logo
२०८१ मंसिर ९ आईतवार

  संकटमा आरन पेशा 



युवाले सिकेनन् सीप, एक पाथी अन्नमा वर्ष धान्न मुश्किल

समाज |


युवाले सिकेनन् सीप, एक पाथी अन्नमा वर्ष धान्न मुश्किल



नेत्र शाही
खलङ्गा, पुस १ गते । काँचो फलामबाट आवश्यक सामग्री निर्माण गरिने आरन पेशा लोप हुन थालेको छ । बिगतमा हँसिया (आँसी), कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेशा ब्यवसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको हो ।
आरन पेशा लोप हँुदै गएकोमा चन्दननाथ नगरपालिका ८ जाति भीडका ५० वर्षीय तुलाराम कामीले चिन्ता व्यक्त गर्नुभयो । परम्परागत पेशा समाल्दै आए पनि अहिलेको परिवेश अनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले उक्त पेशालाई छोडदै गएको उहाँको गुनासो छ ।
पछिल्लो समयमा युवा आफ्नो पम्परागत पेशा भन्दा पनि बैदेशिक रोजगारमा आकर्षित हुन थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेकोमा बर्षभरी पाँच पाथीदेखि १२ पाथी मकै, गहँु दिने गरेको भन्दै उहाँले परिवार पाल्नै मुस्किल भएको बताउनुभयो । उही पुरानो रीतिरिवाज युवाले अँगाल्न नसकेका कारण परम्परागत पेसा छोड्न बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि सानो छाप्रामुनि आरन चलाइरहेका कामीलाई अहिले निकै कठिनाई परेको सुनाउनुभयो ।
गाउँमा उहाँमात्र उक्त पेशा एक्लै धान्दै आउनुभएको छ । दिन रात काम गरे पनि उचित पारिश्रमिक नपाइएको कामीको गुनासो छ । हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमको लागि सरकारी तथा गैरसरकारी संस्थाहरुबाट सहयोग भएमा सहज हुने उहाँले बताउनुभयो । छोरा नातिले पेशा अँगाल्न नचाहेको उहाँको भनाइ छ । परिवार धान्नका लागि सकी नसकी हातमा डाम बस्नेगरी काम गर्नु परेको दुःखेसो उहाँले गर्नुभयो ।
नयाँ पिंढीले यस्तो पेशा छोड्दै गएका कारण आरन हराउँदै गएको ५४ वर्षीय अर्का जक्तिराम कामीको भनाइ छ । पछिल्लो समयमा आफ्नो पेशा त्याग्न नसकेका कारण नै आफ्नो र सन्तानको भविष्य निर्माण गर्न निकै मुस्किल परेको उहाँको भनाइ छ । राज्यले अरु पेशा ब्यवसायलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उहाँले बताउनुभयो । आरन पेशालाई हेर्ने समाजको दृष्टिकोणका कारण पनि यो लोप हुदै गएको तुलाराम कामीले बताउनु भयो ।
समुदायले गर्ने ब्यवहार र दिने सहयोग फरक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार एक पाथी अन्नको भरमा बर्ष भरी उनीहरुका औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था छ । विगतमा सिलाई कटाईको काममा दलित समुदाय नै संलग्न हुने गरेको भए पनि पछिल्लो समय ब्राह्मण, क्षेत्रीले समेत यो पेशा थालेका छन् ।
सिलाईमा समाजको ब्यवहार र दुष्टिकोण परिवर्तन भए पनि आरन पेशामा भने परिवर्तन हुनसकेको छैन । आरन पेशा ब्यवसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेशा ओझेलमा पर्न थालेको उनीहरुको भनाई छ ।
आरन पेशामा सम्मान नपाइने भएकाले ब्यवसायिक नहँुदा युवा पुस्ताहरुले यो पेशालाई नरुचाएको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?