विष्णुप्रसाद पोखरेल
दमक, पुस ८ गते । झापाको दमक नगरपालिकाले एकल महिलाहरुका लागि नगरपालिकाभित्र नै आयआर्जनको माध्यम बनाई दिएको छ । एकल महिलाहरुलाइ बिभिन्न सीप निशुल्क सिकाएर आयआर्जनका लागि वातावरण बनाउदै कम्तिमा १५ जनालाइ स्वरोजगार सिर्जना गराएको पाईएको छ ।
दमक नगर एकल महिला समितिको संयोजनमा नगरपालिकाले गत असोजदेखि पुन प्रयोगमा आउने स्यानेटरी प्याड र पछिल्लो समयमा घरेलु माध्यमबाट जुत्ताचप्पल बनाउने तालिम प्रदान गरेपछि एकल महिलाहरुको आम्दानीको माध्यम बनेको छ । दमक नगर एकल महिला समिति अध्यक्ष सावित्रा प्रसाईले आफुहरुले सेनेटरी प्याड र जुत्ताचप्पलबाट आम्दानी लिन थालेको बताउनु भयो ।
नगरपालिकाले तालिम प्रदान गरेर श्रोत साधन समेत जुटाएर कार्यालयभित्र नै उत्पादन स्थल समेत बनाइदिएकाले हामीले धेरै सहज भएको छ, उहाँले भन्नुभयो । आफुहरुको विना लगानी आम्दानी शुरु हुन थालेको पनि उहाँको भनाइ रहेको छ । हामी नगरपालिकाले सामान किनेको रकमलाइ संस्थाको बिउपुँजी मानेर यसबाट भएको नाफामात्र लिन्छौ, अध्यक्ष प्रसाईले जनाउनु भयो ।
एकल महिला निर्मला श्रेष्ठका अनुसार पहिला आफुहरु कहि हिड्दा शंका र अर्कै दृष्टिले हेर्नेहरु दैनिक रुपमा काम गर्न नगरपालिका आँउदा राम्रो दृष्टिले हेर्ने गरेको पाईएको छ । एकातिर हाम्रो आम्दानीको श्रोत पनि बनेको छ भने अर्कोतिर हामी आएर दुखसुख साटासाट गदै काम गर्ने मौका पाएका छौ, - उहाँले भन्नुभयो ।
अर्की एकल महिला नुमा काफ्लेका अनुसार आफुहरुले सेनेटरी प्याड, जुत्ताचप्पल लगायत अन्य घरेलु उत्पादनहरुको तालीम तथा सीप सिकेर त्यस अनुसारको उत्पादन गर्ने काम गरेपछि कोशेली घर निर्माण गर्ने तयारी भएको पनि बताउनु भयो । हामी एउटा राम्रो कोशेली घरको रुपमा पसल खोलेर बिक्री वितरण गर्ने सोचमा छौ, उहाँले भन्नुभयो ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार नगरपालिकाले सञ्चालन गर्ने तालिमहरु तालिम भएकोमात्र भनेर बारम्बार गुनासो आउने गरेको जनाउदै एकल महिलाले तालिमलाइ ब्यवहारमा उतारेको बताउनु भयो । विद्यालयका छात्राहरुलाइ र अति विपन्न महिलाहरुलाइ उहाँहरुले उत्पादन गरेको सेनेटरी प्याड उपलब्ध गराएको पनि उहाँको भनाइ रहेको छ ।
पुन प्रयोगमा आउने प्याड अझै पनि बाँकि नै रहेको बताउदै बजार खोज्नलाइ नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ । अहिले जाडोमा लगाउने चप्पल, मखमली चप्पल, बेहुली चप्पल उत्पादन भइरहेको र यसको बजार पनि राम्रो रहेको उपप्रमुख अधिकारीले बताउनु भएको छ । उहाँहरुको उत्पादन किनेर भएपनि नगरपालिकाले मिहिनेतको फल दिनेछ, अधिकारीले भन्नुभयो ।