहुँदा सुचारु हुन सकेको छैन । ट्रान्सर्फमर ढुवानीका लागि बजेट व्यवस्थापन हुन नसक्दा समस्या भएको टेलिकम प्रमुख गुरुङले जानकारी दिनुभयो । “अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ”, गुरुङ भन्नुहुन्छ ।
नेपाल टेलिकमको कार्यालय रहेको सदरमुकाम खलङ्गामा विद्युतीकरणसहितको टेलिकम टावर छ । मुख्य रिपिटर टावरमा विद्युतीकरण नभएपछि खलङ्गामा रहेको टेलिकमको काम हँुदैन् । यस्तै महकाली नगरपालिका¬–४ बङ्गाबगडमा नमस्ते फोन टावरमा विद्युतीकरण छ । महाकाली नगरपालिका वडा नम्बर १ छापरी, वडा नम्बर २ झुस्कु, वडा नम्बर ७ धाप र वडा नम्बर ९ दत्तु उलानी टावरमा विद्युतीकरण गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, शैल्यशिखर¬–१ बलाँच, र मालिकार्जुन गाउँपालिकाको कुचाकोट टावरमा विद्युतीकरण पु¥याइएको छ ।
योबाहेक शैल्यशिखर–४ रानीशिखर, वडा नम्बर ६ बगोरा, नौगाड गाउँपालिका–३ खार, वडा नम्बर ४ सिप्टी, अपी हिमाल गाउँपालिका–४ खण्डेश्वरी, व्यास–६ कैचुला, वडा नम्बर १ छङ्गरु, मालिकार्जुनको कनौडा, वडा नम्बर ४ ऐरीछाना र मुख्य रिपिटर टावर बालशिखरका टावरहरु सोलारमार्फत सञ्चालन हुँदै आएका छन् ।
यस्तै मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर मार्मा गाउँपालिका–४ तपोवन र व्यास–२ दाम्दाकोट राप्ला, नौगाड–४ सिप्टीलगायतका टावरमा नमस्ते फोन सेवा सञ्चालनमा ल्याइएको छ ।
भारतीय सीमको प्रयोगमा वृद्धि
टावरमा बेलाबेलामा समस्या आउन थालेपछि दार्चुलामा भारतीय मोबाइल सीम प्रयोगकर्ता बढेका छन् । हिउँदमा भन्दा पनि बर्षायाममा बढी नेपालको फोन सेवा अवरुद्ध हुने गरेको छ ।
“दुई वर्ष अघिसम्म नेपालतिरको टेलिफोन सेवा प्रभावकारी थियो”, स्थानीय लोकेन्द्रसिंह धामीले भन्नुभयो, “नेपाली सीम भारतको पिथौरागढदेखि कालापानीसम्म बस्ने भारतीय सुरक्षाकर्मीले प्रयोग गर्थे । तर दुई वर्षको अन्तरमा ठिक उल्टो भएको छ ।” अहिले भारतीय बजारबाट छ्याछ्याप्ती रुपमा एटीएल, बीएसएनएलका सीमहरु दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि व्यास गाउँपालिकाका स्थानीयले प्रयोग गर्न बाध्य छन् । भारतीय सीम नेपालको सीमभन्दा सस्तोमा डाटा चलाउन मिल्छ भने फोन र म्यासेज निःशुल्क हुनथालेपछि प्रयोग बढेको बीरसिंह महरा बताउनुहुन्छ ।